विमानस्थल जाने सबै सडक बेहाल

  प्रकाशित मिति
११ भाद्र २०७३, शनिबार १६:५८


Birtamod Bhadrapur Road

भद्रपुर । सडकको स्तरोन्नती र विस्तारमा सरोकारवालाको ध्यान नजाँदा हवाई यात्राको एउटै विकल्प झापाको भद्रपुर विमानस्थल जाने सर्वसाधारणले सास्ती व्यहोरिरहेका छन् । मुख्य र वैकल्पिक गरी ५ वटा सडकमार्ग रहेपनि सयौं ठाउँमा खाल्डाखुल्डी परेपछि हवाइजहाज चढ्न जाने सर्वसाधारण र विदेशी पर्यटक सकसपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

झापामा आन्तरिक उडानका लागि एउटा मात्रै विमानस्थल छ । नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकले पनि यही विमानस्थल प्रयोग गर्ने गरेका छन् । तर, झापाकै प्रतिष्ठाका रुपमा रहेको भद्रपुर विमानस्थल जोड्ने ५ वटै सडकमार्ग बेहाल छन् । कालोपत्रे गरिएका सडक पनि एउटै सद्दे नहुँदा पर्यटन र सर्वसाधारणले सास्ती पाइरहेका छन् ।

बिर्तामोड–भद्रपुर, चारआली–भद्रपुर र धुलाबारी–भद्रपुर विमानस्थल जान प्रयोग गरिने मुख्य सडकमार्ग हुन् । त्यसैगरी, धाइजन–चद्रगढी र काँकरभिट्टा–भद्रपुर पनि वैकल्पिकमार्ग हुन् । ‘५ वटा सडकमार्गको प्रयोग गर्दै पुगिने भद्रपुर विमानस्थल जान हदैसम्मको सास्ती व्यहोर्नु परिरहेको छ’, पर्यटन व्यवसायीको छाता सङ्गठन ट्राभल्स एशोसिएसन झापाका अध्यक्ष शङ्कर भट्टराई भन्छन् – ‘कुनै पनि सडक सद्दे नहुँदा पर्यटकले यो हवाईमार्ग प्रयोग गर्नै छाडिसके ।’ काँकरभिट्टा नाका हुँदै नेपाल आउने पर्यटकको संख्यामा कमी आउनुको एउटा मुख्य कारण विमानस्थल जाने सडक पनि रहेको भट्टराईको टिप्पणी छ । उनका अनुसार राज्य संयन्त्रको चरम उदासिनताकै कारण सडकमार्गको स्तरोन्नती हुन नसकेको हो ।

भद्रपुर विमानस्थल जान धुलाबारीबाट ९ किलोमिटर, चारआलीबाट १२ किलोमिटर र बिर्तामोडबाट १५ किलोमिटर सडक छिचोल्नु पर्छ । प्रतिघण्टा ४० किलोमिटरको दरले सवारीसाधन चलाउँदा बढीमा आधा घण्टामा पुगिने भद्रपुर विमानस्थल जान १ घण्टाभन्दा धेरै समय खर्चिनु पर्छ । ‘५–५ मिनेटमा खाल्डाखुल्डी भेटिन्छ, सवारीको गति बढाउनै पाइन्न’, काँकरभिट्टाका ट्याक्सी चालक दावा तामाङले भने – ‘२० मिनेटमा पुगिने बाटोमा १ घण्टाभन्दा धेरै समय लाग्छ ।’ उनी दिनमा ४ पटकसम्म काँकरभिट्टा–धुलाबारी हुँदै भद्रपुर जाने रुट प्रयोग गर्दै आएका छन् । हिँड्दा–हिँड्दा आफू बानी परिसकेको बताउने तामाङले पर्यटकले धेरै सास्ती व्यहोरेको अनुभव सुनाए । ‘हामीलाई त केही छैन, तर पर्यटकलाई असाध्यै गाह्रो हुन्छ’, उनी भन्छन् – ‘पर्यटकले विमानस्थल जाने बाटो पनि यस्तो भन्छन् हामीसँग जवाफ हुँदैन, यो छिटो बाटो हो मुख्य बाटो अर्कै छ भन्ने गरेको छु । के गर्नु मुलुकै प्रतिष्ठाको विषय छ ।’

विभिन्न मुलुकबाट रमाइलो गर्न आउने पर्यटक नेपालको सडकको दुर्दशासँग हार खाएर फर्किने गरेका छन् । ‘यति राम्रो प्राकृतिक बनोट रहेको नेपालमा भौतिक पूर्वाधारको विकासमा राज्यको उदासिनता देखियो’, हवाई मार्ग हुँदै भद्रपुरबाट काठमाडौं जान लागेका रुसी नागरिक पास्कारेभ अलेक्ज्याण्डरले लोकतन्त्र पोस्टसँग भने – ‘सडक यात्रामा धुलो खाँदै हिड्ने रहर कसैलाई हुँदैन, नेपाल सरकारले यसतर्फ ध्यान दिनु चाहिँ यहाँकै आर्थिक विकासका लागि लाभदायक छ ।’ पहाडी इलाममा आनन्दले घुमेको बताउने अलेक्ज्याण्डरले बिर्तामोडबाट भद्रपुरसम्म जाँदा पीडादायक यात्रा गर्नु परेको अनुभव सुनाए ।

हुनपनि भद्रपुर जाने सबै सडकको स्थिति बेहाल छ । बिर्तामोडबाट भद्रपुर जाने १५ किलोमिटर सडकको स्तरोन्नरीको जिम्मेवारी एशियाली विकास बैङ्क एडिबीले दिएको छ । धाइजनबाट भद्रपुर जाने सडक पनि कालोपत्रे गर्ने काम शुरु हुँदै छ । चारआली–चद्रगढी–केचना सडकको स्तरोन्नती गर्ने विषयमा ठेकेदारको गम्भीर लापरबाही हुँदै आएको छ । सडक विकास र विस्तारको जिम्मा पाएको डिभिजन सडक कार्यालयको उदाशिनताले पनि झापाको एउटै मात्र उड्डयन सेवा प्रदायक भद्रपुर विमानस्थल जाने सबै सडकको स्तरोन्नती हुन नसकेको सर्वसाधारणको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: