वैदेशिक रोजगारीमा ठगी : बिचौलियाले न पठायो, न फिर्ता गर्यो

  प्रकाशित मिति
१२ असार २०७९, आईतवार १३:३६



।।अम्बिका भण्डारी ।।

झापा, १२ असार (रासस) : भद्रपुर नगरपालिका वडा नं. ५ का पाँच युवा चिनेजानेका बिचौलियाबाटै वैदेशिक रोजगारीको बहानामा ठगिएका छन् ।

संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी भद्रपुर नगरपालिका वडा नं. ६ का ५० वर्षीय गोपाल उराउले पाँच वर्ष अघि ती युवाबाट रु. तीन लाख ५० हजार असुलेका थिए । उराउ वैदेशिक रोजगारीमा युवा खोज्ने विचौलिया हुन् ।

ठगीको शिकार हुनेहरुमा बेचन यादव (३४ वर्षीय), रोहित यादव (३३ वर्षीय), राजीव सहनी (२८ वर्षीय), मनोज मण्डल (३७ वर्षीय) र सञ्जय चौधरी (३१ वर्षीय) रहेका छन् ।

वैदेशिक रोजगारीमा पठाइदिने भनी रकम असुलेपछि विभिन्न बहानामा आलटाल गर्दै आएका पीडक उराउले गत वर्ष वडाध्यक्षको रोहवरमा रकम तिर्ने भाकासहितको कागजमा सही पनि गरेका थिए ।

पाँच वर्ष बितिसक्दा पीडित युवा नत वैदेशिक रोजगारीमा जान पाए, नत ऋण काढेर जम्मा गरेको उनीहरुको रकम फिर्ता नै भयो ।

“गाउँकै चिनेजानेको दाइ भएकाले उहाँ (गोपाल उराउ)ले भनेको पत्यायौं,” ठगीमा परेका भद्रपुर–५ का ३४ वर्षीय बेचन यादव भन्छन्–“पैसा पहिल्यै जम्मा गर्न लगाउनुभयो । भनेकै बेला ऋण काढेर भए पनि दियौं । तर अहिले विदेश पठाउने कुरै हरायो, पैसा पनि फिर्ता पाउन सकेनौं ।”

पर्ख भन्दै आलटाल गरेको तीन वर्ष बितेपछि पीडितहरुले गत वर्ष नगरपालिका गुहारेका थिए । वडाध्यक्ष बन्धु कार्कीको रोहवरमा २०७८ असार २७ गते चार महिनाको भाका राखी रकम तिर्ने कबुलनामा कागज समेत गरिएको थियो । तर, कागजमा तोकिएको भाकाभित्र पनि उराउले रकम फिर्ता गरेनन् ।

आर्थिक रुपमा विपन्न परिवारका ती पाँच युवा आफ्नो पीडा बोकेर वैदेशिक रोजगार विभाग पुगे । २०७८ मङ्सिर २८ गते विभागमा उनीहरुले रीतपूर्वक उजुरी दिएका छन् । तर, विभागले पनि अहिलेसम्म पीडितलाई न्याय दिलाउन र पीडकलाई कानूनी कार्वाहीको दायरामा ल्याउन सकेको छैन ।

“यस्तो मुद्दा वैदेशिक रोजगार विभागले हेर्छ भनेर सल्लाह पाएपछि हामी पाँचै जना मिलेर संयुक्त निवेदन दियौं,” अर्का पीडित भद्रपुर–५ का २८ वर्षीय राजीव सहनी भन्छन्–“विभागका सरहरुले व्याजसहित रु. पाँच लाख ५० हजार तिराइदिन्छौं भन्नुभएको छ ।”

पीडितहरुका अनुसार वैदेशिक रोजगार विभागले यस मुद्दामा कार्वाही प्रक्रिया अघि बढाए तापनि परिणाम भने निस्किएको छैन । विभागले पीडक उराउविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ ।

पक्राउ पूर्जी जारी भएको सुइँको पाएपछि उराउ फरार छन् । अचेल गाउँतिर उनी देखिदैनन् । पीडितहरु प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेकोमा निराश छन् ।

प्रशासनमा उजुरीको चाङ

वैदेशिक रोजगारीमा भएका ठगीका घटनामा प्रमुख जिल्ला अधिकारीसमक्ष समेत उजुरी दिन सकिने कानूनी व्यवस्था छ ।

झापामा एक वर्षमा वैदेशिक रोजगारीका ठगी सम्बन्धी ३४ वटा उजुरी दर्ता भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

उनी प्रजिअको रुपमा झापा आइसकेपछि नै २० वटा त्यस्ता उजुरी प्रशासनमा आइसकेका छन् । आपसी सहमतिमा रकम फिर्ता हुने रहेछ भने जिल्लामै छलफल चलाउने र नत्र आवश्यकता अनुसार वैदेशिक रोजगार विभागमा उजुरी पठाउने कार्य हुँदै आएको प्रजिअ रिजालले बताए ।

एक वर्षमा पाँच वटा मुद्दामा पीडितहरुको रु. २३ लाख ६० हजार फिर्ता गराएको र अरु पाँच वटा मुद्दाको रकम फिर्ता गर्ने सहमति भएको उनले जानकारी दिए । आठ वटा मुद्दालाई वैदेशिक रोजगार विभागमा पठाइएको उनको भनाई छ ।

बेरोजगारी समस्याले पिरोलिएका सर्वसाधारण युवाहरु सचेत नहुँदा वैदेशिक रोजगारीको बहानामा ठगीको शिकार बन्ने क्रम बढेको छ ।

“ठगी गर्नेलाई कानूनी कार्वाही गरेर रकम फिर्ता गराउने र पीडकलाई दण्डित गर्ने कुरा त छँदैछ,” प्रजिअ रिजाल भने–“रोजगारीमा जान लागेको व्यक्ति र उसको परिवार बेलैमा सचेत हुने हो भने ठगी हुने सम्भावना रहँदैन । पैसा बुझाउने बेलामा कागज नगरिएका धेरै घटना पाइएका छन् ।”

रोजगारीमा जाने व्यक्ति र उसको अभिभावकलाई पालिका स्तरमै परामर्श दिन हेल्प डेस्क राख्ने हो भने ठगीको समस्या न्यूनीकरण हुने प्रजिअ रिजालको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: