विषादीविरुद्धका अभियन्ताको निधन

  प्रकाशित मिति
५ माघ २०७६, आईतवार १६:५४


मेचीनगर । मेचीनगर–९, मागुरमाडी निवासी कृषक महेश तिम्सिनाको ५३ वर्षको उमेरमा आइतवार निधन भएको  छ ।

एक महिना अघि बिरामी परेका तिम्सिनालाई सुरुमा ज्वरोको लक्षण देखापरेपछि उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा उपचार गराइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको थियो । उपचारकै क्रममा ब्लड क्यान्सर रोगबाट उनको निधन भएको हो ।

डेढ दशकयता कृषि क्रान्तिमा जीवन समर्पित गरेका तिम्सिना हरेक किसानको खेतबारीमा पुग्दथे । कृषि बालीका विषयमा किसानलाई निशुल्क सल्लाह र सहयोग गर्दै आएका थिए । हरेक किसानको मन जितेका तिम्सिनाले क्यान्सर भने जित्न सकेनन् ।

पहिल्लो दुई वर्षयता उनले झापामा विषादीविरुद्ध अभियान नै सञ्चालन गर्दै आएको थिए । उनको निधनले कृषि क्षेत्रमा ठूलो क्षति पुगेको कृषि विज्ञ शालिकराम भट्टराईले बताए । ‘उहाँ (महेश तिम्सिना) कृषक, उद्यमी र आइपीएम प्रशिक्षक हुनुहुन्थ्यो,’ भट्टराईले भने, ‘कृषि आन्दोलनमा लाग्ने यस्ता महान व्यक्ति हामीले गुमाउनु पर्यो ।’

बिर्तामोडको विभिन्न एग्रोभेटमा पनि काम गर्दै आएका तिम्सिनाले विषादीविरुद्धको सडक नाटक सञ्चालन गरेर कृषकलाई सचेतना जगाउँदै आएका थिए । उनकै अगुवाईमा उक्त नाटक झापा, मोरङ र इलाममा देखाइएको थियो । झापाको बाहुनडाँगीबाट विषादीविरुद्धको नाटक सुरु गरिएको थियो ।

आफूलाई कृषक भन्न रुचाउने तिम्सिनाले विभिन्न समयमा तालिम लिएर प्रशिक्षकको भूमिका पनि निर्वाह गर्दै आएका थिए । तत्कालीन कृषि विकास कार्यालयले तिम्सिनालाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उनले त्यही बेलादेखि बालीनालीका विषयमा परामर्श दिँदै आएका थिए । ‘किसानका साथी’ भनेर चिनिएका तिम्सिना ग्रामीण कृषकका सच्चा सहयोगी रहेको बाहुनडाँगी निवासी सामाजिक अभियन्ता गोविन्द न्यौपानेले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।

जिल्लामा कृषक समूह बनाएर कृषि तालिम समेत दिँदै आएका तिम्सिना राष्ट्रिय कृषक समूह महासङ्घ झापाका अध्यक्ष पनि थिए । जिल्लामा हाल ११ सय बढी कृषक समूह रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: