विषादी भेटिए पनि भएन कार्वाही

  प्रकाशित मिति
७ चैत्र २०७४, बुधबार १३:४६


विर्तामोड । तरकारी तथा फलफुलमा विषादी जाँच्ने प्रविधि झापामा भित्रिए पछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका बस्तुको पहिचान हुन थालेको छ ।

तर, प्रयोगशाला परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको विक्री रोक्ने तर्फ भने हालसम्म कुनै पहल हुन सकेको छैन ।

कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण इकाई’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरकारी तथा फलफुलको दैनिक नमुना परीक्षण हुन थालेको हो ।

द्रुत प्रयोगशालाले विहान १० बजे कृषि थोक बजारबाट कृषि उपजहरुको आफै नमुना सङ्कलन गरेर विषादीको अवशेष परीक्षण गर्दै आएको छ । परीक्षणको रिपोर्ट एक घण्टाभित्रै निस्कने गरेको छ ।

तर, प्रयोगशालाले नियमित जाँच गर्दा निस्कने रिपोर्ट निर्देशनालयमा पठाउने मात्र काम गरिरहेको छ । रिपोर्टमा विषादीको मात्रा अखाद्य स्तरमा देखिएका कृषि उपजका विषयमा कुनै पनि सरकारी तहबाट कुनै ठोस कार्वाही हुने गरेको छैन ।

यसै साता प्रयोगशालाले मेचीनगर नगरपालिकाको पहलमा काँकरभिट्टा नाकाबाट तरकारीको नमुना सङ्कलन गरेर जाँच गरेको थियो । तर रिपोर्ट मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्याउने तहसम्मको आएको थिएन ।

विर्तामोडमा जाँचिएका केही नमुनामा भने मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्याउने तहसम्मको विषादी फेला परेको रिपोर्ट आइसकेको छ ।

‘हामी नमुना परीक्षण गरेर त्यसको रिपोर्ट काठमाडौँ पठाउने काम गर्छौँ’, प्रयोगशाला सम्बद्ध एक प्राविधिक लोकतन्त्र पोस्टसँग भन्छन्–‘कार्वाही गर्ने अधिकार हामीलाई छैन ।’

गत जेठ महिनादेखि विर्तामोडको द्रुत प्रयोगशालाले तरकारी तथा फलफुलमा विषादीको अवशेष परीक्षण गर्न थालेको हो । यस अवधिमा प्रयोगशालाले २ सय ६० वटा नमुना परीक्षण गरिसकेको छ ।

स्रोतका अनुसार भारतबाट आयातीत टमाटर र नेपालकै काउलीमा खानै नहुने मात्रामा विषादीको अवशेष भएको पुष्टि भएको थियो । तर त्यो टमाटर र काउलीको विक्रीलाई कसैले रोकेन ।

मानव स्वास्थ्यको प्रतिकूल असर पुर्याउने मात्रामा विषादी भेटिएका तरकारी तथा फलफुललाई क्वारेन्टाइनमा राखी ७ दिनपछि पुनः परीक्षण गर्ने वा बढी मात्रामा विषादी भेटिएमा तत्काल नष्ट गर्ने सरकारी व्यवस्था छ ।
तर हानिकारक फेला परेका कृषि उपजलाई क्वारेन्टाइनमा राख्ने वा सीधै नष्ट गर्ने भन्ने विषयमा कुनै पनि सरकारी निकायले तदारुकता देखाएको पाइँदैन ।

प्रयोगशालाले हानिकारक मात्रामा विषादीको अवशेष भेटिएका कृषि उपजका बारेमा सम्बन्धित व्यापारीलाई भने जानकारी दिदै मौखिक सचेत गरउँदै आएको छ । तर हानिकारक तरकारी तथा फलफुललाई नष्ट गर्ने काम भने प्रयोगशालाले गर्दैन ।
स्रोतका अनुसार विषादी मात्रा बढी भएका बस्तु नष्ट गर्न स्थानीय नगरपालिका वा गाउँपालिका, स्थानीय प्रशासन, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ र बजार व्यवस्थापन समितिले आपसी सहकार्य गर्नु पर्ने हुन्छ ।
विषादी विरुद्ध गोष्ठी र बैठकहरुमा खरो भाषण गर्दै आएका विर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुव शिवाकोटी द्रुत जाँच प्रयोगशाला विर्तामोडमा सञ्चालनमा आएको १० महिना भइसक्दा हालसम्म एकपटक पनि प्रयोगशाला हेर्न गएका छैनन् ।
पत्रकार र उपभोक्ताहरु भने प्रयोगशालाका विषयमा धेरै चासो राखेर हेर्न र सोध्न आउने गरेको स्रोत बताउँछ । विर्तामोडकी उपप्रमुख पवित्रा प्रसाइँ प्रयोगशाला हेर्न एकपटक पुगेकी थिइन् ।

प्रयोगशालाले जाँचिरहने तर सम्बन्धित निकायले विषादीको मात्रा बढी भेटिएका कृषि उपजहरुको विक्रीमा बन्देज नलगाउने हो भने जाँच गर्नुको कुनै अर्थ नहुने उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

पछिल्लो समय मेचीनगरका नगरप्रमुख विमल आचार्यले प्रयोगशालामा नाकाबाटै नमुना सङ्कलन गरिएका तरकारी तथा फलफुलको विषादी मात्रा जाँच गराउने तर्फ सकारात्मक अग्रसरता देखाएका छन् ।

नगरप्रमुख आचार्यले विषादीको मात्रा मानव स्वास्थ्यका लागि हानिकारक तहमा भेटिएका र गुणस्तर नभएका बस्तुहरु नाकाबाट भित्रिन नदिन सरोकारवाला निकायहरुलाई हालै कडा निर्देशन दिएका थिए ।

आइतवार काँकरभिट्टा नाका हुँदै भारतबाट भित्रिने सागसब्जीको पहिलोपटक विषादी जाँच्दा काउलीमा सबैभन्दा धेरै विषादी भएको पुष्टि भएको थियो ।

जाँचले भारतबाट आयातीत हुने काउलीमा सबैभन्दा बढी र करेलामा सबैभन्दा न्यून विषादीको मात्रा फेला परेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: