विद्यार्थीलाई स्वीटर

  प्रकाशित मिति
६ पुष २०७३, बुधबार १६:३१


student
बैगुनधुरा । सामुदायिक विद्यालयमा गर्दा हुन्छ भन्ने गतिलो उदाहरण झापाको पश्चिम दक्षिणी क्षेत्रमा रहेको बैगुनधुरा स्रोत केन्द्रका विद्यालयहरूले पुष्टि गरेका छन् । विद्यालय सुधार गर्नका लागि सरकारको मुख ताक्नु पर्दैन भन्ने शिक्षा समेत दिएको छ यस स्रोत केन्द्रले ।

यस स्रोत केन्द्रमा रहेका १८ वटा सामुदायिक विद्यालयले दाताहरूकै सहयोगमा कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीहरूलाई स्वीटर, जुत्ता, मोजा, पञ्जा वितरण गरेर अन्य क्षेत्रलाई गतिलो उदाहरण पेश गरेको छ ।

स्रोत व्यक्ति छवि बस्नेतको नेतृत्वमा झापा र इलामका विभिन्न दाताहरूको सहयोगमा विद्यार्थीहरुका लागि ती सामग्रीहरुको व्यवस्था गरिदिएको हो ।
जसमा अहिलेसम्म ९ वटा विद्यालयमा वितरण गरिसकिएको छ भने बाँकीमा धमाधम गरिरहेका छन् ।

एउटा विद्यालयमा यो कामको थालनी गरेपछि हरेक विद्यालयले अभियानकै रुपमा अघि सारेका थिए । जुन अभियान आज सफल समेत बन्न पुगेको छ । जसका लागि सहयोग गर्ने दाताहरु बढेका बढै छन् ।

सिद्धीदाता प्रावि बैगुनधुरा–५ मा ६६ जना विद्यार्थीलाई स्वीटर जुत्ता मोझा, पञ्जा र टोपी वितरण गरिएको छ । विर्तामोड नगरपालिकाका सरसफाइ अभियानका संयोजक सागर पौडेल (अजनवि) ले उक्त सामग्री प्रदान गरेका हुन् ।

जनता प्रावि पाँचगाछीमा ४८ वटा स्वीटर वितरण गरिएको छ । पाणिनी मावि दमककी शिक्षक दुर्गा काफ्लेले विद्यार्थीका लागि स्वीटर उपलब्ध गराएकी हुन् ।

पृथ्वीनारायण प्रावि महाभारा ५७ जनालाई स्वीटर र जुत्ता वितरण गरिएको छ । इलाम करफोकका दिनाराज निरौलाले आफ्नो विवाह भएको २० औँ वर्षघाँठको अवसर पारेर विद्यालयलाई उक्त सामाग्री प्रदान गरेका हुन् । उनी करफोक माविका शिक्षक समेत हुन् ।

कनकाई प्राविमा ६० जना विद्यार्थीलाई स्वीटर र जुत्ता प्रदान गरिएको छ । विर्तामोड–९ का समाजसेवी मदनकुमार मित्तल र कुसुमदेवी मित्तलले स्वीटर र जुत्ता उपलब्ध गरएका थिए ।

अमर मावि बैगुनधुराका कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका ७० जना विद्यार्थीलाई स्वीटर विरतरण गरिएको छ । सोही विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद पोखरेलले आफ्नो ५६ औँ जन्मदिनको अवसर पारेर उक्त सामग्री प्रदान गरेका हुन् ।

यसैगरी आइतवार बालकल्याण मावि कुञ्जिवारीमा २ सय जना विद्यार्थीलाई स्वीटर प्रदान गरिएको छ । सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको समूहले उक्त सामाग्री प्रदान गरेको हो । जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालको उपस्थितिमा विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको थियो ।

मङ्गलवार बलभद्र प्राविमा स्वीटर, जुत्ता र टोपी वितरण गरिने कार्यव्रmम रहेको स्रोत व्यक्ति छवि बस्नेतले बताए । उनका अनुसार विर्तामोडका केही युवाहरूको पहलमा उक्त सामग्री वितरण गर्न लागिएको हो ।

पुस ७ गते जनकल्याण आधारभुत विद्यालय महाभारा १ सय २५ वटा स्वीटर र टोपी वितरण गर्ने कार्यव्रmम तय भएको छ । उक्त सामाग्री स्थानीय दाताले दिने तयारी गरेका छन् ।

पुस ८ गते इन्द्रणी प्रावि महाभारामा र राम जानकी आधारभुत विद्यालय महाभारामा एकैदिन स्वीटर, टोपी र जुत्ता वितरण गर्ने कार्यव्रmम रहेको छ । दिनाराज निरौलाको संयोजकत्वमा इन्द्रेणीमा ७४ र राम जानकीमा ७५ जना विद्यार्थीलाई स्वीटर, टोपी र जुत्ता वितरण गर्न लागिएको छ ।

यसैगरी जीवनज्योति प्रावि बैगुनधुरामा ४२ वटा स्वीटर आइसकेको छ । दाता राजकुमार राईले उक्त सामग्री दिएका हुन् । श्रीप्रावि कप्तानबारीमा बैगुनधुरामा कञ्चनजङ्गा युवा क्लबका अध्यक्ष रविन ढुङ्गानाको नेतृत्वमा स्वीटर वितरण गर्न लागिएको छ । लेखनाथ आधारभुत विद्यालयमा ७५ जना विद्यार्थीलाई स्वीटर वितरण गर्ने तयारी गरिएको छ । उक्त विद्यालयमा कृष्ण सिग्देलले स्वीटर दिने भएका हुन् ।

स्रोत व्यक्तिको नेतृत्व र विद्यालयहरूको सहकार्यमा यो काम गर्न विद्यालयहरु सफल भएका छन् । विपन्न अवस्थाका मधेशी समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा आर्थिक अवस्थाकै कारण सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू एकसरो कपडामा विद्यालय आउने गरेका थिए ।

‘यो अभियानले गर्दा हुन्छ भन्ने उदहरण पेश गरेको छ ।’ जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले भने–‘हामीलाई पनि ‘हाम्रा सामुदायिक विद्यालयहरूले विद्यालयको सुधार योजनामा आधारित भई आफ्ना पूर्व विद्यार्थीहरूको परिचालन गर्न सके विद्यालयको शैक्षिक उन्नयनका लागि कोशेढुङ्गा सावित हुन सक्छ । बैगुनधुरा स्रोत केन्द्र यो कार्यका अन्य क्षेत्रका लागि अनुकरणीय बनेको छ । हामीसँग भएको जनशक्तिलाई यसरी नै परिचालन गर्ने हो भने हाम्रा विद्यालय राम्रा बन्न कुनै समय लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: