काँकरभिट्टा । झापा मेचीनगर १० की ७८ वर्षीया प्रेमकुमारी ढकाल बिहान सधैं ५ बज्दा नबज्दै ब्यायाम शाला पुग्छिन् ।
५० वर्ष उमेर माथिका प्रौढ नागरिकहरुलाई लक्षित गरी काँकरभिट्टामा स्थापित ज्येष्ठ नागरिक ब्यायाम शाला सबेरै पुग्नु उनको दैनिकी नै बनको छ ।
बुढ्यौलीपनका कारण प्रेसर, ग्याष्ट्रिक, ढाड, घुँडा दुख्ने समस्याबाट पीडित ढकालले शारीरिक कसरतका लागि सत्य साई मार्गमा खुलेको ब्यायाम शाला धाउन थालेको झण्डै तीन महिनाजति भएछ ।
‘डाक्टरको औषधी पनि नखाएको होईन’ शनिबार ब्यायाममा ब्यस्त अवस्थामा भेटिएकी उनले भनिन्,‘तर,विसेक नभएपछि यो उपाय रोजें, अहिले सुधार हुँदैछ ।’
उनी मात्र होइन ५० वर्ष उमेर नाघेका प्रौढ ब्यक्तिहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर स्थानीय एक गुरुङ परिवारले सञ्चालनमा ल्याएको ब्यायाम शालामा दैनिक बिहान भेटिनेकोे सङ्ख्या बढ्दै छ ।
शारीरिक अभ्यास गर्न ब्यायामशाला जान थालेको २ महिना नाघेको बताउने ७२ वर्षे धनमाया संग्रौलाले भनिन्, ‘घुँडा दुख्ने समस्याले थलिएको निक्कै भो,अहिले सन्चो छ ।’
स्थानीय समाजसेवी मकरध्वज गुरुङको परिवारले सञ्चालनमा ल्याएको उक्त ब्यायाम शालाको उद्घाटन ४ महिनाअघि ज्येष्ठ नागरिक संघका जिल्ला सदस्य कृष्णप्रसाद उप्रेतीले गरेका हुन् ।
उमेर ढल्कने क्रमसँगै चिल्लो चाप्लो,गुलियो तथा अस्वस्थकर खानपानका रोगीहरुलाई लक्षित गरी त्यस्ता रोगबाट जोगिने उपायका रुपमा यो विधि अपनाइएको ब्यायाम शालाका संस्थापक गुरुङको भनाई छ ।
‘गुलिया, मिठा, चिल्ला पदार्थका खान्कीले रोग निम्त्याउँदैछ’, ८३ वर्षीय गुरुङले भने,‘त्यसमा पनि श्रम गर्ने बानी नहुंदा समस्या झन् थपिंदैछ’ ।
अठोट नेपाल नामक गैह्र सरकारी संस्थाका उपाध्यक्ष समेत रहेका उनका छोरा नगेन्द्र गुरुङले बेलायतमा रहँदा ज्येष्ठ नागरिकहरुलाई त्यहाँको सरकारले ब्यायामका सामग्री निशुल्क उपलब्ध गराएको देखेका थिए ।
त्यसपछि घर आएका बखत नगेन्द्रले स्थानीय स्तरमा पनि ब्यायामशालाको आवश्यकता महसुस गरी करिब ७ लाख रुपैयाँ मूल्य बराबरका कसरतका विभिन्न खेल सामग्री ब्यायाम शालालाई प्रदान गरेका हुन् ।
करिब ४ महिनाअघि खुलेको ब्यायाम शालामा हाल विशेष गरी घाँटी, हात, खुट्टा, औंला, ढाड, कम्मर, दम, प्रेसरलगायत रोगका २५ देखि ८३ वर्ष उमेर समूहका विरामीहरु दैनिक योगा गर्न आउने गरेका छन् ।
‘धेरैलाई त यो खुलेको थाहा नै छैन्’,ज्येष्ठ नागरिक समिति मेचीनगरका सचिव समेत रहेका ६९ वर्षीय नरेन्द्रप्रकाश सिटौलाले भने, ‘तर, पनि अहिले महिला पुरुष गरी झण्डै ४० जना हुन्छन् ।’
त्यहाँ शारीरिक कसरतका लागि जुनसुकै ठाउँका कम्तीमा ५० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रवेश निशुल्क भनिएको छ तर, पनि हालसम्म १० नम्बर वडाका मात्र ज्येष्ठ नागरिक आउने गरेका ब्यायाममा ब्यस्त ६३ वर्षीय नारायणप्रसाद प्रसाईले बताए ।
त्यहाँस्थित सेपाक ताक्रो महिला प्रशिक्षण केन्द्रमा सहभागी प्रौढ महिलाहरुलाई लक्षित गरी उक्त खेलको कोर्ट समेत निर्माण गरिएको छ ।
उनीहरुलाई सेपाक ताक्रो संघका प्रशिक्षक अर्जुन लम्सालले साताको दुई दिन प्रशिक्षण दिंदै आएका बताइएको छ ।