वीएन्डसीमा अब क्यान्सर उपचार

  प्रकाशित मिति
२७ पुष २०७३, बुधबार १०:५२


bnc-pic

विर्तामोड । मेची अञ्चलमा पहिलो मेडिकल कलेजको रुपमा सरकारी अनुमतिको अन्तिम पर्खाइमा रहेको वीएन्डसी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले अब क्यान्सर रोगको उपचार सुरु गर्ने भएको छ ।

हस्पिटलले आगामी माघ २१ र २२ गते क्यान्सर सम्बन्धी राष्ट्रिय स्तरको शिविरको आयोजना गरेर क्यान्सर उपचारको प्रारम्भ गर्ने हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।
मङ्गलवार पत्रकार सम्मेलनमार्फत हस्पिटलका जनरल सर्जरी प्रमुख डा. रोहित प्रसाद यादवले प्रोस्टेट मृगौला, पेट, स्तन, पित्त थैली र आन्द्राको क्यान्सरका रोगीले अब वीएन्डसी हस्पिटलबाटै सबै किसिमको उपचार सेवा पाउने घोषणा गरे ।

वीएन्डसीमा क्यान्सरको स्क्रीनिङ (जाँच), अपरेसन र औषधोपचार (किमोथेरापी) सेवा उपलब्ध हुने डा. यादवले बताए । सर्जरीमा ख्याति आर्जन गरेका डा. यादवले नै क्यान्सरको अपरेशन र किमोथेरापी गर्ने जानकारी दिए ।

‘मैले धरान र भद्रपुरमा रहँदा समेत क्यान्सरको सफल अपरेशन गरिसकेको छु’, डा. यादवले भने–‘पर्याप्त पूर्वाधार भएको यस हस्पिटलमा क्यान्सरको सफल उपचार हुने कुरामा हामी विश्वास दिलाउन चाहन्छौँ ।’

माघ २१ र २२ गतेको शिविरमा क्यान्सर उपचारमा मुलुकमै नाम कमाएका डा. विनय ठाकुर (वीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल), डा. शैलेश अधिकारी (वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान) लगायतका विशेषज्ञ डाक्टरहरूको सहभागिता रहने बताइएको छ ।

क्यान्सर रोगको उपचार सुरु गर्ने वीएन्डसी मेची अञ्चलकै पहिलो स्वास्थ्य प्रतिष्ठान हो । उपचारलाई बढी भरपर्दो र सर्वसुलभ तुल्याउन वीएन्डसी हस्पिटलले भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलसँग सहकार्य गरिने हस्पिटलका मेनेजिङ डाइरेक्टर डा. निराजन प्रसाईले बताएका छन् ।

वीएन्डसी हस्पिटल उपचार सेवा र उपचारमा प्रयोग हुने आधुनिक उपकरणका हिसावले मुलुककै सुविधासम्पन्न अस्पतालको रुपमा गणना हुने उल्लेख गर्दै मेनेजिङ डाइरेक्टर डा. प्रसाईँले उपचारलाई अझ व्यवस्थित र सर्वसुलभ तुल्याउन व्यवस्थापन पक्ष प्रतिबद्ध रहेको बताए ।

वीएन्डसी हस्पिटलले पाठेघरको मुखको क्यान्सर रोगको सफल परीक्षण गर्नका लागि हाल अत्याधुनिक उपकरण कलकोस्कोपी प्रयोगमा ल्याइरहेको समेत जनाएको छ ।
माघको तेस्रो साता हुने क्यान्सर शिविरमा हस्पिटलले लाखौँ खर्च लाग्ने अपरेशन र ओपीडी निःशुल्क गर्ने र औषधिमा समेत २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: