विभागको निर्देशन–‘ठाउँसारी दिन मिल्छ’

  प्रकाशित मिति
८ बैशाख २०७६, आईतवार १८:३०


मेचीनगर । विद्यालय ठाउँसारी र नाम परिवर्तन गर्न अनुमति दिन मिल्ने भनी शिक्षा तथा मानव श्रोत विकास केन्द्र (तत्कालीन शिक्षा विभाग)ले जिल्लाको शिक्षा समन्वय इकाइ कार्यालयलाई निर्देशन दिएको छ ।

मेचीनगरको वडा नं. ६ मा विद्यालय सञ्चालनका लागि एमिटी पब्लिक स्कुलले मेचीनगर नगरपालिका र जिल्ला शिक्षा विकास तथा समन्वय इकाई झापा (तत्कालीन जिल्ला शिक्षा कार्यालय)सँग ठाउँसारीको अनुमति मागेपछि दिन मिल्ने कि नमिल्ने भन्ने विषयमा दुबै निकाय अनिर्णित भएका थिए ।

मेचीनगर नगरपालिकाको बोर्डले यही विषयमा बैठक बसी कानूनी स्पष्टता नभएको भन्दै ठाउँसारी र नामसारीमा प्रतिबन्ध लगाउने निर्णय नै गरेको थियो ।
उता जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योगेन्द्र बरालले तत्कालीन शिक्षा विभाग (केन्द्र)सँग के गर्ने भनी निर्देशन माग्दै गत पुस १५ गते पत्राचार गरेका थिए ।

जिल्लाले मागेको रायका विषयमा सुनुवाई गर्दै शिक्षा तथा मानव श्रोत विकास केन्द्र (शिक्षा विभाग)ले यही चैत २४ गते जिल्लालाई निर्देशनात्मक पत्र पठाई विद्यालयहरुलाई ठाउँसारी र नामसारी दिन मिल्ने जानकारी दिएको छ ।

केन्द्रले जिल्लालाई पठाएको निर्देशनमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को ज (२) र (१२) अनुसार विद्यालयहरुको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तह (नगरपालिका र गाउँपालिका)हरुलाई भएको स्पष्ट उल्लेख गरिएको छ ।

केन्द्रले जिल्ला शिक्षा समितिको राय, स्थानान्तरण भइजाने तहको पत्र समेतको आधार, संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ को दफा २ र ३ को समेत आधार लिई विद्यालय ठाउँसारी र नामसारीको व्यवस्था गर्न जिल्ला शिक्षा विकास तथा समन्वय इकाई झापालाई निर्देशन दिएको छ ।

केन्द्रले पठाएको यही निर्देशनका आधारमा जिल्लाले नगरपालिकाको शिक्षा इकाईसँग समन्वय गरी ठाउँसारी र नामसारी माग्ने विद्यालयहरुलाई अनुमति दिइनु पर्ने हो । तर जिल्लाले केन्द्रबाट पठाइएको यो निर्देशन पत्र (पत्र सङ्ख्या १२३÷०७५÷०७६)लाई हालसम्म गुपचुप राखेको पाइएको छ ।

नगरपालिका र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ दुबैले विद्यालयहरुको ठाउँसारी र नामसारी रोकिरहेको भए तापनि यस्तो रोक लगाउने कार्य कानूनी अस्पटताको कारण नभएर अर्कै स्वार्थका कारण भएको शङ्का बढ्दै गएको छ ।

एमिटी पब्लिक स्कुल, लालीगुराँश स्कुल लगायतका ४ वटा निजी स्कुलले मेचीनगरमा ठाउँसारी र नामसारीका लागि अनुमति मागेका छन् ।

स्कुल जस्तो ज्ञान बाड्ने संस्था खोल्न समेत रोक लगाउने कार्यले मेचीनगर नगरपालिका आलोचित हुँदै गएको छ । यो विषय सर्वोच्च अदालतसम्म पुगेको छ ।

एमिटी पब्लिक स्कुललाई सञ्चालन हुन रोक्ने कार्यमा मेचीनगरकी उपप्रमुख मीना उप्रेतीको मुख्य भूमिका रहेको पीडित विद्यालयका सञ्चालकहरुको आरोप छ ।
उपप्रमुख उप्रेतीको परिवारको प्रत्यक्ष लगानीमा सञ्चालित मेची मोडेल स्कुलको प्रिन्सिपल सुवर्ण भट्टराईले पद छाडेर एमिटी स्कुल सञ्चालनको तयारीमा लागेका हुन् ।

स्कुल छाडेर अर्को स्कुल खोल्न लागे पछि व्यक्तिगत इगोका कारण भट्टराईलाई दुःख दिनका लागि उप्रेतीले पदीय शक्तिको दुरुपयोग गरेको भट्टराईको आरोप छ ।

नगरपालिकाको बोर्डले ठाउँसारीमा लगाएको प्रतिबन्धप्रति राजनीतिक दलहरु, नागरिक समाज र शिक्षा क्षेत्रका अगुवाहरु समेत असन्तुष्ट देखिएका छन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: