विश्वप्रकाशको प्रस्ताव ः प्रधानमन्त्री दुईपटक, राष्ट्रपति एकपटक

  प्रकाशित मिति
३ आश्विन २०७८, आईतवार १६:३२


झापा, ३ असोज । नेपाली कांग्रेसको १४ औं महाशिवेशनमा महामन्त्री पदका उम्मेद्वार एवम् पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री दुईपटक, राष्ट्रपति एकपटक मात्र बन्न पाउने संबैधानिक व्यवस्था हुनुपर्ने राजनीतिक अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गरेका छन् ।

विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान संयोजन समितिद्वारा आयोजित कार्यक्रममा आज आफ्नो २४ बुँदे अवधारणा सुनाउँदै शर्माले इमानपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको बताए ।

नेता शर्माले २४ बुँदामा आफ्नो राजनीतिक अवधारणा प्रस्तुत गरेका छन् । जसमा मुलुकको समृद्धिको खाका, परराष्ट्र नीति, निर्वाचन प्रणाली, संविधानका त्रुटीहरुको सम्बोधन, शासकीय हैसियतमा जानेहरुको कार्यावधि लगायतका महत्वपूर्ण विषयमा विभिन्न प्रस्ताव गरिएको छ ।

उनले मुलुकको राष्ट्रपति पदमा एकपटक, प्रधानमन्त्री पदमा दुईपटक र विधायकमा चार पटक मात्र निर्वाचित हुन पाउने संबैधानिक व्यवस्था हुनुपर्ने प्रस्ताव राखेका छन् । यो अवधारणा लागू भएमा नयाँ पुस्ताले राजनीतिमा नेतृत्व गर्ने अवसर स्वतः पाउने उनले बताए ।

“हामीसहित अग्रज पुस्ताले बलिदान दिएर मुलुकमा राजनैतिक परिवर्तन ल्यायो,” उनले भने–“त्यतिले मात्र पुगेन, अब राजनीतिमा परिवर्तन ल्याउने कार्यको नेतृत्व गर्न मैले महामन्त्रीमा उम्मेद्वारी दिएको हुँ ।”

उनले वीपी कोइरालाको जन्मजयन्तीको अवसरमा उहाँ जेल बस्नु भएको सुन्दरीजलमा गएर उम्मेद्वारी घोषणा गरेको र समाजवादी नेता सिके प्रसाई र संघर्षशील नेता तुर्सा हेमरमले वीपीको विचारमा चिन्तन र मलजल गरेको गृहजिल्ला झापामा आएर चुनावी अभियान थालेको बताए ।

सात सालदेखि अहिलेसम्म आउँदा मुलुकमा ठूला ठूला राजनीतिक क्रान्ति गर्न नेपालका राजनीतिक दलहरु सक्षम बनेको उल्लेख गर्दै उनले नेता र दलहरुको आचरण र व्यवहारमा लोकतान्त्रिक परिवर्तन आएको अनुभूति आम नागरिकले गर्न नपाएको गुनासो गरे ।

सत्तामा जुन दल गए पनि देश सबैको साझा भएको हुँदा मुलुकको राजनीति असल संस्कारयुक्त हुनुपर्नेमा उनले जोड दिए ।

अहिले लामो अवधि जेलनेल भोगेका र प्रधानमन्त्री भइसकेका दलका नेताहरु अलिकति आन्तरिक कलह हुनासाथ सहयोद्धामाथि नै निकृष्ट गालीगलौजमा उत्रिने गरेको टिप्पणी गर्दै उनले केही नेताहरुको यस्तै कमजोरीलाई औल्याएर लोकतन्त्र नचाहने शक्तिहरु गणतन्त्र असफल भएको गलत अफवाह फैलाउन उद्यत रहेको बताए ।

मुलुकको रुपान्तरण गर्न राम्रो नीति भएको राजनीतिक दल चाहिए जस्तै नेपाली कांग्रेसभित्र पनि सङ्लो र दूरदर्शी भावना बोकेको नेतृत्व आवश्यक भएको भन्दै नेता शर्माले आगामी महाधिवेशनमा मेचीदेखि महाकाली र प्रवासमा रहनु भएको सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ताहरुको शुभेच्छा र मत पाउनेमा आफु विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: