विद्रोही आवाज लिएर आए डम्बरुबल्लभ

  प्रकाशित मिति
१३ माघ २०७६, सोमबार १३:०१


मेचीनगर ।

‘युद्ध र आन्दोलनबाट जन्मेर
सँधै सम्झौतामा रमाउने
मेरो राजनीति
निर्लज्ज छ, बेइमान छ ।’

आजको निर्मम यथार्थ लाग्ने माथिका शब्दहरु कवि डम्बरु बल्लभ पौडेलका हुन् । ‘बिद्रोही आवाज’ नामक कविता सङ्ग्रह लिएर साहित्यपटमा उदाएका पौडेलको यो पहिलो कृति हो । जो भर्खरै पाठकका हातहातमा आएको छ ।

मेचीनगर–९ का पौडेलले लामो समय बैङ्कको जागिरे जीवन बिताए । जागिरको क्रममा पनि साहित्यिक स्रष्टाहरुसँग निरन्तर अन्तरक्रियामा रहने र सामाजिक सञ्जालमा भावहरु पोखिरहने स्वाभावले उनलाई कृति नै रचना गर्ने हदसम्म डोहोर्यायो । यो तथ्यलाई उनले कृतिको लेखकीयमा स्वीकार गरेका छन् ।

आजको युग सामाजिक सञ्जालले वर्चस्व जमाएको युग हो । मानिसहरु आफ्ना भाव र विचारहरु फेसबुक, ट्वीटर लगायतका सञ्जालमा पोखिरहेका हुन्छन् । लाइक र कमेन्ट पनि त्यही बढी हुन्छ । पौडेलका पोस्टमा अभिव्यक्त भाव र अरुका पोस्टमा पौडेलले गर्दै आएका कमेन्टहरु आफैमा सशक्त सिर्जना हुन् । उनमा साहित्यिक प्रतिभा हुर्किरहेको भान सामाजिक सञ्जालमा उनको सार्थक प्रयोगले पनि देखाइसकेको थियो ।

‘विद्रोही आवाज’मा ३४ वटा कविता समेटिएका छन् । उनका कवितामा कतै विद्रोहको विगुल फुकिएका छन् भने कतै देशभक्ति र स्वाभिमानको हुँङ्कार गरिएको छ । राजनीतिक आन्दोलन र नेतृत्वको बेथितिलाई नजिकबाट नियालेका कवि आम मान्छेहरुको चाहना र अपेक्षाबाट आजको राजनीति टाढिइरहेको चेतावनी कविताबाटै दिन सफल छन् ।

‘यसलाई पढ्नुहोस्, एकपटक अवश्य पढ्नुहोस् । कतै तपाईले भन्न चाहेको तर भन्न नसकेको तपाईकै मनभित्रको विद्रोह पनि यसभित्र हुन सक्छ । मैले देश, समाज र समयको कुरालाई साहित्यको माध्यमबाट अभिब्यक्त गरेको छु ।’– उनी किताबको पुछारको पातोमा लेख्छन् ।
७० पृष्ठको चिटिक्क आकारमा छापिएको यो किताबमा रुद्र रुक्मा स्मृति कोषले प्रकाशकको भूमिका निर्वाह गरेको छ । विर्तामोडको बुद्ध अफसेट प्रेसमा मुद्रित कितावको शुद्धाशुद्धि शिक्षिका मुना रानाले हेरेकी छन् भने पुस्तकको मूल्य रु. १५०÷– राखिएको छ ।

किताबको प्रचारका लागि कसैलाई भूमिका लेखाएर पाठकलाई बाँध्ने धृष्टता लेखकले गरेका छैनन् । आफ्नो विचार व्यक्त गरिसकेपछि किताब सिधै कविताका हरफहरुमा प्रवेश गर्दछ । जहाँका हरफ हरफहरुले पाठकलाई तरङ्गित तुल्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: