विर्तामोड । ९४ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर असार १८ गते सहकारीकर्मीले मानव साङ्लो प्रदर्शन गर्ने भएका छन् । यो दिवस प्रत्येक जुलाई महिनाको पहिलो शनिवार विश्वभर एकसाथ मनाइँदै आएको छ ।
राष्ट्रिय सहकारी सङ्घको आव्हान तथा झापा जिल्ला सहकारी सङ्घको व्यवस्थापनमा सहकारीकर्मीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । ‘सहकारी दिगो भविष्यको कार्य शाक्ति’ भन्ने नाराका साथ झापामा यो दिवस मनाउन लागिएको सङ्घका जिल्ला अध्यक्ष गणेश ढकालले बताए । बिहान ७ बजे हुने मानव साङ्लो पूर्वको मेचीबाट सुरु भई दमकको मावा पुलसम्म प्रदर्शन गरिनेछ ।
सहकारीमैत्री ऐन जारी गर्न दबाब दिने उद्देश्यले मानव साङ्लो प्रदर्शन गर्न लागिएको सङ्घका जिल्ला सहसचिव भवानीप्रसाद दङ्गालले बताए । उनका अनुसार सोही दिन एक हजार वटा सहकारी झण्डा वितरणसमेत गरिनेछ । सङ्घले कार्यव्रmममा २० हजार भन्दा बढी सहकारीकर्मी उतार्ने तयारी गरिरहेको छ । जसका लागि आफ्नो पायक पर्ने स्थानमा संस्थाका सम्पूर्ण पदाधिकारी, कर्मचारी र सदस्यलाई सहभागी भइदिन आव्हान गरिएको छ । कार्यव्रmम सफल पार्न १५ हजार पर्चा बाँड्ने काम भइरहेको छ । जिल्लामा ८ सय भन्दा बढी सहकारी छन् । ती मध्ये साढे चारसय बढी सहकारी सङ्घमा आवद्ध छन् ।
सङ्घले विहीवार विर्तामोडमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ । जिम्मेवारी बाँडफाँड गरी काम अघि बढाइएको हो । मानव साङ्लो सफल बनाउन काँकरभिट्टा बसपार्कमा हिम्मत क्षेत्री र कमल काफ्ले, विर्तामोड हनुमान सेन्टल अगाडि भवानीप्रसाद दङ्गाल र कृष्ण मिश्र तथा दमक गणतन्त्र चोकमा प्रेम कोइराला र मणि भण्डारीलाई जिम्मा दिइएको छ । पत्रकार सम्मेलनमा जिल्ला बचत सङ्घका अध्यक्ष घनश्याम अधिकारीले समुदायमा सहकारीको अपरिहार्यतालाई प्रतिविम्बित गराइदिन सबैमा आव्हान गरे ।