वैचारिक महासंकटमा काँग्रेस

  प्रकाशित मिति
२५ आश्विन २०७८, सोमबार १४:३३


।। सन्दिप ओली ।।

संघीयता, धर्म निरपेक्षता र समावेशी लोकतन्त्र नेपालको संबिधान २०७२ का प्रमुख उपलब्धि हुन् । यी उपलब्धि हासिल गर्न नेपाली काँग्रेस पार्टीको महत्वपुर्ण योगदान रहेको भए पनि यी संवैधानिक प्रबन्धलाई संस्थागत गर्न यो पार्टीको भूमिका सहायक मात्र बन्यो । संबिधान जारी भए पश्चात २०७४ मङसिर सम्मति नै तहको निर्वाचन सम्पन्न भयो । संबिधान निर्माणमा प्रमुख भूमिका निर्वाह गरेको काँग्रेसले निर्वाचन हा¥यो,  अत्यन्त न्यून संसदिय प्रतिनिधित्व प्राप्त ग¥यो । फलस्वरुप,  संविधान प्रदत्त अग्रगामी प्रावधानहरु कार्यान्वयन गर्ने मुख्य अभिभाराबाट काँग्रेस वञ्चित भयो।

खड्गप्रसाद ओली नेतृत्वको तत्कालिन नेकपा (नेकपा)  प्रचण्ड बहुमतसहित संघीय तथा प्रदेश सरकारमा सुविस्ताको सत्ताधारी बन्यो । निर्वाचनमा कांग्रेसको लज्जास्पद हारको प्रमुख कारण नेकपा एकतालाइ देखाइए पनि पार्टीका आफ्नै कमजोरी उतिकै ठूलो कारक थियो । पार्टी नेतृत्वको अकर्मण्यता,  बैचारिक स्खलन,  स्पष्ट दृष्टिकोणको अभाव र लथालिङ्ग संगठन पराजयको प्रमुख कारण मध्येको थियो । अर्को शब्दमा भनौं, कमजोर काँग्रेसले खाली गरिदिएको मैदानमा एकताबद्ध नेकपाले सहज गोल गरेको हो ।

अहिले कांग्रेस चौंधौ महाधिवेशनको प्रक्रियामा छ । विवाद भएका केही जिल्ला अन्तर्गत पर्ने वडा र नगर बाहेक प्रायः सबै वडा र नगर अधीवेशन सम्पन्न भइसकेका छन् । केही नगर अधीवेशन समापनको क्रममा छन् । महाधिवेशनमार्फत कांग्रेस हाँक्न आउने नयाँ नेतृत्व, उक्त नेतृत्वले पार्टीमा खेल्ने भूमिका,  निर्माण गर्ने बैचारिक जग र सांगठनिक चुस्तताले यो पार्टीको भविश्यतय गर्नेछ । भविष्य भन्नु केवल निर्वाचनमा हासिल हुने सफलता होइन । बरु समग्र समाजको हितका निम्ति कसरी तयार रहनेछ काँग्रेस भन्ने मुख्य सवाल हो ।

नेपाली काँग्रसका अघिल्तिर धेरै पहिलेदेखि खडा भएको मुख्य चुनौति एउटै छः मुलुकको लोकतान्त्रिक प्रणाली एवं पार्टीको आन्तरिक लोकतन्त्रप्रती प्रतीबद्ध रहँदै दलीय राजनीतिलाइ आम नागरिकको जीवन र उनिहरुले भोग्ने दैनन्दिनका समस्यासंग जोड्न सक्ने पार्टीका रुपमा कति सबल छ काँग्रेस  ? महाधिवेशन सम्पन्न गर्दैगर्दा सबैभन्दा पेचीलो यस प्रश्नले सिंगो काँग्रेस पंक्तिलाई आँफैतर्फ फर्केर सोच्न र निर्मम समिक्षा गर्न झकझक्याउनु पर्ने थियो ।

महाधिवेशन घोषणा भएदेखि हालसम्म भएका घटनाले अपेक्षाकृत सुखद संकेत गरेका छैनन् । सम्पन्न भइसकेका वडा एवं नगर अधिवेशनहरुले सर्वसम्मत वा निर्वाचनमार्फत चयन गरेका नेतृत्वमध्ये कसैको पनि प्राथमिकतामा बैचारिक स्पष्टता र सोही अनुसारको सांगठनिक तन्दुरुस्ती परेन । न नेतृत्वमा जान चहानेले वैचारिक सबलतालाई आफ्ना मुद्दा बनाए, न आम कार्यकर्ताले नेतृत्वसँग उनीहरुका एजेन्डा,  पार्टीका मुख्य वैचारिक धरातल एवं कार्यक्रमप्रति उनीहरुको इमान्दारी सम्बन्धी प्रश्न तेस्र्याए । सोझै भनौं, यस्ता कुनै विमर्श बिना र आम काँग्रेस कार्यकर्ता शुभचिन्तकको उल्लेख्य सहभागिता नभई अधिकांश वडा र नगरका अधिवेशहरु सम्पन्न भए।

भारतका प्रसिद्द चुनावबिज्ञ एवं स्वराज हिन्दका अभियन्ता योगेन्द्र यादवले उनको पुस्तक ‘मेकिङ्ग सेन्स अफ इण्डियन डेमोक्रेसीमा लोकतन्त्रको मजबुतीका निम्ति चाहिने चार मुख्य आयामहरुको चर्चा गरेका छन् । पहिलो हो, जनता । यादवका अनुसार लोकतन्त्रको यात्रामा सरिक जनता लोकतन्त्रका प्रमुख अवयव हुन् । यसमा राजनैतिक दलका नेताहरु जो नेतृत्व गर्छन र साधारण नागरिकहरु जसका लागि राजनीति गरिन्छ,  ति भन्दा महत्वपूर्ण हुन्छन् आमनागरिक । दोस्रो महत्वको विषय संस्था हो । लोकतन्त्रलाइ गतिशिलता प्रदान गर्न र नागरिकको राजनैतिक गतिविधीहरुलाइ समन्वय गर्न संस्था आवशयक हुन्छन् । तेस्रो महत्व दिनुपर्ने विषय संरचनागत ब्यवधान हो । समाजमा बिद्यमान सामाजिक तथा आर्थिक संरचनागत ब्यवधानलाइ गरिने सम्बोधनले लोकतन्त्रको निरन्तर पक्षपोषण गर्दछ । चौथो तर सबैभन्दा बढी महत्वको विषय बिचार हो ।

हाम्रो लोकतन्त्रलाई अहिले विचारहीनताले संकटग्रस्त बनाएको छ । केही समय पहिले विद्वान डा. देवेन्द्रराज पाण्डेको एक महत्वपूर्ण आलेखको शिर्षक नै  ‘लोकतन्त्रको प्राणप्रतिष्ठा’थियो । सो आलेखमा औंल्याइएको प्रमुख समस्या पनि यही विचारहीनता नै थियो । परिणाम के निस्क्यो त  ? माथि उल्लेख गरिएका तीनै आयाममा संकटहरु उत्पन्न भए । जस्तो, संस्था हेरौं । हाम्रा संस्था न समावेशी छन्,  न नागरिकमैत्री छन्,  न बलिया नै हुनसकेका छन् । प्रायः सबै

(स्वयात्त भनिएकामा समेत )  संस्थामा दलको आधिपत्य छ,  दोहन निरन्तर छ, तर व्यवस्थापन बेहाल त छ। दलीय राजनीतिको केन्द्रमा आम जनता छैनन्, न तिनका हित हुने एजेन्डा नै छन् । राजनितिबाट प्रत्यक्ष लाभको र दोहनको अपेक्षा गर्नेबाहेक अरु आम–युवाको दलीय राजनीतिमा कुनै रुचि छैन । सम्भवतः सम्मानभाव पनि छैन ।

बैचारिक रुपमा काँग्रेस कति संकटग्रस्त छ भन्ने एउटा उदाहरणबाट प्रष्ट गर्ने जमर्को गरौं । प्रदिप गिरि आम नेपालीमाझ र काँग्रेस वृत्तमा एउटा चर्चित नाम हो । काँग्रेसमा केही नेता कार्यकर्ता छ न्जो  गिरिको बैचारिक स्पष्टता र राजनैतिक निष्ठाबाट प्रभावित छन्, तर ती अल्पमतमा छन् । सँगसँगै कांग्रेसमा अर्को एउटा यस्तो तप्का पनि विद्यमान छ जो प्रदिप गिरि जस्ता विचारलाई महत्वपूर्ण मान्ने थोरै नेतालाई बेवास्ता मात्रै होइन, असम्मान नै गर्छ । यो समूह बहुमतमा छ । एक बनिबनाउ प्रश्न दोहो¥याउँछ यो तप्का,  ‘बिचारले मात्र पार्टि चल्दैन, गिरि जस्ता बौद्दिकका गफ यसो सुनेजस्तो गरिदिने हो,  यीनलाई जिम्मेवारी दिनुको अर्थ छैन, के गिरिजस्ताले कुनै मन्त्रालय चलाउन सक्छन् ?’

गिरि प्रतिनिधि नाम हुन् । काँग्रेसभित्रको बलियो पंक्तिले गरिरहने यस्ता तर्कको अन्तर्यमा विचार,  विवेक,  सिद्धान्त र बौद्धिक अभ्यासविरुद्धको दुष्मनी छ । भन्न खोजिएको के हो भने,  मन्त्रालयमा बसेर स्रोतको दोहन गर्नसक्छन् वा  सक्दैनन् गिरिहरुले ? आफ्ना आसेपासेलाई त्यो स्रोतबाट पोस्न सक्छन् वा सक्दैनन्  ? त्यही मन्त्रालयमा बसेर निस्कँदा चुनाव लड्न चाहिने करोडौं पैसा जम्मा गर्न सक्छ वा सक्दैनन्  ? मन्त्रालय चलाउनु भनेको यी नै कामहरु  ‘सफलतापूर्वक गर्नु हो भने, गिरिहरु मन्त्री नहुन नै रुचाउँछन् । तर पार्टीले भनेको लोकतन्त्र सबल बनाउन, आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउन र समग्र समाजको गरिमा उँचो राख्नका निम्ति मन्त्री वा यस्तै कुनै पदमा पुग्ने हो भने,  बुद्धि र ज्ञान,  विचार र सिद्धान्त, चिन्तन र अन्तरक्रिया नै सबैभन्दा महत्वपूर्ण विषय हुन्छन् । यी सबै आवश्यक सामलका लागि अत्यवाश्यक छ गिरि  प्रतिनिधित्व गर्ने वैचारिक अभियानको ।

प्रदिप गिरिलाई एक व्यक्ति– नेताकै रुपमा बुझ्ने हो भने पनि उनले सांसदका रुपमा निर्वाह गरेको भूमिका कम महत्वको छैन । संसदमा उनले व्यक्त गरेका विचार, लोकतन्त्र एवं असल संसदीय परम्पराका लागि गरेको पैरवि,  प्रतिपक्षमा हुँदा शालिनतापूर्वक सत्तालाई सच्चिन गरेको खबरदारीले नै आखिर काँग्रेसको उपस्थितिको आभाससम्म दिएको हो। सम्झौंत, प्रदिप गिरि र गगन थापाहरुले सूचना,  ज्ञान,  विचार र लोकतान्त्रि व्यवस्थाका आधारभूत सिद्धान्तका आधारमा संसदमा नबोलेका भए,  काँग्रेसको अस्तित्व नै कति संकटग्रस्त देखिन्थ्यो  !

समुल नेपाली काँग्रेस पार्टीले भोग्नु परेको बैचारिक संकटलाइ प्रतिनिधित्व गर्छ स्थानीय कांग्रेसले जहाँ उस्तै खडेरी देखिन्छ वैचारिकताको र सो अनुसारको संगठन निर्माणको ।

मेचिनगरका सबै वडा र नगरसमितिको अधिवेशन सम्पन्न भए र नयाँ नेतृत्व स्थापित भइसकेको छ । यस अधिवेशनको सबल पक्ष भनेको कांग्रेसी युवा कार्यकर्ताले नेतृत्व दावी गर्ने साहस प्रदर्शन गरेका छन् । वडादेखि नगर तहसम्म युवाहरुको उत्साहजनक उपस्थिति देखिन्छ । तर उमेरका दृष्टिले युवा देखिने मानिसहरुको उपस्थिति मात्रले पार्टीलाई आवश्यक परिवर्तन सुनिश्चित गनै सक्दैन । नयाँ नेतृतवमा उदाएका युवाले के आधारमा राजनीतिक र सांगठनिक काम गर्छन्  ? के का लागि उनीहरु दलीय अभ्यासमा समाहित हुन खोजेका हुन्  ? पार्टी गतिविधिका नाममा पदासिन उनीहरु खासमा आगामी चार पाँच वर्ष के गर्छन्  ?  यी प्रश्न करिब अनुत्तरित छन् ।

प्रायः कुनै पनि उम्मेद्वारसँग स्पष्ट मुद्दा,  कार्यक्रम र वैचारिक रुझान सहितको संगठन विस्तारको परिकल्पना थिएन । पार्टीको अधिवेशनमा मत माग्न युवा नेताले प्रयोग गरेका नारा, प्रचार गरेका भाषा र आफ्नो दावेदारी पुष्टि गर्न उनीहरुले व्यक्त गरेका धारणा सबैलाई एक ठाउँमा राखेर विश्लेषण गर्दा काँग्रेस फितलो र कमजोर देखिन्छ । विपि कोइराला र सिके प्रसाईहरुले निर्माण गरेको पार्टीको अवस्था यति फितलो हुनुमा माथि भनिएझैं वैचारिकता प्रति नेतृत्वले हुर्काएको उदासिनता नै हो ।

यसैबीच नेपाली काँग्रेसका प्रवक्ता र युवाहरुले प्रीय मानेका नेता बिश्वप्रकाश शर्मा एक कार्यक्रम बिच महामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्न बिर्तामोड आइपुगे ।  ‘हिजो राजनैतिक परिवर्तन,  अब राजनितिमा परिवर्तनको नारासहित २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरे । अवधारणा सार्वजनिक गर्दै उम्मेद्वारी घोषणा गर्नु सकारात्मक हो । सार्वजनिक अवधारणा हेर्दा वैचारिक र सैद्धान्तिक मुख्य प्रश्नमा प्रवेश नगरी भावनात्मक र प्रचारात्मक विषय मात्रलाई प्राथमिकत दिइएको देखिन्छ । महामन्त्री पदलाई दृष्टिगत गर्दै सारिएका अवधारणा भए पनि नेपाली समाजले भोगिरहेका बहुविध संकटलाई सम्बोधन गर्न सिंगो काँग्रेस कसरी तयार होला र त्यो तयारीमा शर्मा जस्ता नेता र महामन्त्री जस्ता पदमा आसिन नेतृत्वको भूमिका कस्तो होला भन्ने सामान्य प्रश्नको उत्तर अवधारणामा फेला पर्दैन।

पार्टी महाधिवेशन दौरान विमर्श होस् भनी सार्वजनिक गरिएको घोषणामा भन्दा ज्यादा त नेता शर्माले केही समयदेखि सञ्चालन गरेका टिभि कार्यक्रम  ‘ऐनामा बढी नेपाली समाजका संकटहरु देखिएका थिए । साथै, तिनलाई सम्बोधन गर्ने उपाय के हुनसक्छ न्भनेर केही महत्वपूर्ण प्रश्न उठेका थिए । वृद्धवृद्धा,  वालवालिका,  श्रमिक,  महिला,  दलित, मजदुरदेखि अल्पसंख्यक र बहिष्कृतका केही झलक त बरु कार्यक्रममा थिए । पार्टीका विमर्शहरुमा भने ती सबै विलुप्त छन् ।

युवा नेतृत्वले सबैभन्दा पहिला गर्नुपर्ने भनेको आफ्नै निर्मम समिक्षा हो । पार्टीले पछिल्ला केही दशकमा हिडेर आएको बाटोलाई आलोचनात्मक ढंगले अध्ययन गर्न नसक्ने हो भने संगठनलाई नयाँ दिशा दिन सकिँदैन । प्रविधि र पर्यावरण जस्ता विषयले जटिलतम बन्दै गएको समाजलाई बाटो देखाउन पार्टी असमर्थ हुन्छ । त्यसैले केही आधारभूत प्रश्नमा निरन्तर घोत्लिन जरुरी छः आखिर के का लागि नेपाली कांग्रेस रोजियो  ?  के का लागि संगठनमा आबद्ध भइयो  ? के काम गर्न र समाजलाई कस्तो बनाउन पार्टी विचारमा प्रतिबद्धता जनाइयो  ? नत्र विचारहिनताको महासंकटमा फसेको पार्टीले सिंगो समाजको हित गर्न असमर्थ हुनेछ । ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: