विद्यालय पढ्न ५ घण्टा पैदल

  प्रकाशित मिति
१६ असार २०७३, बिहीबार १९:५३


DSC08025

शिवसताक्षी । इलाम जिल्ला महमाई–९ लोसेकी सुनिता लिम्बू बालनिकुञ्ज उमावि शिवसताक्षी–९ माइधार कक्षा–९ मा अध्ययन गर्छिन् । उनलाई घरबाट विद्यालय पुग्न मात्र अढाई घण्टा भन्दा धेरै समय लाग्छ । गाउँमा कुनै पनि विद्यालय नभएपछि अध्ययनका लागि उनले यति धेरै समय खर्चिनु पर्ने बाध्यता रहेको छ ।

सोही ठाउँकी सविता श्रेष्ठको पनि पीडा उही छ । बिहान चाँडो गरेर घरबाट हिँडेन भने समयमा विद्यालय पुग्न सकिन्दैन । उनी भन्छिन्–‘पढ्न जति गाह्रो पर्छ त्यो भन्दा धेरै सास्ती विद्यालय जान आउनमै पर्ने गरेको छ’ सुनिता र सविता त प्रतिनिधि पात्र मात्र हुन् उनीहरू जस्ता ११ जना विद्यार्थीको साझा समस्या नै बनेको छ, विद्यालय आउने जाने ।

झापासँग सिमाना जोडिएको इलामको दक्षिणी गाविस महमाई लोसेका उनीहरूका लागि मावि तहको पढ्ने एउटै मात्र विकल्पको रुपमा बालनिकुञ्ज उमावि रहेको छ । जुन विद्यालय पुग्न उनीहरू दैनिक ५ घण्टा ओहोर दोहोर गर्नुपर्छ । त्यो पनि कतै बाटामा अल्मलिएन भने । प्रावि तहसम्मको विद्यालयमा उनीहरूले झापामै रहेको बालज्योति प्राविमा अध्ययन गरेका हुन् । त्यो भन्दा माथिल्ला कक्षाहरूका लागि थप १ घण्टाको दुरीमा रहेको यो विद्यालय आउने गरेका छन् । हिँउदमा त जसो तसो विद्यालय आउँछन् तर, बर्खा लागेपछि यहाँका विद्यार्थीलाई अर्काे समस्याले घेर्ने गरेको छ । त्यो हो, बाढी र पहिरो ।

इलामकै सरदारे खोलामा आउने बाढीले आवतजावतमा समस्या हुने गरेको छ । एउटै खोलालाई ५ ठाउँसम्म वारी र पारी तर्नुपर्छ । ‘नपढी पनि नहुने पढ्दा पनि सास्ती बेहोर्नु पर्छ’ कक्षा ९ मा अध्ययनरत अर्पण राईले भने –‘गाउँमा एउटै पनि विद्यालय नभएकाले यो समस्या भोग्नु परेको छ ।’

यस क्षेत्रका धेरै विद्यार्थीले यहि समस्यका कारण पढ्दा पढ्दै आदिमै छोड्नु पर्ने गरेको छ । घरको आर्थिक अवस्था र टाढा विद्यालय भएकै कारण अधिकांसले आदिमै पढाइ छोड्नु परेको अर्पणले बताए । यस क्षेत्रबाट आउने विद्यार्थीहरूमा आयुष लिम्बू, विमला लिम्बू, रेनुका लिम्बू, बिमला राउत, बुद्धिमाया लिम्बू, सम्झना तामाङ, सपना सेन्चुरी, सुनिता लिम्बू, सविना लिम्बूलगायत रहेका छन् । उनीहरू बिहान ८ बजे नै विद्यालय हिड्नु पर्छ भने बेलुका ६ बजे मात्र घर पुग्ने गरेका छन् ।

यता विद्यालयले यो वर्षदेखि यहाँका विद्यार्थीका लागि भनेर छात्रवासको व्यवस्था गर्ने तयारी गरेको छ । अघिल्लो वर्ष कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि केही समयका लागि भनेर विद्यालयमै छात्रवासको व्यवस्था मिलाइ दिएको थियो । ‘इलामबाट आउने विद्यार्थीलाई छात्रावासको व्यवस्था गर्ने तयारी गरेका छौँ’ प्राचार्य भीमबहादुर लिम्बूले भने– ‘यो वर्षदेखि विद्यालयको दुई वटा ब्लक खाली भएको छ, सोही ठाउँमा छात्रा तथा छात्रलाई हुने गरी व्यवस्थित छात्रवास निर्माण गरेर उनीहरूलाई सहज रुपमा पढ्ने वातावरण मिलाउन विद्यालय प्रसाशनले तयारी गरेको छ ।’

कक्षा १० मा अध्ययनरत सपना सेन्चुरी गत बैशाखदेखि नै विद्यालयमै बस्न थालेकी छिन् । उनलाई आउन जान समस्या भएकाले विद्यालयकै एउटा कोठामा आफै व्यवस्थापन गरेर बस्दै आएकी प्राचार्य लिम्बूले बताए । उनले सबै विद्यार्थीका लागि व्यवस्थित छात्रवास निर्माण गरेर बस्ने वातावरण मिलाउने बताए । जसका लागि सबै पूर्वाधारहरू निर्माण गर्ने तयारी भएको छ ।

झापाको नमुना विद्यालयको रुपमा रहेको यो विद्यालयमा कक्षा १० सम्म ६ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । कक्षा ७ सम्म अङ्ग्रेजी माध्ययममा पढाई हुने यो विद्यालय पछिल्लो समय बसै अभिभावकको पहिलो रोजाईको विद्यालयमा पर्ने गरेको छ । विद्यालय प्रसाशन, अभिभावक तथा स्थानीय सरोकारवालाको सहकार्यमा छोटो समयमा विद्यालयले राम्रै प्रगती गर्दै गएको छ । सबैसँगको सहकार्य र टिमवर्कका कारण नै विदायलयले प्रगती गर्न सकेको प्राचार्य लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: