वीएन्डसीको एमआरआई शक्तिशाली

  प्रकाशित मिति
१० बैशाख २०७३, शुक्रबार ०३:५२


MRIविर्तामोड । उपचारको क्षेत्रमा क्रान्ति नै ल्याउन सफल एमआरआइ प्रविधि झापामा भित्र्याउने श्रेय वीएन्डसी हस्पिटलले पाएको छ ।
चैत १३ गते एक समारोहविच हस्पिटलले एमआरआई सेवाको उद्घाटन गरेको थियो ।

वीएन्डसीले प्रयोगमा ल्याएको १६ च्यानलको अत्याधुनिक मोडलको १.५ टेस्लाको एमआरआई मेसिन मुलुककै ठूलो तथा शक्तिशाली मध्ये एक मानिएको छ । पूर्वाञ्चलमा यति धेरै शक्ति भएको एमआरआई अन्यत्र छँदैछैन ।

एमआरआइको जति धेरै टेस्ला वा शक्ति भयो, त्यति नै राम्रो मानिन्छ । एक्स रे र सीटी स्क्यानमा विकिरण हुने भएकाले मानिसको स्वास्थ्यमा साइड इफेक्ट पार्ने सम्भावना रहन्छ । तर एमआरआइमा चुम्बक रहने भएकाले साइड इफेक्ट नहुने बताइएको छ ।

फिलिप्स कम्पनीको यो मेसिन होल्याण्डमा बनेको हो । करिब २२ करोड रुपैयाँ खर्चिएर सो एमआरआई मेसिन मुलुककै सबैभन्दा गुणस्तरीय र उच्च क्षमता भएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई बताउँछन् ।

अब पूर्वी नेपालका बिरामीले ब्रेन ट्यूमर, ब्रेनको सङ्क्रमण, मेरुदण्डका ट्यूमर, हड्डी खिएको, नसा च्यापिएको, प्यारालाइसिस, घुँडा खिइएको, हाडजोर्नीको सङ्क्रमण, पेट तथा पाठेघर सम्बन्धी विभिन्न रोगहरूको सरल रुपमा उपचार गर्न पाउने छन् । साथै, अरु विधिबाट पत्ता नलागेका रोगहरू पनि यस प्रविधिबाट पत्ता लगाउन सकिनेछ ।

केही दिन अघि अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य पुष्पलाल निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया वीएन्डसीमा गरिएको थियो । ब्रेन ट्युमर पत्तो लगाउन समेत भर्खरै ल्याइएको एमआरआइ प्रविधिले सहयोग पुर्याएको थियो ।

उपत्यकाबाहिर चितवन मेडिकल कलेजमा मात्र १.५ टेस्लाको एमआरआइ मेशिन रहेको छ । काठमाडौँका वीर हस्पिटल लगायतका सुविधा सम्पन्न सरकारी हस्पिटलमा समेत १.५ टेस्लाभन्दा मुनिका मात्र एमआरआई मेशिन रहेका छन् ।

राजधानीको नर्भिक हस्पिटलले निकट भविष्यमा मुलुककै सबैभन्दा शक्तिशाली ३ टेस्लाको एमआरआई भित्र्याउने घोषणा गरेको छ ।
………………………………………………………………………………

के हो एमआरआई ?
डा. दानबहादुर कार्की

  • सन् १८९५ को नोभेम्बर ८ मा रोन्टजेनले एक्सरेको आविष्कार गरेपछि रेडियो इमेजिङको प्रादुर्भाव भयो । यो चिकित्सा क्षेत्रको कान्छो विधा भए तापनि यसको अत्यन्त दु्रत गतिमा विकास हुँदै गएको छ । रेडियोलोजिकल इमेजिङजस्तो डायग्नोस्टिक फिल्डको विकास सँगसँगै विश्वमा चिकित्सा विज्ञानको विकास भएको छ ।
  • रेडियोलोजी अर्थात् एक्सरेलगायत प्रविधिले चिकित्सा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । रेडियोलोजी र मेडिकल इमेजिङ अहिले उपचार पद्धतिको अभिन्न अङ्ग रहिआएका छन् । यस रेडियोलोजी विधामा सन् १९६० को दशकमा अल्ट्रासाउन्ड प्रविधि थपियो । सन् १९७० को दशकमा सिटी स्क्यान प्रविधिको विकास भयो ।
  • यो प्रविधिले शरीरका अङ्गहरूको भित्री बनावट, रोग लागेका अङ्गहरू, ट्युमर तथा क्यान्सरजस्ता रोगहरू पत्ता लगाउन मदत गर्छ । विश्वमा सुरु भएको १८ वर्षपछि नेपालीले पनि सिटी स्क्यान सुविधा पाए । अग्रणी सरकारी अस्पताल वीरले सन् १९८८ (वि.सं. २०४४) मा यो सुविधा सुरु गरेको थियो । यसको प्रयोगले रेडियोलोजी विधामा नेपालले एक फड्को मारेको थियो ।
  • रेडियोलोजी तथा इमेजिङ प्रविधिमा सन् १९८० देखि एक नयाँ डायग्नोस्टिक विधिको सुरुवात भयो । जसलाई म्याग्नेटिक रिजोनेन्स इमेजिङ अर्थात् एमआरआई नामले चिनिन्छ । यो प्रविधिले शक्तिशाली चुम्बकको प्रयोगद्वारा शरीरका अङ्गहरूको सुक्ष्म तथा विस्तृत अध्ययन गर्न सम्भव गराएको छ ।
  • यसमा चुम्बकीय क्षेत्रमा राखिएको मानव शरीरमा रेडियो तरङ्ग प्रसारण गरेर शरीरका अङ्गहरू तथा शारीरिक प्रक्रियाको अध्ययन गरिन्छ । यसको अत्यन्त महत्वपूर्ण विशेषता भनेको यसमा एक्स रे, सिटी स्क्यानमा जस्तो विकिरणको प्रयोग हुँदैन । त्यसैले संसारमै यसको प्रयोग बढिरहेको छ ।
  • नेपालमा पनि सन् १९९० मा यो सेवाको सुरुवात भयो । वीरेन्द्र सैनिक अस्पतालले यो सेवारम्भ गरेको थियो ।
  • एमआरआईको शक्ति टेस्लामा मापन गरिन्छ । टेस्ला भनेको एमआरआईमा प्रयोग हुने चुम्बकको शक्ति हो । चुम्बकको शक्ति जति धेरै भयो, त्यति नै शरीरका अङ्गहरूको स्पष्ट तस्बिर प्राप्त गर्न सकिन्छ र रोग पहिचान गर्न सहज हुन्छ ।
  • त्यस्तै बढी चुम्बकीय शक्तिको एमआरआईमा जाँच गर्न कम समय लाग्छ र कतिपय परीक्षण बढी शक्तिका एमआरआईमा मात्र सम्भव हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: