मेचीनगर । नेपाल विद्यार्थी सङ्घ झापाले विषादीयुक्त तरकारी परीक्षण गरेर मात्रै नेपाल भित्र्याइनु पर्ने माग राख्दै बिहीबार काँकरभिट्टा नाकामा विरोध प्रदर्शन गरेको छ ।
झापाका विभिन्न कलेजमा रहेका सङ्घका सदस्यहरुको उपस्थितिमा भएको कार्यक्रममा विषादीयुक्त तरकारी परीक्षण गर्नुपर्ने माग राख्दै करिब १ घण्टा नाकामा विरोध प्रदर्शन गरिएको हो ।
विरोध कार्यक्रममा बोल्दै नेविसङ्घ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीले भारतबाट ल्याइने विषादीयुक्त तरकारीले नेपालीहरुको स्वास्थ्यमा गम्भीर असर परेकाले नेपाल सरकारले यसतर्फ चाँडोभन्दा चाँडो ध्यान दिन जरुरी रहेको बताए ।
उनले भने, ‘पछिल्लो समय नेपाली जनतामा लाग्ने दीर्घकालीन रोगहरुको मुख्य कारण भारतबाट आयातित विषादीयुक्त तरकारी नै भएकाले यसलाई परीक्षण गरेर मात्र खानयोग्य तरकारी नेपाल भित्र्याउनु पर्छ ।’
नेपाल विद्यार्थी सङ्घ झापाका प्रवक्ता सञ्जय निरौलाले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सदस्य, कलेज सभापति लगायत अन्य प्रतिनिधिहरु गरी करिब ६ सय विद्यार्थीहरु सहभागी थिए ।
सरकार विषादी जाँच्ने निर्णयबाट पछि हटेपछि नेविसङ्घ त्यसको विरोधमा उत्रिएको हो । सरकारको यो निर्णयमा सर्वत्र आलोचना भइरहेको छ ।