मेचीनगर । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि वैशाख ५ गतेसम्म थप्ने तयारी गरेको छ ।
कोरोनाका छैटौं संक्रमित फेला परेसँगै सरकार लकडाउनको अवधि बढाउने तयारीमा जुटेको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो ।
तर, संक्रमितको संख्या थपिँदै गएपछि दोश्रोपटक गरिएको लकडाउन २५ चैतमा सकिँदैछ । मुलुकका विभिन्न भागमा लकडाउनको उचित पालना नभइरहेको गुनासो समेत बढेको छ ।
बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा समेत मन्त्रीहरुबीच अनौपचारिक रुपमा लकडाउन बढाउनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार वैशाख ५ गतेसम्मका लागि लकडाउनको अवधि बढाउन समितिले मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने भएको छ । सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ ।
(काठमाडौं टुडेबाट)