विद्यार्थी झुकाव ‘बीबीए’तिर

  प्रकाशित मिति
१४ भाद्र २०७३, मंगलवार ०८:०७


SL371870भद्रपुर । कुनै समय सरकारी स्कूल र क्याम्पसमा पढ्ने विद्यार्थीहरू अधिकांश आर्थिक रुपमा विपन्न परिवारका हुन्थे । अधिकांशको नजर निजी स्कूल र कलेजतर्फ हुन्थ्यो । आर्थिक रुपमा विपन्न परिवारका अभिभावकले पनि ऋण नै लिएर भए पनि निजी कलेज र बोर्डिङ स्कूलमै छोराछोरी पढाउँथे । तर, निजी स्कूल वा कलेज नै श्रेष्ठ हुन्छन् भन्ने मान्यता झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसले तोडिदिएको छ ।

मेची बहुमुखी क्याम्पस वि.सं २०७० सालबाट सुरु भएको ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) पूर्वका विद्यार्थीमाझ सबैभन्दा लोकप्रिय हुँदै गएको छ । रोजगारमूलक र प्रयोगात्मक विषय भएकाले पनि विद्यार्थीको झुकाव बीबीएतर्फ देखिएको हो ।

‘मेची बहुमुखी क्याम्पसमा पढाई हुने विषयमध्ये विद्यार्थीको पहिलो रोजाईमा बीबीए नै पर्छ’, क्याम्पसका बीबीए विभागका निर्देशक सिरो सान्दाई भन्छन्–‘बीबीए पढेपछि रोजगारीको सम्भावना दह्रो हुन्छ, त्यसैले आजका बालबालिका बीबीए नै पढ्न चाहान्छन् ।’

उनका अनुसार बीबीए पढ्ने विद्यार्थीलाई संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया र नेपालमै पनि रोजगारीको प्रबल सम्भावना हुन्छ । बीबीए गरिसकेपछि विद्यार्थीको रोजाईमा प्रायः विकसित मुलुक नै पर्ने उनको धारणा छ ।

SL371852मेची बहुमुखी क्याम्पसमा बीबीएको भर्ना खुलिसकेको निर्देशक सिरो सान्दाईले जानकारी दिएका छन् । ‘साउन २८ गतेदेखि भर्ना खुलेको हो’, उनले थपे–‘भदौ २७ गतेसम्म भर्नाका लागि आवेदन दिन सकिने छ ।’ अहिले पनि विद्यार्थीले भर्ना आवेदन दिइरहेको उनले बताए । करिब १ सय ५० जनाको आवेदन परेको र अझै विद्यार्थी थपिने उनले बताएका छन् ।

‘जम्मा ६४ जना विद्यार्थीलाई एउटा ब्याचका एड्मिसन लिइन्छ’, निर्देशक सिरो सान्दाईले भने–‘२ सय ५० जनासम्म विद्यार्थीको आवेदन परे पनि प्रवेश परीक्षामा उत्कृष्टलाई भर्ना दिइन्छ ।’

बीबीए पढनका लागि सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्मका विद्यार्थी आउने गरेको उनी बताउँछन् । बीबीएमा उत्कृष्ट रिजल्ट आएकाले पनि विद्यार्थीको चाप बढेको उल्लेख गर्दै उनले भने–‘बीबीए विश्वास गरिने विषय हो, बीबीए पढेपछि मध्यमस्तरको जनशक्ति उत्पादन हुन्छ ।’

झापामा बीबीएको पढाई भद्रपुरस्थित मेची क्याम्पसमा मात्रै हुन्छ । अहिले १ सय ७४ जना विद्यार्थी बीबीए अध्ययनरत छन् । ‘अबको ब्याचका लागि विद्यार्थी आउँदा हाम्रो एउटा चक्र पूरा हुन्छ’–उनले भने । मेची बहुमुखी क्याम्पसमा बीबीएको पढाई मल्टिमिडिया सिस्टमबाट हुन्छ ।

जसका लागि ३५ वटा कम्प्यूटर सिस्टम उपलब्ध छन् । बीबीएको पढाईमा कुनै किसिमको बाधा नरहेको उनले बताएका छन् । बीबीए ल्याउनुभन्दा पहिले नै विद्यार्थी सङ्गठन, प्राध्यापक सङ्घले पढाईमा अवरोध नगर्ने प्रतिवद्धता जनाएको उनले बताएका छन् । ‘अरुको कक्षा रोकिए पनि बीबीएको कक्षा निर्वाध सञ्चालन भइरहेको छ’–उनले भने ।

SL371856पूर्वमा मेची बहुमुखी क्याम्पसबाहेक विराटनगर र धरानमा मात्रै बीबीएको पढाई हुन्छ । ‘त्रिभूवन विश्वविद्यालयले बीबीएको पढाईका लागि सेलेक्टेड सरकारी क्याम्पसलाई मात्रै अनुमति दिएको छ’, निर्देशक सिरो सान्दाईले भने–‘समग्रमा शतप्रतिशत रिजल्ट ल्याएको छ, रिजल्टका हिसाबले हामी नम्बर १ छौँ ।’

काठमाडाँैका शङ्करदेव क्याम्पस र मिनभवन क्याम्पससँग मात्रै मेची बहुमुखी क्याम्पसको प्रतिष्पर्धा रहेको छ । ‘अङ्कका हिसाबले हामी दोस्रो स्थानमा छौँ, अझै सुधार गर्न प्रयासरत छौं’–सिरो सान्दाईले भने ।

बीबीएको पठनपाठनका लागि मेची बहुमुखी क्याम्पसमा १८ जना चुनिन्दा प्राध्यापकहरुको टिम सक्रिय छ । विद्यार्थीको मेहनतले पनि मेची बहुमुखी क्याम्पसमा बीबीए सफल भएको प्राध्यापकहरुको टिप्पणी छ ।

‘विद्यार्थीको आकर्षण बीबीएमै छ’, मेची बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक राजेन्द्र अधिकारी भन्छन्–‘हाम्रो दिशानिर्देश अनुसारै विद्यार्थी अघि बढिरहेकाले पनि यो सफलता हासिल भएको हो, १० बजेदेखि ४ बजेसम्म पढाउँछौ, ट्यूसनको पनि आवश्यकता नै पर्दैन ।’
शैक्षिक बेरोजगारी अन्त्य गर्न पनि बीबीएजस्ता रोजगारीमूलक विषय पढ्न प्राध्यापक अधिकारीको सुझाव छ ।

बीबीएका निर्देशक सिरो सान्दाईका अनुसार बीबीएको पढाई पूरा गर्नका लागि ३ लाख ३१ हजार रुपैयाँ लाग्छ । ‘यो नेपालका निजी शैक्षिक संस्थाको भन्दा लगभग आधा नै सस्तो हो’, उनले थपे–‘काठमाडौका निजी कलेजले बीबीए पढाउन ८ लाखसम्म लिने गरेको पाइन्छ ।’

उनले मिहेनती विद्यार्थीलाई मेची क्याम्पसको बीबीए विभागले सदा स्वागत गर्ने बताएका छन् । ‘एड्मिसन खुलेको छ, आउनुस्’, सिरो सान्दाईले भने–‘सस्तोमा गुणस्तरीय शिक्षा मेची क्याम्पसले प्रदान गरिरहेको छ ।’

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ भदौ १४ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: