वर्तमान सरकारलाई कसरी हेर्ने ?

  प्रकाशित मिति
३ भाद्र २०७५, आईतवार १०:०८


गएको २०७४ सालको मङ्सिर १० र २१ गते दुई चरणमा गरी नेपालमा प्रदेश तथा केन्द्रीय संसदको आम निर्वाचन सम्पन्न भयो । त्यस निर्वाचनको परिणाम अनुसार नेपालका ७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा र केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तत्कालका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त मोर्चाले अत्यधिक बहुमत प्राप्त ग¥यो र दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरमको मोर्चाले बहुमत ल्यायो । यस निर्वाचनको परिणामले २००७ सालदेखि नेपालको लोकतान्त्रिक परिपाटीमा हैकम जमाइरहेको पार्टी नेपाली काङ्ग्रेसलाई लज्जाजनक पराजयको माला लगाइदियो ।

२०७४ असोज १७ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले तत्काल निर्वाचनमा संयुक्त मोर्चा बनाएर एउटै घोषणापत्रमा चुनाव लड्ने र व्रmमशः पार्टी नै एकीकरण गर्ने घोषणा गरे । यसलाई मङ्सिरको आम चुनावमा जनताद्वारा अत्यन्त राम्रो मतबाट अनुमोदन पनि भयो । असोज १७ को त्यो घोषणालाई अनेक अप्ठ्यारा र असजिलाहरु झेल्दै २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र एकतामा बाँधिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि बन्यो ।

जुन दिन एमाले र माओवादी केन्द्रले एकता गर्ने निर्णय सुनाए त्यसै दिन र त्यसै क्षणदेखि नेपाली काङ्ग्रेसले आत्तिएर ‘कम्युनिस्टले जिते भने यिनले प्रजातन्त्र मास्छन्, अधिनायकवाद ल्याउँछन्, यिनले बोल्न र रुन पनि दिँदैनन्’ भन्ने जस्ता प्रचार सुरु गरे । यी दुई दलको एकीकरणको कुरा उनीहरुका लागि ठुलो त्रासको कुरा भयो । त्यही त्रासको परिणाम हो, मङ्सिरमा भएको निर्वाचनको मतगणना एकसरो सकिएको ३ महिनासम्म नेपाली काङ्ग्रेसले अनेक प्रकारका घिङिन्याईं गरेर सत्तामा टाँसिइरहने कोसिस ग¥यो । सत्ता वामपन्थी पार्टीलाई सुम्पिनु भनेको मृत्युपत्रमा हस्ताक्षर गर्नु हो जस्तो ठानेर राज्यका अनेक संवैधानिक निकायहरुलाई पनि प्रभावमा पारेर आफ्नो सत्ताको आयु थपिरह्यो । तर, नेपालीमा एउटा उखान छ, ‘केजाति आएपछि केजातिले थाम्दैन’ भन्ने, त्यस्तै आखिर नेपाली काङ्ग्रेसले सत्ताबाट बाहिरिन बाध्य हुनै प¥यो ।

जे होस् ! मङ्सिरमा निर्वाचन सकिएको, लगभग मङ्सिरमै परिणाम थाहा लागेको बहुमत प्राप्त दलले फागुनमा गएर सरकार गठन गर्न पायो र त्यसले शासन सञ्चालन सुरु ग¥यो । यस निर्वाचनको परिणामबाट किन नेपाली काङ्ग्रेस आत्तियो ? किन नयाँ सरकार बनेयता ससाना कुराहरुमा पनि कोकोहोलो मच्चाइँदैछ ? किन तीललाई पहाड बनाएर उधुम मच्चाइँदै छ ? किन एककप चियाबाट निस्किएको आँधीले घरका धुरीहरु हल्लिएको जस्तो देखिँदैछ ? नेपालका सच्चा श्रमजीवी जनताले, जनताका प्रतिनिधिले, नेपाली वामजगतले, आफूलाई कम्युनिस्ट ठान्नेहरुले वडो गम्भीरताका साथ चिन्तन मनन गरेर ती कुराका तात्पर्यहरु बुझ्नु पर्छ र मात्र बोल्नु पर्छ, लेख्नु पर्छ । २००७ सालको व्रmान्तिको अगुवाइ गरेदेखि यता २०१५ सालको आम चुनावमा दुई तिहाइ सिट जितेर दुनियाँभर नेपालको एक मात्र प्रजातान्त्रिक शक्ति भनेर स्थापित भई आएको नेपाली काङ्ग्रेसले २०४६ सालको जन आन्दोलनमा केही भूमिका निर्वाह गरेकै हो । २०१५ को निर्वाचन परिणामको साख र ३० वर्ष पञ्चायत विरुद्धको उभ्याइले २०४८ को निर्वाचनमा सुरोबुरो बहुमत प्राप्त गरेर नाक बचाएकै हो । त्यसयता २०५६ को आम चुनावमा पनि एमालेको बिभाजनले उसलाई बहुमत प्राप्त गर्ने अनुकूलता प्राप्त भएको हो । २०५१ को मध्यावधी चुनाव पनि उसलाई एउटा झट्का थियो, तर त्यसलाई आफ्नो घट्तो साख बुझ्ने सुद्धि नेपाली काङ्ग्रेसका नेतालाई पलाएन । तर, निरन्तर ठुलो पार्टी भई आएको र नेपालको विकल्पहीन प्रजातान्त्रिक पार्टी सम्झी आएको नेपाली काङ्ग्रेसका लागि २०७४ मङ्सिरको आम चुनावको हार असामान्य हार हो । राणावर्गको प्रतिनिधि, पञ्चायती वर्गकै उत्तराधिकारी अर्थात् वर्गीय दृष्टिले बुर्जुवा वर्ग र श्रमजीवी वर्गमध्ये बुर्जुवा वर्गको उत्तराधिकारी दलले पराजय बेहोरेर श्रमजीवी वर्गको प्रतिनिधि भनी आएको दलको एक छत्र बिजय भएको अवस्था हो यो । यसकारण विगतका सम्पूर्ण निर्वाचन र तिनका परिणामभन्दा यो चुनावको परिणाम छुट्टै, नितान्त भिन्न परिणाम प्राप्त गरेको अवस्था हो । २०५१ को चुनावमा यदि एमालेले प्रचण्ड बहुमत पाएको थियो भने पनि त्यो आजको जस्तो होइन, छुट्टो अवस्था थियो । त्यतिबेला संवैधानिक राजतन्त्र थियो, राजाका हातमा धेरै अधिकारहरु थिए । अहिले त यस सरकारलाई नियन्त्रण गर्ने कुनै पनि संवैधानिक शक्ति छैन । यसरी हेर्दा आफ्ना घोषणापत्र, आफ्ना कार्यव्रmमहरु लागु गर्न कुनै व्यवधान छैनन् । यदि नेपाल कम्निस्ट पार्टी (नेकपा) साँच्चै श्रमजीवी जनताको प्रतिनिधिको रुपमा आफूलाई खरो उतार्न लाग्ने हो भने नेपालमा श्रमजीवी वर्गको प्रतिनिधिले सरकार बनाएको पक्का हो अहिले ।

त्यसैले यस निर्वाचनबाट कसकसको हार भयो र कसकसको जित भयो राम्ररी बुझ्नु बाञ्छनीय छ । नेपाली काङ्ग्रेसको हार भयो, त्यति मात्र हो र ? होइन, नेपाली काङ्ग्रेसका व्यक्तिवादी कमाउ धन्दाका मान्छेको माध्यमबाट यो देशलाई दुहेर आफू मोटाउने विदेशी राष्ट्रका उद्योगपति, व्यापारी, अन्तर्राष्ट्रिय ठेकेदार, कमिसनका दलालहरुको पनि हार भयो । राष्ट्रियताप्रतिको हेलचेव्रmाइँबाट बनेका बिभिन्न दुलाहरुबाट हाम्रा देशभित्र पसेर यहाँको राष्ट्रिय एकता, यहाँको शिक्षा संस्कृति, यहाँको भाइचारा विगार्ने, विकृत पार्नेहरुको पनि हार भयो । देशभित्र उद्योगपति ठहर्ने, वाणिज्यका ठालु ठहर्ने तर नेपालका उद्योग र वाणिज्यको ढाड भाँच्ने उद्योगपति, वाणिज्यपतिहरुको पनि हार भयो । ‘देश भाडमा गए जाओस् ! जनताहरुको सेवा पनि जहाँ जाओस् ! तर आफू अकूत सम्पत्ति थुपारुँ, आफ्ना सन्तान दरसन्तानका लागि सम्पत्तिको ओइरो कमाउँ’ भन्ने यस देशका बेजिम्मेवार इञ्जिनियर डाक्टरहरुको पनि हार भयो । देशको सम्पत्तिमा मोटाएर ठुलाठुला पत्रकार भएका, ‘प्रजातन्त्र’को पोस्टरले मुख छोपेका धेरै तथाकथित ठुलठुला पत्रकारहरुको पनि हार भयो । आजसम्म राज्यको ढिकुटीमा हात चोबिरहन पाएका प्रतिभा भए पनि नभए पनि नक्षत्र जस्ता भएका साहित्यकारहरुको पनि हार भयो । काम गरे पनि हुने, नगरे पनि हुने धेरै प्राध्यापकहरु, वकिलहरुको पनि हार भयो । आजसम्मका सत्तासीन नेताहरुका हुक्के, बैठके भएर चम्मर डोलाउने र सधैँ विदेश भ्रमणताका भ्रमण टोलीमा पर्ने बुद्धिजीवीहरु, राजनीतिक नियुक्तिमा पर्नेहरु, लाभका पदमा पुग्नेहरुको पनि हार भयो । आजसम्मको धनाढ्य वर्ग त त्यही हो । त्यसैले नै आफ्ना छोराछोरी विदेश पठाएर पढाएर बिभिन्न विषयका वीज्ञ तथा विशेषज्ञको पाङ्क्ति तयार गरेको छ । त्यो विशेषज्ञको पाङ्क्तिले पनि आफू मात्रै विशेषज्ञ भएको ठानेर देशमा सूँढ गाडेर चुस्न ढुक्क थियो । तर, यस निर्वाचनबाट त्यसले पनि आफू हारेको ठानेको छ । विद्यालय हुँदो पढाए पनि हुने, नपढाए पनि हुने तर सधैँ पुरस्कार थाप्ने शिक्षकहरुको पनि हार भयो र कार्यालयमा हाजिर भए पनि हुने, नभए पनि तलब पाक्ने अझ राम्रा राम्रा फाइदाका ठाउँमा सरुवा पाउने, छिटोछिटो बढुवा पाउने कर्मचारीहरुको पनि हार भयो । अर्थात् नेपाली काङ्ग्रेस हार्दा यस देशमा र देशबाहिर हार्नेहरुको एउटा लामो सूचि बनाउन सकिने भयो ।

के यसरी हारेका यी सबै अब ‘हामी त हा¥यौँ ! अब अर्को चुनवासम्म पर्खौँ !’ भनेर हात बाँधेर बस्छन् ? त्यस्तो त कल्पना नगरे पनि हुन्छ । यी टाइफाइड ज्वरोले गाँजेका बेलामा बिरामी बर्बराए झैँ बर्बराउन सक्छन्, यी गोली लागेको सिंह झै फडारिएर, बुर्कुसी मारेर अनेक मिचमाच गरेझैँ गर्न पनि सक्छन् । अब हारेका विशेषज्ञहरु क्याउँक्याउँ कराउने छन्, हारेका पत्रकारहरु जेइतेइ विषयमा गोयबल्स शैलीमा, एकदम गोयवल्स पारामा ‘प्रजातन्त्र मासियो ! प्रजातन्त्र मास्सिन लाग्यो !’ भनेर स्यालहुइँया मच्चाउँछन् । ‘कम्युनिस्टहरुले प्रजातन्त्र मास्ने षडयन्त्र गरे है ! अधिनायकवाद लाद्ने प्रयत्न भयो है !’ भनेर फलाकेको फलाक्यै गर्नेछन् । हारेका साहित्यकारहरुले त्यस्तै गरी लेख्ने छन्, हारेका वकिलहरु, डाक्टर–इञ्जिनियरहरु आआफ्नो ठाउँबाट बितण्डा मच्चाउने छन् । कर्मचारी वर्गमा त हिजोको सत्ताले पालेका, पोसेका थुप्रै भ्रष्टहरु छँदैछन्, अनुशासनमा बसेर जनताको सेवा गर्नु तिनका लागि कारावास बसे जस्तो हुन्छ । त्यसकारण यो सरकारलाई जतिसक्दो असफल पार्न भरमग्दुर प्रयत्न गर्छन् । यो सरकार छरितो भयो र जनतालाई सुविधा दिन सफल भयो, विकास निर्माण ग¥यो भने त अर्को अर्को चुनावपछि पनि आफ्ना दिन आउँदैनन् भन्ने उनीहरुलाई छ्याङ्ङ जानकारी छ । त्यसकारण यस सरकारलाई असफल पार्न ती सरकारका ससाना गल्ती कमजोरी बढाएर दुस्प्रचार गर्न, बदनाम गराउन आआफूले सकेसम्म लागि रहन्छन् ।

यस्तो परिवेशमा बनेको सरकारले एकदम फुकीफुकी पाइला सार्नु पर्छ । अब जनताद्वारा चुनिएका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरु, सांसदहरु, केन्द्रीय सांसदहरुको जिम्मेवारी ज्यादै ठुलो छ । एकातिर कम्युनिस्टले सरकार बनाए भनेर प्रतिपक्षी तर्सिने, अर्कातिर सरकार बनाउने कम्युनिस्टहरुले भने श्रमजीवी जनताको हितमा काम गर्न नसक्ने हो भने त्यो सब बेकार हुनेछ र यतिकैमा यो ऐतिहासिक अवसर चुक्यो भने नेपाली जनताको निमित्त र नेपालका लागि यो ठुलो दुर्भाग्य हुनेछ । यसकारण, सम्पूर्ण आफूलाई कम्युनिस्ट भन्नेहरुले, कम्युनिस्टका समर्थक तथा बामवुद्धिजीवीहरुले यो सरकारको हितमा उचित सल्लाह दिनु पर्नेछ, सरकार विरोधीहरुले मच्चाएका बितण्डाहरुको प्रतिवाद गर्नु पर्नेछ र जनतालाई उचित कुराहरु बारे सुसूचित गर्दै गर्नु पर्नेछ ।

अहिले पत्रपत्रिकामा गाउँका जनप्रतिनिधिहरु सदरमुकाम जाँदा हेलिकप्टर चढेको कुरा, जनताको करबाट जम्मा भएको रकमले ऐयासी सवारी साधन खरिद गरेको कुरा, त्यही रकमको खर्चमा बिभिन्न क्षेत्रको सयर गरेको कुरा पढ्नु पर्दैछ । ती समाचारहरु सत्य नहोऊन् ! हिजोसम्मका जनप्रतिनिधिहरुले केही बैठकआदि भत्ता बाहेक नियमित पारिश्रमिक नलिइकन जनताको सेवा गरे । आज निक्कै माथिल्लो तहका कर्मचारीको तलबभन्दा राम्रो पारिश्रमिकको व्यवस्था गरिनु पनि उचित थिएन । तैपनि यो स्वीकार्न जनता बाध्य छन्, बानी पर्दैछन् । तर, त्यसका अतिरिक्त यदि विकास निर्माणमा कमिसनको कुरामा जनप्रतिनिधि सफा रहे, पारदर्शी रहे र कमिसन तथा भ्रष्टाचारको कुरामा अकबरी साबित भए भने, जनताले पाउने सुविधामा टेबलमुनि हात लानु पर्ने स्थितिलाई सच्याउन सके भने यो सरकार बनेको सार्थक सुरुवात हुनेछ ।

सरकार बनेको ६ महिना पुग्न लागे पनि जनताले अहिले नै कुनै त्यत्रो ठुलो आसा वा निरासा बोध गरि हालेका छैनन् । पार्टी एकीकरणमा समय लागेको हुन सक्छ, नयाँ बजेट त साउनबाट मात्रै सुरु भएको छ । तैपनि, निर्वाचनताका बोलिएको जेष्ठ नागरिकको भत्ता बारेमा, कर्मचारीको तलब बृद्धि बारेमा केही अपेक्षा विपरित बजेट आयो । अहिले कर्मचारी तथा राष्ट्रसेवकहरुको पेन्सनलाई सीमित गर्ने नयाँ कानुन बन्ने कुरा सुनिँदैछ । यी यदि यसरी नै चल्ने हो भने यसले समर्थकको घेरा साँघु¥याउँदै जाने पक्का छ ।

केरलाकी एकजना कवि रति सक्सेनाले भनेको कुरा केही दिन अघि पत्रिका पढेको थिएँ । उनले भनेकी थिइन्, ‘माक्र्सवाद एउटा समृद्ध विचार हो, यो उपयोगी छ । तर, केरलाको कम्युनिस्ट पार्टीले माक्र्सवादको दार्शनिकतालाई भोटको राजनीतिका लागि दुरुपयोग मात्र गरिरहेकोमा म दुखित छु । सर्वहाराको नाममा मध्यमवर्गको त उच्चवर्गमा उत्थान भयो तर यस पद्धतिबाट वास्तविक गरिब वर्ग लाभान्वित भएन ।’ मेरो देशमा त्यस्तो नहोस् ! आफूलाई १४ वर्ष जेल बसेको कुरा हाम्रा प्रधानमन्त्री बारम्बार दोहो¥याउनु हुन्छ र नहिच्किचाइकन ‘म हलि बसेको मान्छे हुँ !’ भन्नुहुन्छ । उहाँ जेल बस्नुको कारण यथार्थमा श्रमजीवी जनताको मुक्तिकै निमित्त हो । हाम्रो पार्टीका अर्का अध्यक्ष प्रचण्डले राजनीतिमा कति जोखिम मोल्नुभयो, त्यो अवर्णनीय जोखिम हो । त्यस्तो जोखिम समेतकै परिणामस्वरुप आज यो अवसर प्राप्त भएको छ । त्यसकारण उहाँहरुले हरेक निर्णय गर्दा वा योजना बनाउँदा लक्षित वर्गलाई मनमा सम्झिनु भयो भने पुग्छ । अब यस दललाई वास्तविक जनताको पक्षमा काम गरेर देखाउन छेक्ने कुनै तागत छैन । जनता त टुलुटुलु माथितिरै नजर लगाएर बसेका छन् ।

……………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: