वीएन्डसी अब ‘विश्वस्तरीय हस्पिटल’ बन्दै

  प्रकाशित मिति
४ श्रावण २०७४, बुधबार १०:२७


bnc 9

विर्तामोड । झापाबासीलाई एउटा खुशीको खबर छ । वीएन्डसी हस्पिटलमा अब क्यान्सर रोगको ‘विश्वस्तरीय’ उपचार हुने भएको छ ।

मुलुकभित्रका क्यान्सर अस्पतालहरुको अवस्था अस्तव्यस्त हुँदै गएको र विमारीहरुले महङ्गोमा विदेशी मुलुकमा गएर उपचार गराउने बाध्यता रहेको परिस्थितिमा वीएन्डसी हस्पिटलले स्वदेशमै विश्वस्तरीय उपचार सेवा प्रदान गर्न लागेको हो ।

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले अबको केही महिनाभित्रमा वीएन्डसीमै क्यान्सरको विश्वस्तरीय उपचार सेवा सुरु हुने बताए ।

क्यान्सर उपचारका लागि चाहिने महत्वपूर्ण चार पूर्वाधारको व्यवस्था वीएन्डसीमा पूरा भइसकेको उल्लेख गर्दै कार्यकारी निर्देशक प्रसाईले निकट भविष्यमा वीएन्डसी मुलुककै सबैभन्दा सुविधासम्पन्न क्यान्सर उपचार केन्द्र बन्ने दावी गरेका छन् ।

उनका अनुसार क्यान्सर उपचारका लागि पहिलो पूर्वाधार भनेको स्तरीय प्रयोगशाला अर्थात रोगको स्टेज पत्ता लगाउने प्रविधि हो भने दोस्रो पूर्वाधार दक्ष चिकित्सक हुन् ।

bnc 10
शल्यक्रिया गर्दै डा. रोहित यादव लगायत 

वीएन्डसीको प्रयोगशालालाई विश्वप्रसिद्ध मेदान्त हस्पिटलको रिसर्च टीमले मान्यता दिइसकेको छ भने यहाँको जेनरल सर्जिकल विभागका प्रमुख डा. रोहित यादव लगायतका चिकित्सकहरु क्यान्सर रोगको शल्यक्रियाका लागि अनुभवी एवम् सफल चिकित्सक मानिएका छन् ।

भौतिक पूर्वाधार, दक्ष चिकित्सकको टीम, अत्याधुनिक प्रविधि र सुविधाले सुसज्जित भएका कारण वीएन्डसीसँग विश्वप्रसिद्ध भारतको मेदान्त हस्पिटलले समेत सहकार्यको सम्झौता गरिसकेको प्रसाई बताउँछन् ।

करीव एक वर्षमा वीएन्डसीमै १२ जना क्यान्सर रोगीको सफल शल्यक्रिया गरिसकेका डा. रोहित यादवले पूर्वाधार र प्रविधिका आधारमा मुलुककै अत्याधुनिक क्यान्सर हस्पिटलको रुपमा वीएन्डसी विकसित भइसकेको बताउँछन् ।

१.५ टेस्ला पावरको एमआरआई मेसिन भएको वीएन्डसी हस्पिटलले क्यान्सर रोगको विश्वस्तरीय उपचारकै लागि भर्खरै मात्र ३० करोड मूल्य पर्ने रेडियोथेरापी मेशिन अमेरिकाबाट खरिद गरेको जनाएको छ ।

‘रेडियोथेरापी खरिदका लागि पैसा पठाएर अर्डर गरिसकेका छौँ’, हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले भने–‘समुद्री मार्ग भएर आउँदा एक डेढ महिना लाग्ला ।’

रेडियोथेरापी मेशिन अहिलेसम्मकै अत्याधुनिक भएको र यस्तो मेसिन नेपालका कुनै पनि हस्पिटलमा नभएको प्रसाइँको दावी छ ।

उक्त मेशिनलाई अलग्गै भवनमा बङ्कर बनाएर राख्नु पर्ने र त्यसलाई प्रयोग गर्नका लागि मेदान्तमा कार्यरत अङ्कोलोजिस्ट (क्यान्सररोग विशेषज्ञ) डा. वीरेन्द्र यादव वीएन्डसीमा पूर्णकालीन सेवा प्रदान गर्न आइसकेको हस्पिटलले जनाएको छ ।

लोकतन्त्र पोस्टसँगको कुराकानीमा अङ्कोलोजिस्ट (क्यान्सररोग विशेषज्ञ) डा. वीरेन्द्र यादवले वीएन्डसी हस्पिटल क्यान्सर रोगको उपचारको भरपर्दो केन्द्रको रुपमा विकास हुने सम्भावना देखेर नै आफु मेदान्त छाडेर विर्तामोड आएको बताए ।

bnc 5
वीएन्डसी हस्पिटलको नेतृत्व गरिरहेका कार्यकारी निर्देशक दुर्गा प्रसाई ।

अङ्कोलोजिस्ट डा. यादवले भरतपुर, भक्तपुर र काठमाडौँका क्यान्सर हस्पिटलको तुलनामा वीएन्डसीमा उपलब्ध उपचार प्रविधि र सेवाको स्तर धेरै राम्रो रहेको आफुले पाएको बताए ।

वीएन्डसीको भौतिक पूर्वाधार, प्रयोगशालाको गुणस्तर, प्रविधिको प्रयोग र चिकित्सकहरुको दक्षता हेर्न हालै मेदान्त हस्पिटलको दश सदस्यीय विशेषज्ञ टोली विर्तामोड आएको खुलासा गर्दै अङ्कोलोजिस्ट डा. यादवले मेदान्तको टोलीले यहाँको गुणस्तरलाई विश्वस्तरीय भनी मान्यता प्रदान गरेको बताए ।
वीएन्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार मेदान्त र वीएन्डसी हस्पिटलविच उपचारमा सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

मेदान्तले वीएन्डसीको उपचारको स्तर हेरेपछि मात्र सहकार्यको हात बढाएको गिरी बताउँछन् । ‘विश्वप्रसिद्ध मेदान्तले आफ्नो स्तर सुहाउँदो सेवा र सुविधा नपाएको भए सहकार्य गर्ने थिएन’, मेदान्तसँगको सहकार्यले वीएन्डसीको विश्वसनीयता अब चुलिएको बताउँदै लोकतन्त्र पोस्टसँग उनी भन्छन्–‘वीएन्डसीमा हुने उपचारको गुणस्तर अब विश्वप्रसिद्ध सावित भएको छ ।’

bnc 6
प्रसिद्ध सर्जन डा. रोहित यादव र मेदान्त छाडेर आएका क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादव ।

मेदान्तका सिनियर डाइरेक्टर एवम् मुटुरोग विशेषज्ञ डा. आरआर कासेरीवालको नेतृत्वमा आएको मेदान्तको विशेषज्ञ टोलीले वीएन्डसीको सबै ल्याव, एमआरआई, शल्यक्रिया, प्राविधिक उपकरण, डाक्टरहरुको दक्षताको मसिनो गरी अनुगमन गरेको जनसम्पर्क अधिकृत गिरी बताउँछन् ।

मेदान्तको टोलीले वीएन्डसीका सर्जन डा. रोहित यादवले हालै प्याङ्क्रियाजको क्यान्सर रोगीको सफल शल्यक्रिया गरेको सन्दर्भलाई अत्यन्त ठूलो सफलता भनी प्रशंसा गरेको थियो ।

मेदान्त हस्पिटलसँगको सहकार्यमा वीएन्डसीले टेलिमेडिसिन सेवा समेत सुरु गरेको छ ।
विरामीले मेदान्तको प्रसिद्ध डाक्टरसँगै आफ्नो रोगको उपचार लिन चाहनेका लागि वीएन्डसी हस्पिटलले टेलिमेडिसिन सेवा सुरु गरेको हो ।

यस सेवा अन्तर्गत वीएन्डसीका डाक्टरले मेदान्तका कुनै पनि विशेषज्ञ डाक्टरसँग लाइभ सम्पर्क गरी विरामीको समस्या, उसका जाँच रिपोर्ट लगायतको जानकारी गराउने छन् भने प्रत्यक्ष कुराकानी र रिपोर्टलाई हेरेर मेदान्तका डाक्टरले उपचार र औषधि बारे तत्कालै पेस्क्रिप्सन लेखेर पठाउने छन् ।

bnc 7 nirajan
डा. निराजन पराजुली

टेलिमेडिसिन सेवा सुरु भएपछि मेदान्त नै धाएर उपचारमा ठूलो धनराशी खर्च गर्नु पर्ने बाध्यता हटेको छ ।

यदि मेदान्तमै जान पर्ने अवस्था आइपरेमा वीएन्डसीको रेफरमा गएका विरामीले वीएन्डसीकै दररेटमा मेदान्तमा उपचार पाउने गरी दुबै हस्पिटलविच सम्झौता भएको कार्यकारी निर्देशक प्रसाई बताउँछन् ।

मेडिकल कलेज सञ्चालनको अन्तिम तयारीमा रहेको वीएन्डसी हस्पिटलले एक पछि अर्को अत्याधुनिक उपचार सेवा र प्रविधि भित्राएर झापाको पहिचानलाई थप चहकिलो बनाउँदै लगेको छ ।
………………….

बीएन्डसीले गर्यो चमत्कार !
सुरुङ्गा । अर्जुनधारा नगरपालिका–६ पुल्चोक निवासी ६३ वर्षीया मीरादेवी बुढाथोकीको दुई वटै घुँडाको सफल प्रत्यारोपण गरिएको छ ।

bnc 4गत असारको तेस्रो साता वुढाथोकीको घुँडा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा प्रत्यारोपण गरिएको हो ।

हस्पिटलद्वारा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बुढाथोकीको घुँडा डा. निराजन पराजुलीले प्रत्यारोपण गरेको जानकारी दिए ।

बुढाथोकीले अस्पतालको उपचारप्रति आफू पूर्ण सन्तुष्ट रहेको बताउँदै भने–‘भारतको सिलगढी, पञ्जाब, काठमाडौँको ग्रान्डी अस्पताल र अस्ट्रेलियामा पनि देखाएँ, मलाई घुँडा फेर्न आँट आएको थिएन, तर बीएन्डसीमा घरकै खाना खाएर उपचार हुने भएपछि डाक्टरको सल्लाहबमोजिम घुँडा फेरेर घाउ पनि निको भइसक्यो, म अहिले अत्यन्तै खुशी छु ।’

‘अस्ट्रेलियामा बसेकी छोरीकामा जाँदा त्यहाँस्थित अस्पतालमा देखाएकी थिएँ’, उनले भनिन्–‘एउटा घुँडा फेरेको नेपाली रुपैयाँ १० लाख लाग्ने रहेछ, यहाँ त चानचुन सात लाखमा नै उपचार भयो ।’
उपचारमा संलग्न अर्थोपेडिक्स विशेषज्ञ डा. पराजुलीले प्रत्यारोपण गरिने पाङ्ग्राको गुणस्तर हेरेर मूल्य फरक पर्ने बताए ।

फेरिएको घुँडाले २० वर्षसम्म काम गर्ने डा. पराजुलीले जानकारी दिएका छन् । रासस
………….

क्यान्सरको दुर्लभ अपरेशन
विर्तामोड । मेची अञ्चलमै सुविधा र प्रविधिका दृष्टिले सबैभन्दा सम्पन्न बीएन्डसी हस्पिटलमा एक क्यान्सर रोगीको दुर्लभ र उदाहरणीय उपचार सफल भएको छ ।

bnc 8
मनमाया श्रेष्ठ

कनकाई–३ सुरुङ्गा निवासी ३८ वर्षीया मनमाया श्रेष्ठको पित्त थैली, प्याङ्क्रियाज र आन्द्रा जोडिएको ठाउँमा पेटभित्र भएको प्राणघातक क्यान्सरको सफल अपरेसन भएको हो ।

भारतमा भारु १५ लाख र नेपालका अन्य अस्पतालमा पनि नेरु १५ लाखमा मात्र सम्भव हुने सो उपचार वीएन्डसीमा २ लाख रुपैयाँमै गरिएको अपरेशनको नेतृत्व गरेका वरिष्ठ सर्जन डा. रोहित यादवले जानकारी दिए ।

डा. यादवले पूर्वमै पहिलोपटक गरिएको यो अपरेशन विश्वमै दुर्लभ र साहसिक मानिने जनाउँदै एक पत्रकार सम्मेलनमा भने–‘अलिकति पनि मिस्टेक भएमा अपरेशन गर्दागर्दै विरामीको मृत्यु हुन पनि सक्थ्यो ।’

सो अपरेसन जेठ २८ गते गरिएको र त्यसका लागि पुरै आठ घण्टा लागेको डा. यादव बताउँछन् । उनले यो अपरेशनलाई चिकित्सा क्षेत्रमा ठूलो सफलता मानिने बताए ।

अपरेशन कार्यमा विशेषज्ञ सर्जन डा. रोहित यादव, डा. बासुदेव बाँस्कोटा, डा. रविनरत्न रञ्जितकार र एनेस्थेसियोलोजिस्ट प्रा.डा. सङ्गीता भट्टचार्य, डा. राजु श्रेष्ठ, डा. निरु नेपाल, डा. सुमोल थापा लगायत संलग्न थिए ।

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अन्यत्र १५ लाख लाग्ने उपचार २ लाख रुपैयाँमै गरिनुले वीएन्डसीको उपचार महङ्गो हुन्छ भनेर कतिपयले फैल्याउँदै आएको भ्रम स्वतः गलत सिद्ध भएको बताए ।

मेची अञ्चलबासीको हित र सुविधाका लागि वीएन्डसी हस्पिटलको स्थापना भएको हुँदा यसले मनमाया श्रेष्ठ जस्ता थुपै्र विरामीलाई सहुलियतमा सर्वसुलभ उपचार गरिरहेको उनले बताए ।
हस्पिटल स्रोतका अनुसार मनमाया सुरुमा पेट दुख्ने समस्या लिएर आएकी थिइन् । ग्यास्ट्रिकको शङ्का लागेर आएकी उनलाई सीटी स्क्यान र एमआरआई गरेर हेर्दा पेटभित्र क्यान्सर फैलिसकेको पत्ता लागेको थियो ।

सामान्य परिवारकी मनमायाका पति र दुई छोरा बैदेशिक रोजगारीका लागि कतार गएको र यता घरमा उपचारका लागि रकम अभाव भएको थाहा भए पछि हस्पिटलले नै अपरेशनमा लाग्ने एन्टीवायोटिक, अपरेसनमा लाग्ने सामग्री, औषधि र अपरेसन चार्ज अति नै न्यून (२ लाख रुपैयाँ) मूल्यमा गरिदिएको कार्यकारी निर्देशक प्रसाइँ बताउँछन् ।

मनमायाको उपचार खर्चको अभावमा अपरेशन गर्न केही ढिला भएको भए उनको शरीरका अन्य भागमा पनि क्यान्सर फैलिने र ज्यान लिन सक्ने खतरा रहेको डा. यादव बताउँछन् । यही जोखिमपूर्ण अवस्था देखेर हस्पिटल प्रशासन र त्यहाँका डाक्टरहरुले अति न्यून मूल्यमा अपरेसन गर्ने निर्णय गरेको बताइएको छ ।

हाल मनमाया हिँडडुल गर्न र बाथरुम जान आफै सक्ने भइसकेकी छन् । उनी अब पूर्ण रुपमा क्यान्सरमुक्त भएको हस्पिटलले जनाएको छ ।

वीएन्डसी हस्पिटलले अत्याधुनिक प्रविधियुक्त उपकरण ल्याएको कारण क्यान्सर जस्ता जटिल रोगको अपरेसन अब यही सम्भव भएको हस्पिटलको भनाई छ ।

किड्नीको क्यान्सर, पेटको क्यान्सर र बे्रस्टको क्यान्सरका थुप्रै रोगीहरुको सफल उपचार गर्न सफलता पाइसकेको वीएन्डसी हस्पिटलले जनाएको छ । हाल यस हस्पिटलमा ७१ जना विशेषज्ञ डाक्टर चौवीसै घण्टा कार्यरत छन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा २०७४ साउन ४ गते प्रकाशित)
………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: