‘विरामीलाई कहिल्यै भारत रेफर गरिन’

  प्रकाशित मिति
१४ श्रावण २०७३, शुक्रबार १०:२३


झापालाई कार्यक्षेत्र बनाएर विगत ६ वर्षदेखि चिकित्सा कर्ममा निष्ठापूर्वक लागिरहेका एसोसिएट प्रोफेसर सर्जन डा. रोहितप्रसाद यादव त्यस्ता एक चर्चित डाक्टर हुन्, जसले आजसम्म अपरेशन गरेका ६ हजार केसमा कुनै पनि असफल भएका छैनन् । उनी हाल विर्तामोडको वीएन्डसी टिचिङ हस्पिटलमा जेनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विभागको प्रमुख छन् । लोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजीले उनीसँग लिएको अन्तर्वार्ता प्रस्तुत छ–

dr rohit 1डा. गोविन्द केसी १५ दिनसम्म अनसन बस्नु भयो । झापाका डाक्टरहरू मौन देखिनु भयो नि, किन ?
हामी मौन थिएनौँ । सातौँ पटकको अनसनका बेला तपाइँहरू सबैले देख्नु भएको थियो, झापाका सबै डाक्टरहरूले विर्तामोडको हनुमान सेन्टर अगाडि जम्मा भएर समर्थनमा र्याली गरेका थियौँ । उहाँका जायज मागप्रति हाम्रो समर्थन छ । सडकमा नारा लगाउँदा मात्र समर्थन हुन्छ भन्ने मानिनु हुँदैन ।

उहाँको माग र उद्देश्यमाथि यसपटक निकै प्रश्न पनि उठेका छन् । तपाइँ यसलाई कसरी हेर्नु हुन्छ ?
आन्दोलन या अभियानमा हिँडेको मान्छेको बारेमा सकारात्मक र नकारात्मक दुबै किसिमका चर्चा समाजमा हुन्छन् । यसलाई स्वाभाविक मान्नु पर्छ । म भन्छु उहाँको सोच र उद्देश्य पवित्र छ । गलत बाटोबाट पैसा कमाउन चाहने मेडिकल कलेजले उहाँको विरोध गरेको सुनियो । कसैलाई उहाँको अभियानले क्षति पुग्छ भने उसले विरोध गरिहाल्छ नि, होइन र !

डा. केसीले नेपालको मेडिकल जगतमा माफियातन्त्र हावी भयो भन्ने गर्नु भएको छ । के यो सत्य हो ?
सत्य बोल्ने हो भने भन्नै पर्छ–नेपालमा माफियातन्त्र हावी छ । त्यो अन्यत्र पनि छ, मेडिकल सेक्टरमा पनि छ । कमसल डाक्टर उत्पादन भइरहेका छन् । डाक्टर पढ्न धेरै पैसा लागिरहेको छ । मेडिकल पढाइदिन्छु भन्दै अभिभावकसँग पैसा धुत्ने एजेन्टहरू बढेका छन् । यो सब मेडिकल माफियाकै करामत हो । यस्तो हुनुमा छोराछोरीको पढाइ कमजोर भए पनि डाक्टरै पढाउनु पर्ने अभिभावकको मानसिकता पनि उत्तिकै दोषी छ । कागजपत्र नपुग्ने विद्यार्थीलाई पनि एजेन्टहरूले ‘म मिलाइदिन्छु’ भन्दै सेटिङमा पढाइदिने व्यवस्था मिलाएको देखिएका छन् ।

तपाई रौतहटमा जन्मेको र धरानमा पढेको मान्छे, झापा कसरी आइपुग्नु भयो ?
हो म धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढेर त्यही एसोसिएट प्रोफेसरको रुपमा कार्यरत रहेको बेला भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलका अध्यक्ष दिपक पोखरेलजीले मलाई झापा ल्याउनु भयो । उहाँले मलाई झापामा ल्याउनु भयो, काम गरेर देखाउने अवसर दिलाउनु भयो र सबै सामू परिचित समेत गराउनु भयो । ६ वर्षसम्म मैले उहाँको हस्पिटलमा रहेर झापालीको सेवा गरेँ ।

उता चटक्कै छाडेर वीएन्डसी हस्पिटलमा आउनु भएको छ । यता किन आकर्षित हुनु भयो ?
धेरै नै मेरो मन छुने प्रश्न हो यो । म जहाँ काम गर्छु निष्ठापूर्वक गर्छु, सफल हुने गरी गर्छु । ओमसाई हस्पिटलमा मैले करीव ६ हजार अपरेसन गरेँ हुँला, एउटा पनि असफल भएको रेकर्ड छैन । मैले त्यहाँ काम गर्दा अर्काको हस्पिटलमा काम गरेको अनुभव कहिल्यै गरिन । दिलोज्यान दिएर रातोदिन काम गरेँ । सुरुमा एक वर्षे करार थियो । पछि दिपकजीले ५ वर्ष थपिदिनु भयो । डाक्टर इन्जिनीयरहरू तोकिएको करार अनुसार काम गर्छन् । ६ वर्षपछि मेरो करार नवीकरण भएन । अनि मैले यताको बाटो रोजे । कुनै नमिठो घटना भएको होइन । अहिले पनि उहाँहरूसँग दोस्ती राम्रो छ । प्रोफेसनल र पारिवारिक जीवन फरक कुरा हुन् ।

अरु विकल्प पनि थिए होलान् । तर वीएन्डसी नै रोज्नुको खास कारण के हो ?
मलाई मात्र होइन, तपाइँ सारा मानिसलाई सोध्नुस्, वीएन्डसी हस्पिटल मेची अञ्चलको गहना हो भन्छन् । यहाँको भौतिक पूर्वाधार मात्र होइन, उपचारमा प्रयोग हुने उपकरण, ल्याव र जनशक्ति हाइ क्वालिटीको छ । मेरो खुला दावी छ–वीएन्डसीमा दिल्लीको मेदान्त हस्पिटल लेवलको इक्युपमेन्ट छ । सीटी स्क्यान र एमआरआइ वल्र्ड क्लासको लेटेस्ट टेक्नोलोजीयुक्त छ । अटोमेटिक कम्प्युटराइज्ड प्रविधियुक्त अत्याधुनिक ल्याव टेस्टको मेशिन छ । सर्जरीमा प्रयोग हुने विश्वप्रसिद्ध ओलेम्पस कम्पनीको ल्याप्रोस्कोपिक सर्जरी सेट छ । त्यो पनि एउटा होइन, दुईवटा छ । म आए पछि थप नयाँ सर्जरी सेट दुर्गाजीले ल्याइदिनु भयो । दक्ष डाक्टरको ठूलो टीम छ । यी तमाम कुराले वीएन्डसीतर्फ मेरो आकर्षण बढाएकै हो । किनकि म अझ राम्रो सेवा गर्न चाहन्छु । यस बाहेक म विरामीको उपचार मात्र होइन, डाक्टर उत्पादन गर्न चाहन्थे । निकट भविष्यमा वीएन्डसीमा डाक्टरी पढाई हुने छ । म त्यसबेला डाक्टर पढ्नेलाई पढाउन पाउने छु । धरानमा मैले पढाउने गर्थे, जो ६ बर्षसम्म टुट्यो ।

आफ्नो हस्पिटललाई कसले पो नराम्रो भन्छ । वीएन्डसीबाहेक अरु हस्पिटल नराम्रो हुन् र ?
अरु हस्पिटलका वारेमा अहिले म केही टिप्पणी गर्न चाहन्न । राम्रो र असल भन्ने कुरा उसले समाजमा सेवा र सुविधा कति पुर्याएको छ भन्ने कुराले मापन गर्दछ । वीएन्डसी धेरै अत्याधुनिक सुविधायुक्त छ । यसलाई अझै राम्रो बनाउनु छ । अति उत्तम बनाउने हाम्रो प्रयास हुने छ । धेरै कुरा हुँदै र पुग्दै गएको छ वीएन्डसीमा । एउटा कुरा अझै पुगेको छैन । त्यो हो–पब्लिकको विश्वास ।

वीएन्डसीमा तपाइँ कुन जिम्मेवारीमा हुनुहुन्छ ?
म जनरल सर्जरी विभागको विभागीय प्रमुख हुँ । मेरो विभागमा अरु ४ जना विशिष्ट डाक्टर रहनु हुन्छ । टीम हाँक्नु र विरामीको अपरेशन गर्नु मेरो देखिएको जिम्मेवारी हो । अर्को कुरा के छ भने म हरेक पल सामाजिक उत्तरदायित्व महसुस गर्छु । मेरो देश, मेरो समाज, मेरा विरामी र मेरो हस्पिटलका लागि म सधैँ इमान्दार सेवक हुँ ।

अहिले पनि नेपाली विरामी साधारण रोगको उपचार गराउन भारत धाउने गर्छन् । तपाइँलाई यसको कारण के होला जस्तो लाग्छ ?
यसमा मल्टिपल कारण छन् । पहिलो कारण हेर्नुस्–ठूलाबडाहरूलाई भारतमै गएर उपचार गराउँदा खान्दानी इज्जत हुन्छ भन्ने आडम्वर छ । कुलीन घरानाका मानिस भारतमा उपचार गराउँदा आफु इज्जतिलो भएको भ्रम पाल्छन् । मन्त्री, नेता, उद्योगी, बुद्धिजीवी सबै भारततिरै जाने गर्नाले सर्वसाधारणले पनि त्यही सिक्ने हो । तर, डा. रामवरण यादव, डा. सशाङ्क कोइराला लगायतका केही नेता भारत जानु भएन । सशाङ्कको केश सिरियस थियो । तर उहाँको पत्नी पनि डाक्टरै भएकाले उहाँलाई भारतको उपचार र नेपालको उपचार उस्तै हो भन्ने प्रस्ट थाहा थियो । केही समय यता नेपालमा मेडिकल क्षेत्रमा बहुतै विकास भएको छ । अब भारत जानु पर्ने आवश्यकता छैन । दोस्रो कारण–सिलगढीमा विरामी लैजाने एजेन्टको ठूलो समूह सक्रिय छ । कुनै सवारी दुर्घटना भयो भने विरामीलाई छिटो नजिकको हस्पिटल लैजानु पर्ने हुन्छ । तर एजेन्टले सिधै सिलगुडी पुर्याइदिन्छन् । त्यसमा भारतका हस्पिटल र एजेन्टको सेटिङ हुन्छ । विरामीका आफन्त बित्थैमा मुर्गा बन्छन्, पत्तै पाउँदैनन् । अर्को कारण हो–राज्यको ढिकुटी दोहन गर्ने प्रवृत्ति । हाइ र्याङको मानिस हुँ भन्ने अहङ्कार बोकेका मानिसहरू विरामी हुँदा मुलुकभित्रै उपचार खोज्नुको साटो एजेन्टको फन्दामा परेर फोकटमा एयर एम्बुलेन्समार्फत भारत पुग्छन् । तिर्ने विमा कम्पनी वा सरकारले भए पछि पैसाको के माया ? यसमा नेपालीकै मानसिकता दोषी छ ।

पूर्वी नेपालबाट सिलगढी धाउने चलन हट्न सकेको छैन । वीएन्डसी स्थापना भइसकेपछि त रोकिनु पर्ने दावी थियो नि ?
सिलगढी धाउने क्रम रोकिन थालिसकेको छ, यसको मतलव पुरै रोकियो भन्ने होइन । बर्षौदेखि लागेको गलत बानी हट्न केही टाइम त लागिहाल्छ नि । चारआलीदेखि फिदिमसम्म यात्रा गर्दा बाटैभरि सिलगढी र पानीट्याङ्की भारतमा ग्यारेन्टीका साथ विभिन्न रोगको उपचार गरिन्छ भन्ने पर्चा टाँसेको देखिन्छ । केही मिडियामा पनि भारतका क्लिनिकमा पायल्स, फिस्टुला, क्यान्सर लगायतको ग्यारेन्टीका साथ उपचार हुन्छ भन्ने विज्ञापन देखिन्छ । वास्तवमा त्यहाँ कुनै ग्यारेन्टीका साथ उपचार हुँदैन । पानीटङ्कीमै विरामी ठगिन्छन्, सिलगढी त अलि परको भयो । मानिसहरूको जथाभावी चिरफार गर्ने र अनाहकमा धेरै खर्च असुल्ने काम त्यहाँ हुन्छ । मान्छेहरू ठगिएका ठगियै छन्, तैपनि जाने भारत धाउने बानी हटाउन सकेका छैनन् । भारत गएर ठगिने क्रम सबैको प्रयासले रोकिनु पर्छ । वीएन्डसीमा सबै उपचारको सुविधा भएकाले भारत धाउनु पर्ने अवस्था अब छैन ।

अब सिलगढी धाउन नपर्ने पक्का हो त ?
दुनियामा भएका सबै सुविधा हामीकहाँ छ हामी भन्दैनौ । तर यति चाहिँ प्रमाणका साथ भन्छौँ कि न्यूरो, अर्थो, सर्जरी लगायतको उपचारका लागि सिलगढीको तुलनामा कयौ गुणा राम्रो, भरपर्दो र सुविधाजनक उपचार वीएन्डसी हस्पिटलमा उपलब्ध छ । यति भइसकेपछि भारत किन धाउनु ?

dr rohit 3नेपालका डाक्टरहरू नै भारतका हस्पिटलतिर विरामी पठाउँछन् भन्ने आरोप छ नि ?
आरोपमा कति सत्यको अंश छ त्यो त अनुगमन गरिनु पर्यो, अरुहरूले नै भन्दिनु पर्यो । मैले आजसम्मको मेडिकल प्राक्टिसको क्रममा कहिल्यै भारतका हस्पिटलमा विरामी रेफर गरिन । ओमसाइ पाथिभरा हस्पिटलमा हुँदादेखि नै म भारतमा विरामी जान रोक्नु पर्छ भनेर अभियान चलाउने डाक्टर हुँ । भारतमा भन्दा राम्रो उपचारको प्रविधि र सुविधा नेपालमै भित्रिसके पछि भारत धाउनु पर्दैन भन्ने मेरो प्रस्ट धारणा हो । अरु डाक्टरहरूले के गर्नु हुन्छ, के गर्नु हुन्न म केही टिप्पणी गर्न चाहन्न । तर कति चाहिँ भन्छु भने डाक्टरहरूले नै भारततिर विरामी लैजान रेफर गर्ने सोच त्याग्नु पर्छ । हामीले त भारततिरका विरामी नेपालमा उपचारका लागि आउने वातावरण पो सिर्जना गर्नु पर्छ ।

तपाई एक चर्चित सर्जन डाक्टरको रुपमा परिचित हुनुहुन्छ । सर्वसाधारणसँगको मित्रता कस्तो अनुभूति भइरहेको छ ?
मेची अञ्चल मेरा लागि अब नयाँ रहेन । ६ बर्षदेखि अञ्चलवासीकै उपचार सेवामा व्यस्त छु । मेरा कुनै पनि अपरेशन आजसम्म असफल भएका छैनन् । कतिले भगवान नै ठान्नु हुन्छ । तर म उहाँहरूलाई सम्झाएर भन्ने गर्छु–डाक्टरहरू पनि मान्छे नै हुन्, भगवानको दर्जा नदिनुस् । कहिलेकाहिँ कुनै विरामीको उपचार हुँदाहुँदैको अवस्थामा मृत्यु भयो भने हस्पिटलमा तोडफोड गरेको देख्दा ज्यादै दुःख लाग्छ । अघिसम्म भगवान भनिएको डाक्टरमाथि राक्षसलाई जस्तो दूव्र्यवहार हुने गर्छ । तर झापालीहरू मेरो नजरमा ज्यादै सहयोगी, स्नेही, सद्भावपूर्ण र मिलनसार हुनुहुन्छ । माफ गर्नु होला, मैले धेरै पहिले स्वाङ्जाली र झापाली जाली हुन्छन् भन्ने सुनेको थिएँ । तर जब म आफै झापा आएँ, बरु उल्टो पो पाएँ । मेरो ६ बर्षको बसाइँमा आजसम्म एउटा व्यक्तिसँग पनि झगडा भएको छैन, कसैको धाकधम्की र जालझेल व्यहोर्नु परेको छैन । झापालीहरू शिक्षित, सम्पन्न र विवेकशील छन् ।

झापाका हस्पिटलहरूको सम्बन्ध कटुतापूर्ण छ भन्ने चर्चा सुनिन्छ । स्वच्छ प्रतिष्पर्धात्मक बनाउन सकिदैन र ?
सबै पेशामा राम्रो र नराम्रो पक्ष हुन्छन् । यो विषय हाम्रो साझा मिटिङमा पनि उठ्ने गर्छ । मैले उदाहरण दिएर भन्ने गरेको छु । मुक्ति चोकको एउटा छेउमा ५ वटा कपडा पसल छन् । सबैको चलिरहेकै छ । एउटाको पसलमा मन नपरे अर्को पसलमा जान्छन् किन्ने मानिसहरू । उनीहरूमा उच्च व्यावसायिकता देखिन्छ । तर हाम्रा हस्पिटलमा त्यस्तो स्वच्छ प्रतिष्पर्धा र उच्च व्यावसायिक अभ्यासको खाँचो छ । मैले स्वीकार्नै पर्छ–हस्पिटलहरूमा खुट्टा तान्ने प्रवृत्ति देखिन्छ । सबै सञ्चालकहरूले सद्भावपूर्वक यसको समाधान खोज्न जरुरी छ ।

डाक्टरहरूले उपचारमा मिस्टेक गर्दा हुन्, तर कहिल्यै स्वीकार्दैनन् नि किन ?
डाक्टरहरूले ‘मिस्टेक’ गर्दैनन् । मेडिकलको भाषामा त्यसलाई हामी ‘कम्प्लिकेसन’ भन्छौँ । हाम्रो समाजले त्यही ‘कम्प्लिकेसन’लाई ‘मिस्टेक’ भनिदिन्छ । निजी हस्पिटलमा ‘मिस्टेक’ भएको बढी आरोप लाग्छ, सरकारीमा कम लाग्छ । नेपालमा विरामी उपचार गराउँदा ‘मिस्टेक’ भएको आरोप लगाइन्छ, त्यस्तै दुर्घटना भारतको सिलगढीमा भयो भने ‘मिस्टेक’ भएको आरोप लगाइदैन । वास्तवमा हस्पिटल मानिसको जन्मने र मृत्यु हुने ठाउँ नै हो । वृद्ध भए पछि मृत्यु हुनबाट प्रकृतिलाई कसैले रोक्न सक्दैन । मानिसले अर्थात चिकित्सा विज्ञानले पनि मृत्युमाथि विजय पाएको छैन । जति पनि ‘कम्प्लिकेसन’ भएर मृत्यु हुन्छ, त्यसमा डाक्टरको दोष नहुन सक्छ । उपचारमा डाक्टर एउटा कम्पोनेन्ट हो । तर औषधि, ल्याव जाँच र रोगका किटाणुको बढ्दो प्रतिरोधी शक्ति उपचारका ठूला चुनौती हुन् । कुनै पनि डाक्टरले आफुले उपचार गरिरहेको विरामी जतिसुकै गम्भीर अवस्था नै किन नहोस्, बचाउन चाहन्छ । संसारका ठूला ठूला नेता, बैज्ञानिक, धार्मिक नेताहरूको मृत्यु उपचारकै क्रममा हस्पिटलमै भएका छन् ।

(२०७३ साउन १४ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: