‘विदेशीका दलालले मेडिकल कलेज दिएनन्’

  प्रकाशित मिति
८ कार्तिक २०७४, बुधबार २१:०४


durga prasainविर्तामोड । वीएन्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाइँले मेची अञ्चलको गौरवको रुपमा स्थापित यस हस्पिटललाई ‘विदेशीका दलाल’हरुले मेडिकल कलेजको सम्बन्धन पाउनबाट रोकेको आरोप लगाएका छन् ।

संसद्को नभएको मौका छोपेर चुनावी सरकारले हालै अध्यादेशमार्फत बीएन्डसीले मेडिकल कलेजको मान्यता नपाउने प्रावधान राखेर राष्ट्रिय चिकित्सा विधेयक (ऐन) जारी गरेको थियो ।

चिकित्सा ऐन ‘चोर बाटोबाट जारी गरिएको’ भन्दै वीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक प्रसार्इँले बुधवार हस्पिटलमा पत्रकार भेटघाटमार्फत अहिले ल्याउन लागिएको चिकित्सा ऐनले मेची अञ्चलको विकासलाई पछाडि धकेल्न खोजेको र हाल लगानी भइसकेको अर्बौ लगानी धराशायी पार्ने षडयन्त्र गरिएको बताएका छन् ।

सरकारले जारी गरेको ऐनमा हालका विश्वविद्यालयले ५ वटा भन्दा बढीलाई मेडिकल कलेजको सम्बन्धन दिन नसक्ने प्रावधान राखिएको छ ।
प्रसार्इँले यो प्रावधान वीएन्डसीले सम्बन्धन पाउनबाट रोक्ने मनसायले ल्याइएको दावी गरे ।

स्वदेशमा मेडिकल कलेज खुल्न नदिने र नेपालीका छोराछोरीहरुबाट महङ्गो शुल्क असुलेर विदेशमा पढ्न पठाउने दलाल चरित्रका कन्सल्टेन्सीहरुको मिलेमतोमा मुलुकमा मेडिकल कलेज सञ्चालनमा ठूलो बाधा उत्पन्न गरिएको प्रसाईले दावी गरे ।

उनले आन्दोलनका नाममा पटकपटक अनसन बसेर सरकारलाई आफ्ना मागमा झुकाइरहेका टिचिङ हस्पिटलका प्राडा गोविन्द केसीसमेत ‘विदेशी दलाल’हरुको चङ्गुलमा फँसेर उनीहरुकै गोटी बनेको आरोप लगाए ।

टिचिङ हस्पिटलमै लामो समय सेवा गरेर वीएन्डसी हस्पिटलको नेतृत्व सम्हालिरहेका प्राडा उमेशकुमार शर्मा र प्रसिद्ध सर्जन डा. रोहितकुमार यादवले समेत वीएन्डसी जस्तो पूर्वाधार सम्पन्न हस्पिटललाई मेडिकल कलेजको मान्यता नदिइनु दुःखदायी विषय भएको बताएका छन् ।

भारतमा ४ सय ६० वटा र बङ्गलादेशमा ९० वटा मेडिकल कलेज सञ्चालनमा रहेको उदाहरण सुनाउँदै वीएन्डसीका प्रिन्सिपल समेत रहेका प्राडा उमेशकुमार शर्माले नेपालमा मेडिकल कलेज खोल्न दिनु हुँदैन भन्ने तर्क विकास विरोधी र हाँस्यास्पद भएको टिप्पणी गरे ।

सर्जन डा. रोहित यादवले वीएन्डसी हस्पिटललाई मेडिकल कलेजको मान्यता नदिइनु सरासर अन्याय भएको धारणा व्यक्त गरेका छन् ।
डा. यादवले पूर्वाधार पुगेका मेडिकल कलेजहरुलाई सञ्चालन हुन नदिन अनसन बस्ने डा. गोविन्द केसीको समेत आलोचना गरे ।

‘डा. केसी राजनीतिमा निकै हिट बन्दै जानु भएको होला, तर डाक्टर समुदायमा भने उहाँको लोकप्रियता विस्तारै खस्किदै गएको छ’–डा. यादवको भनाई थियो ।

आउँदो चुनावपछि बन्ने संसद्ले अहिलेको अध्यादेश खारेज गर्ने र वीएन्डसी हस्पिटलले मेडिकल कलेजको सम्बन्धन पाउने गरी चिकित्सा विधेयक पास हुने अपेक्षा गर्दै डा. यादवले मेची अञ्चलवासीलाई धैर्य गर्न आह्वान गरेका छन् ।

संसदीय समितिले पास गरेको विधेयकमा हेरफेर नगरी सरकारले विधेयक ल्याएको भए वीएन्डसीलाई मेडिकल कलेजको मान्यता पाउन अहिले नै बाटो खुल्ने थियो ।

वीएन्डसी हस्पिटललाई पछिल्लो समय सम्बन्धन नदिन डा. केसी, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, झापाका काङ्ग्रेस नेता केशवकुमार बुढाथोकी लगायतले असहयोगी भूमिका खेलेको कार्यकारी निर्देशक प्रसाइँको आरोप छ ।

नेपाली काङ्ग्रेसबाट संस्थागत रुपमै अध्यादेशमार्फत चिकित्सा विधेयक ल्याउन भूमिका खेलिएको भन्दै प्रसाइँले काङ्ग्रेसलाई ‘विकास विरोधी’ भएको समेत आरोप लगाएका छन् ।

५ सय ५० वेडको वीएन्डसी हस्पिटलले २०६८ सालमै मेडिकल कलेज सञ्चालनको आशय पत्र पाएको थियो । त्यसपछि उसले मेडिकल कलेजका लागि आवश्यक सबै पूर्वाधार तयार पारिसकेको छ ।

६ अर्ब लगानी भएको यस हस्पिटलमा ७ सय ७२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ८२ जना डाक्टर कार्यरत छन् । हस्पिटलले गत वर्ष साढे ६ करोड राजस्व सरकारलाई बुझाएको थियो भने यसवर्ष राजस्व बढेर १५ करोड पुग्ने सम्भावना बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: