विपत्मा नेपाली एकता

  प्रकाशित मिति
१३ भाद्र २०७४, मंगलवार १५:३१


21032783_10155503690506341_5557856335001380839_n

सेतो नसिलाएको कपडाले बेरिएर मेरो घरमा एउटा माग्ने आयो । ऊ उभिएर आफ्नै भाषामा भन्न थाल्यो ‘मेरो बाबु मरेका छन् किरिया गर्ने पैसा छैन सहयोग गर्नुहोस् ।’ म एकैछिन त स्तब्ध भए र दिन ठिक पारेको दानमा केही मात्रा थपेर दिए हिंड्नै लागेको त्यस मान्छेलाई मैले झट्ट सोधे – ‘तिम्रो घर कहाँ हो ?’ अनि तिम्रा आफन्त र छिमेकीले तिमीलाई यस अबस्थामा कुनै सहयोग गर्दैनन ?’

आफ्नो बाबु मरेका वखत किरिया गर्ने पैसा नभएर त्यति टाढादेखि यहाँँसम्म किरिया खर्च जुटाउन हिंड्नुपर्ने कस्तो विडम्वना ! म एकोहोरिए ऊ हिंड्यो । त्यही वेला मेरो दिमागमा आफ्नो समाजको विम्व आइहाल्यो । यहाँ जस्तोसुकै गरीबले आफ्नो वावु– आमा गुमायो भने पनि त्यो उसको एकलौटी समस्या हँुदैन । उसको गरिबी त्यसबेला साझा बन्दछन् त्यो किरिया कसरी उतार्ने ? उसको बित्नै लागेको बाली, उसका भोका गाईवस्तु उसको चिन्ताको विषय हँुदैन । सवै गाउँले छरछिमेकीको जिम्मेवारी हुन्छ । त्यो सेतो कपडाले बेरिएको मान्छेलाई न त छिमेकीले सहयोग गरे न त आफन्तले त्यसैले ऊ यस अवस्थामा यस रुपमा यहाँसम्म आइपुग्यो भिख माग्न । ‘के उसले कहिल्यै त्यसरी नै दु ःखमा परेका छिमेकी र आफन्तलाई सहयोग गरेको थियो होला त ?’ यो प्रश्न उब्जियो अचानक मनमा । कि मात्र माग्ने बहानाका लागि वावुको किरिया भन्दै हिंडेको थियो ऊ ?

वावु मरेको छोरो किरिया खर्च जुटाउन आफैं हिंड्नु परेको होस् वा मरेको वहाना गरेर दान थाप्न हिडेको होस् हाम्रो सामाजिक संस्कारका दृष्टिले दुवै अवस्था तुच्छ छन् । माग्ने कार्यलाई हाम्रो नेपाली संस्कारले पुरा असमर्थन गर्दछ । तर कसैको यदि माग्नै पर्ने अवस्था परेर मागेको हो भने त्यस्तालाई दिनैपर्छ भन्ने सोच राख्दछ । ‘दिएर खान पुगोस्’ यो आशिर्वाद हरेकलाई ठूलाबाट प्राप्त हुने गर्छ र विस्तारै त्यसले संस्कारको रुप लिन्छ । सापटी, अर्मपर्म, पैचो त लेनदेन हुन तर नितान्त माग्नु हाम्रा लागि लज्जाको विषय हो र दिनु खुसीको विषय । त्यतिमात्र होइन जो सारै अप्ठ्यारोमा परेको छ त्यसतालाई सहयोग गर्नेहरु सबैका नजरमा अब्वल हुन्छन् । प्रशंसित हुन्छन् ।

हो यस्तै प्रशंसायोग्य कार्य मेचीनगरको वडा नं. ९ का महिलाहरुले गरे । यस बर्षको महान चाड तीजको ठिक अघिल्तिरबाट देशलाई नै रुवाउँदै बग्यो एउटा अकल्पनीय बाढी । कति घरवारबिहिन भए । कतिका वस्तुभाउ किलाबाट छुटाउनसम्म पाइएन, त्यहीँ डुवेर मरे । कसैले आफ्नो अघिसम्म सँगै बसेको परिवारजन बग्दै गरेको डुब्दै र मर्दै गरेको देख्नु र सहनु प¥यो । यो तमाम पीडा सहँदै बाँच्ने आशामा कुनै भवनमा, त्रिपालमा, छिमेकमा आश्रय लिएर बसेका तमाम नेपालीहरुका अगाडि आइपुग्यो तिज पर्व । यस्तो अवस्थामा मेचीनगर–९ का नेपाल महिला सङघका महिलाहरुले यो बर्षको तिज बाढी पीडितहरुका लागि समर्पित गर्ने निर्णय गरेर तिजको दरखाने दिन सहयोग सङ्कलन गर्ने कार्यक्रम आयोजना गरे । जसमा उनीहरुको व्यक्तिगत र सहयोग गर्न चाहने अन्य महानुभावहरुको योगदानबाट दुई लाख बराबरका सामाग्रीहरु साडी, कुर्ता सलवाल स्कुल ब्याग, स्कुल जुत्ता लगायतका समाग्री तयार गरियो । ने.का. झापा क्षेत्र नं. १ ले पनि आफ्नो तर्फबाट ७० परिवारका लागि १÷१ बोरा खाद्यान्न तयार पारेको थियो । उक्त दुई टोलीले मेचीको मल्हम नामक कार्यक्रम अन्तर्गत तिजको ब्रतको दिन गौरीगञ्जको अति बिकट गौरीया खोलाको किनारमा रहेका पीडितहरुलाई उक्त सामाग्री हस्तान्तरण गरे ।

अघिल्ला वर्षहरुमा तिज पर्व विस्तारै दुर्गन्धित हँुदै थियो विभिन्न विकृतिले तर यस वर्ष तिजमा महिलाहरुले संयमता देखाए । शोक र खुसी एउटै देशमा सँगसगै हुनुहुँदैन भन्ने सुझवुझ देखाए । तडकभडकसाथ वुक हुने सहरका ठूला हलहरु यसवर्ष सुनसान देखिए । स्वयम् तिज गीत गाउने झापाली नवोदित गायिका शुशिला पाठक लगायतको टिम तिज भरी झापा गाउँपालिकामा राहत वितरण गर्दै थियो । ‘पिपुल फर पिपुल’ नाम दिइएको कलाकारहरुको अर्को समूह, धुर्मुस सुन्तलीको टिम लगायतका धेरै सङ्घ संस्थाहरु पीडामा मल्हम लगाउन तराई आइपुगे । राहतको नाममा आफू धनी हुने केही समूहलाई बिर्सिदिने हो भने अधिकांश नेपालीहरु एकलाई पर्दा अर्कोले साथ दिने, दुःखमा परेकालाई केही न केही गरौँ भन्ने भावना बढेको पाइएको छ चाहे त्यो पहाडमा भुकम्प जाँदा होस् चाहे तराईमा वाढी जाँदा हरेक चार्डपर्व समयको आवश्यकता सँगै परिवर्तन हुर्नै पर्छ । तिज अव पार्वतीले झै कठोर व्रत गरेर योग्य वर पाउने अन्धविश्वासमा रहेन, न त साथीसङ्गी भेला भएर बुहार्तनका पीडा ओकल्ने चाड रह्यो ।

अबका तिजहरु यस्तै सभ्य हँुदै जाउन । महिलाको चाड हो त्यसैले यो चाड अझ माया बाँड्ने अझ गरीव दुःखी असहायहरुका पीडामा मल्हम लगाउने चाड बनोस् । हामीले नै हाम्रा चाडपर्व संस्कृतिहरुलाई झन–झन सम्बृध बनाउदै लाने हो । हाम्रो समाजको कुनै पनि गरिवले सेतो कपडा बेरेर कहिल्यै पनि माग्न हिड्न नपरोस् । एकलाई पर्दा जुट्ने अनेक हातहरु बढ्दै जाउन यस वर्षको तिजलाई बिदाई ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: