झापा, ५ फागुन । तेइस वर्ष पछि नेपाललाई दक्षिण एशियाली खेलकुद (साग)मा फुटवलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएको राष्ट्रिय फुटवल टोलीले बुधबार दिउँसो पूर्वी प्रवेशद्वार काँकडभिट्टामा भव्य स्वागत तथा सम्मान पाएको छ ।
भारतको गुवाहाटीबाट सोझै नेपाल प्रवेशद्वार आएका विजेता फुटवल खेलाडी र प्रशिक्षकलाई मेची पुलदेखि नै हजारौँ झापाली खेलप्रेमीले जयजयकार गर्दै काँकडभिट्टा बजारसम्म ल्याएका छन् ।
राष्ट्रिय झण्डासहित स्वागतका लागि उपस्थित खेलप्रेमीहरूले नेपालको इज्जत बढाएको भन्दै पङ्तिबद्ध भएर खेलाडीलाई फुलको माला र खादा पहिर्याउँदै अविर लगाएर नागरिक अभिनन्दन गरेका छन् ।
नेपाली फुटवल टोलीले गुवाहाटीमा फागुन ३ गते सम्पन्न फाइनल खेलमा बलियो प्रतिष्पर्धी भारतलाई २–१ गोलले पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएको थियो ।
फुटवल टोलीमा रहेका चर्चित फुटवल खेलाडी नवयुग श्रेष्ठ र प्रशिक्षक राजुकाजी श्रेष्ठलाई खेलप्रेमीहरूले अपार श्रद्धा दर्शाएका छन् । स्वदेश फर्किएको नेपाली फुटबल टोलीको स्वागत तथा अभिनन्दनका लागि झापा जिल्ला खेलकुद विकास समितिले झापावासी खेलप्रेमीलाई आह्वान गरेको थियो ।
गलाभरि माला र खादा पहिरिएका अविरले राताम्य नेपाली खेलाडीहरूलाई अगाडि लगाएर र्याली निकाल्दा कुनै ठूलो युद्ध जितेर फर्केका योद्धाको सम्मान गरिएको झैँ दृश्य देखिएको थियो ।
उनीहरुको सम्मानका लागि खुलकुद मन्त्री सत्यनारायण मण्डल, अञ्चल प्रहरी प्रमुख, नेपाली सेना, नेपाल रेडव्रmस सोसाइटी, नेपाल स्काउट,जिल्ला प्रहरी प्रमुख, राजनीतिक दलका नेता, शिक्षक तथा विद्यार्थीलगायतले स्वागत तथा सम्मान गरेका थिए ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले नेपाली फुटबल खेलाडीहरूले भूकम्प, नाकाबन्दी र राजनीतिक द्वन्द्वले लामो अवधिदेखि थोपरेको पीडा भुलाउने गरी इतिहास रच्ने खुशी दिलाएको भन्दै खेलाडीको मिहेनत र योगदानको प्रशंसा गरेका छन् ।