विद्यार्थीविहीन भएपछि विद्यालय बन्द

  प्रकाशित मिति
१० भाद्र २०७५, आईतवार ११:०२


भद्रपुर । विद्यार्थीविहीन भएपछि झापाको मेचीनगर–१ मा रहेको जनकल्याण प्राथमिक विद्यालय बन्द भएको छ ।

चालू शैक्षिक सत्रदेखि विद्यार्थीबिहीन भएपछि सो विद्यालय बन्द भएको हो । यहाँ बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको थियो ।

शैक्षिक सत्र शुरु भएको एक महिनासम्म विद्यालय खुला गरिए पनि कुनै विद्यार्थी भर्नाका लागि नआएको र भएका सबै विद्यार्थी समेत अन्यत्र गएका कारण विद्यालय बन्द गरिएको मेचीनगरका शिक्षा प्रमुख उद्धव विष्टले बताए ।

२०४५ सालमा स्थानीयको पहलमा स्थापना भएको सो विद्यालयमा विगत केही बर्षदेखि विद्यार्थी भर्ना हुन आउने क्रम घटेको थियो । अघिल्लो शैक्षिक सत्रमा सो विद्यालयमा २० जना मात्र विद्यार्थी रहेको तत्कालीन बाहुनडाँगी स्रोत केन्द्रका स्रोत व्यक्ति दिपेन्द्र सुब्बा बताउँछन् ।

उनका अनुसार विद्यालयमा गुणस्तरीय पढाई नभएको भन्दै अभिभावकहरुको बारम्बार गुनासो आइरहन्थ्यो । अभिभावकहरुले नै मेचीनगर नगरपालिकाको शिक्षा शाखामा विद्यार्थीविहीन विद्यालय बन्द गरी पाऊ भनी निवेदन दिएका थिए ।

विद्यालयमा प्राथमिक तहका तीन जना शिक्षक, बालविकास केन्द्रका लागि एक र कार्यालय सहयोगी एकजना कार्यरत थिए ।

हाल उनीहरुलाई मेचीनगर नगरपालिका शिक्षा परिषद्को २०७५ जेठ २८ गते बसेको बैठकले मेचीनगर क्षेत्रकै अन्य विद्यालयहरुमा स्थानान्तरण गरिएको छ भने कार्यालय सहयोगीलाई वडा कार्यालयमा राखिएको नगरका शिक्षा प्रमुख विष्टले जानकारी दिए ।

उनका अनुसार प्रधानाध्यापक उत्तम गिरी बलभद्र आदर्श आधारभूत विद्यालय मेचीनगर–३, शिक्षक लक्ष्मी गिरी मेची जनसाधारण मावि मेनपा–२, शिक्षक सावित्रा दाहाल पवित्रा आधारभूत विद्यालय मेनपा–१, बाल विकास शिक्षक खीला पराजुली र कृष्ण पुरी आधारभूत विद्यालय मेनपा–२ र कार्यालय सहयोगी वडा कार्यालय मेनपा–१ मा स्तानान्तरण भएका छन् ।

बन्द रहेको विद्यालयको नाममा ४ कठ्ठा जग्गा रहेको छ । जहाँ दुई कोठे ४ वटा पक्की भवन छन् । कम्पाण्डवालसहितको विद्यालयमा खानेपानीलगायतका सबै पूर्वाधार रहेको विद्यालयका प्रधानाध्यापक उत्तम गिरीले बताए ।

झापा जस्तो सुगम क्षेत्रमा समेत सामुदायिक विद्यालयहरुमा विद्यार्थी अभाव हुने समस्या बढ्दै गएको छ ।

अभिभावकले सामुदायिक विद्यायलप्रति कम चासो देखाउने र विद्यार्थीले अङ्ग्रेजी शिक्षाप्रति मोह देखाएको कारण अन्य विद्यालयमा समेत विद्यार्थी घट्ने समस्या विकराल बन्दै गएको मेचीनगर–१५ स्थित डिगेन जनज्योति प्राथमिक विद्यालयकी प्रधानाध्यापक कृष्णकुमारी बाँनिया बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: