विर्तामोड झापा, १ भदौ । विर्तामोडस्थित कृषि थोक बजारमा बुधबार विहान विद्युत सर्ट भई आगलागी हुँदा आगलागीमा २० वटा पसल नष्ट भएका छन् ।
विर्तामोड–६ स्थित सो बजारमा नगरपालिकाले व्यापारिक प्रयोजनका लागि २ वर्ष अघि जस्ताको छानो भएका ७० वटा पक्की पसल निर्माण गरेको थियो ।
अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार विहान पौने ४ बजेतिर बजारका पसलमा आगलागी सुरु भएको थियो ।
विर्तामोड, भद्रपुर, मेचीनगर र दमक नगरपालिकाबाट आएका दमकलले प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरेका थिए ।
आगलागीबाट रु. एक करोडभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । विद्युत गडबडीका कारण बजारमा आगो सल्किएको अनुमान छ ।
दस लाखभन्दा बढी सामान डढेर खरानी भएको बताउने एक कस्मेटिक पसलका धनी मोहम्मद अलिले बजारमा आगलागीको भवितव्यबाट बच्न पूर्व सुरक्षाको कुनै प्रबन्ध नगरपालिकाले नगरेको बताए ।
नगरापालिकाले ७० वटा पसलका लागि एउटा मात्र मिटर बक्स राखेको, अलग अलग मिटर बक्स र अन्य सुरक्षात्मक प्रबन्धको माग गर्दा नगरपालिकाले ध्यान नदिएको आगलागी पीडितहरूको गुनासो छ ।