विदा नदिइएकोमा आक्रोश

  प्रकाशित मिति
२८ पुष २०७३, बिहीबार १२:४२


rpp
विर्तामोड । आधुनिक नेपालका निर्माता पृथ्वी नारायण शाहको जयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक विदा घोषणा नगरिएकोमा बुधवार यहाँ आयोजित एक कार्यक्रमका वक्ता राजनीतिक दलका नेता, पत्रकार तथा साहित्यकारहरूले सरकारको कडा आलोचना गरेका छन् ।

मुलुक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाह ‘राष्ट्रिय एकताको प्रतीक’ भएको जनाउँदै उनीहरूले जयन्तीमा विदा नदिइनु ‘राष्ट्रका पिता’प्रतिको घोर अपमान भएको गुनासो समेत व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले आदर्श बेङकुइटमा आयोजना गरेको २ सय ९५ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहको प्रमुख वक्ता एवम् नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव चन्द्र भण्डारीले क्रिश्चियन समर्थक पश्चिमा मुलुकहरू र नेपालको स्वाधीनतामा सधैँ गिद्धे दृष्टि लगाइरहने छिमेकी भारतको इशारामा वत्र्तमान सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जयन्तीमा राष्ट्रिय विदा घोषणा गर्ने आँट गर्न नसकेको दावी गरे ।

उनले आधुनिक नेपालका निर्माता पृथ्वी नारायण शाह हो भन्ने आँट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्न नसक्नु आश्चर्यजनक भएको भन्दै राष्ट्र निर्माताको अपमान गर्नेहरू पतन भएर जाने टिप्पणी गरे ।

आफु कम्युनिष्ट राजनीतिमा होमिएको व्यक्ति भए पनि पृथ्वीनारायण शाह तत्कालीन राजा भएकै कारण उनीप्रति मनमा कुनै पूर्वाग्रह नरहेको उल्लेख गर्दै प्रमुख वक्ता भण्डारीले नेपालमा राष्ट्रि«य दिवस नै नभएकोमा लज्जाबोध भएको बताए ।
राप्रपाले देशभर एकता दिवसको रुपमा नेपाल एकीकरणकर्तालाई सम्झिएकोमा धन्यवाद दिदै भण्डारीले पृथ्वी जयन्तीमा राष्ट्रिय विदा घोषित गराउन बलिदान गर्नु परे पनि आफु तयार रहेको बताए ।

कार्यक्रममा प्रमुख वक्ता भण्डारी भए पनि प्रमुख अतिथि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन थिए । उनले पृथ्वी जयन्तीमा सार्वजनिक विदाका लागि निर्णय गर्न नसक्नु दुःखद् भएको बताए ।

पृथ्वीनारायणको शालिक ढाल्नेहरू अहिले पछुताउन थालिसकेको धारणा राख्दै राप्रपा महामन्त्री लिङ्देनले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले मन्त्रीपरिषद्मा विदाको प्रस्ताव लैजाँदा सकारात्मक रुपमा लिएका प्रधानमन्त्री दाहालले अन्तै कतैको इशारामा सार्वजनिक विदा दिन आँट गर्न नसकेको दोषारोपण गरे ।

सरकार र अन्य पार्टीहरूले मुलुकको एकीकरणकर्तालाई भुले पनि राप्रपाले स्थापनाकालदेखि नै यस विषयमा आवाज बुलन्द गरिरहेको जनाउँदै महामन्त्री लिङ्देनले २८ वर्ष अघि ‘म र मेरो देश’ शीर्षकमा लेखेको कविता वाचन गरेका सुनाएका थिए ।
राप्रपा झापाका अध्यक्ष अम्वर बिस्टको सभापतित्वमा भएको सो कार्यक्रममा बोल्ने अर्का वक्ता एवम् नेपाली काङ्ग्रेस झापाका उपसभापति राम कट्टेलले राष्ट्रका निर्माता पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान गर्न राज्यले कुनै कञ्जुस्याइँ गर्न नहुने बताउँदै पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक विदा नदिएकोमा आफुलाई हिनताबोध भइरहेको सुनाए ।

पृथ्वीनारायण शाहको शालिक तोडफोड गर्ने कार्य अत्यन्त गैरजिम्मेवार गतिविधि भएको उल्लेख गर्दै काङ्ग्रेस नेता कट्टेलले नेपाल भन्ने मुलुकको निर्माण गरिएकै कारण आज हामीले नेपाली बन्ने गौरव प्राप्त गर्न सकेको बताए ।

उनले पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउँदै पुस २७ गतेलाई राष्ट्रिय दिवसको रुपमा सार्वजनिक विदा दिइनु पर्ने माग गरे ।

अर्का वक्ता तथा नेकपा एमाले झापाका सचिवालय सदस्य खोेदनाथ चापागाईले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका निर्माता पृथ्वीनारायण शाहलाई राष्ट्रिय सम्मान दिलाउनुको साटो सामन्त भनेकोमा दुःख व्यक्त गरे ।

जातैपिच्छे र चाडैपिच्छे सार्वजनिक विदा दिन सक्ने सरकारले पुस २७ को महत्वलाई बुझ्न नसकेको जनाउँदै पृथ्वीनारायण शाहको शालिक तोड्नेहरूले मुलुकको स्वाधीनता जोगाउन नसक्ने धारणा राखे ।

पार्टीका सहअध्यक्ष जयबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा साहित्यकार खिलप्रसाद शिवाकोटी, स्रस्टा लीला अनमोल र दृष्टिविहीन सागर अधिकारीले पृथ्वी जयन्तीमा राष्ट्रका निर्माताप्रति सम्मान जनाउँदै सार्वजनिक विदा दिइनु पर्ने विचारसहित आफ्ना कविता र गीत प्रस्तुत गरेका थिए ।

पृथ्वी जयन्तीकै उपलक्ष्यमा मङ्गलवार पत्रकार महिला र राप्रपाका महिला सङ्गठनविच भएको फुटवल प्रतियोगिताका सहभागीलाई ट्रफी र मेडल प्रदान गरिएको सो कार्यक्रमको सञ्चालन पार्टीका सचिव केशव ओझाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: