विकासमा ढिलासुस्ती

  प्रकाशित मिति
९ पुष २०७२, बिहीबार ०६:२३


राष्ट्रिय सतर्कता केन्द्रको टोलीले एक सातादेखि झापाको सरकारी कामकाज नजिकबाट नियालेको छ । कार्यालयमा कर्मचारीको हाजिरीदेखि विकासे योजनाको प्रगतिसमेत अनुगमन गरेर केन्द्रले जिल्लाको सुस्त सरकारी कामकाजी शैलीप्रति सबैको ध्यान आकृष्ट गराएको छ । सतर्कता केन्द्रको टोली सधैभरि जिल्लामा बसिरहने पनि होइन । तर उसले औल्याएका विषयहरू आम झापाली सरोकारका मुद्दा हुन् । स्थायी रुपमा सरकारी कामकाजको अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति जस्ता निकायले सतर्कता टोली काठमाडौँ फर्किसकेपछि पनि उसले औल्याएका विषयमा गम्भीर बन्नै पर्छ ।

केन्द्रको टोलीले थुपै्र सरकारी कर्मचारी विना सूचना कार्यस्थल बाहिर जाने गरेको र हाजिरी नै नगरेको फेला पारेको छ । जिविस र सडक विभाग अन्तर्गतका विकासे योजनाको प्रगति सन्तोषजनक नभएको समेत उसले औल्याएको छ । लक्ष्य अनुरुप कुनै पनि काम भएका छैनन् । खासगरी ठेकेदार कम्पनीको ढिलासुस्तीले सरकारी बजेट अलपत्र परेका छन् । यसमा जिविस लगायतका नियमनकारी निकायले ठेकेदारलाई तह लाउन सकेको देखिदैन । आर्थिक नियम नाघेर विकास योजनामा मनलाग्दी गर्ने प्रचलन हटेको छैन । यी विषय भ्रष्टाचार नै हुन् । जसलाई सामान्य रुपमा लिइनु हुन्न ।

चारआली–केचना सडककै कुरा गर्ने हो भने यो कहिले बन्ने हो निश्चित छैन । कहिले ठेक्का लागिसक्यो भन्ने र कहिले ठेकेदार फेर्ने भन्ने चर्चा मात्र बाहिर आउने गरेको छ । चन्द्रगढीदेखि चारआलीसम्मको सडकको अवस्था कति कष्टपूर्ण छ भन्ने सबैलाई थाहै छ । मर्मत सम्भार पनि नगर्ने र ठूलो परियोजना आउँदैछ भनेर पर्खिरहने अवस्थाले त्यस सडकको दुरावस्था सुधार हुन सकेन । मेची पुलको निर्माणको कथा पनि उस्तै छ । आधा काम अलपत्र पारिएको धेरै भइसक्यो, काम पूरा कहिले हुने हो ? विकासे परियोजनामा भइरहँदा ढिलासुस्तीका यस्ता थुप्रै दृष्टान्त छन्, जहाँ मिलिजुली भ्रष्टाचार भइरहेको छ । झापामा रहँदा जनसरोकारका विषयलाई उठान गरेर कमजोरी गर्ने पक्षलाई दवाव सिर्जना गरिदिएकोमा सतर्कता केन्द्र धन्यबादको पात्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: