इरोम शर्मिलाको चट्टानी अडान

  प्रकाशित मिति
२९ श्रावण २०७३, शनिबार ०९:५४


Ashok Adhikari
अशोक अधिकारी

भारतको मणिपुर राज्यकी मानवअधिकारकर्मी इरोम चानू शर्मिलाले आम्र्ड फोर्सेस् स्पेशल पावर एक्ट एएसएफपीए अर्थात सशस्त्र सुरक्षा बल अधिनियम खारेजीको माग गर्दै सुरु गरेको भोकहड्ताल अन्ततः १६ वर्षपछि तोडेकी छिन् । विश्वकै सबैभन्दा लामो भोकहड्ताल तोड्दै गर्दा इरोम शर्मिलाले मणिपुरको मुख्यमन्त्री बनेरै भएपनि राज्यमा लागू गरिएको अधिनियम खारेज गर्ने उद्घोष गरेकी छिन् । १६ वर्षदेखिको भोकहड्तालसँगै शुरु भएको उनको तपस्या अब अर्को चरणमा प्रवेश गरेको छ ।

सन् २००० को नोभेम्बर महिना । मणिपुरको राजधानी इम्फालनजिकैको तुलिहाल विमानस्थलमा आसाम राइफलमा कार्यरत सैनिक जवानले १० जना निहत्था सर्वसाधारणको गोली ठोकेर हत्या गरे । इरोम शर्मिला त्यो घटनाको प्रत्यक्षदर्शी थिइन् । आसाम राइफलका जवानको त्यो नरसंहारले विक्षिप्त बनेकी इरोम शर्मिला सशस्त्र सुरक्षा बल अधिनियम खारेजीको माग राखेर सन् २००० को नोभेम्बर २ तारिखबाट भोकहड्ताल शुरु गरेकी हुन् । र, सन् २०१६ को अगष्ट ९ तारिख मङ्गलबारका दिन इरोम चानु शर्मिलाले मह खाएर अनसन तोडेकी हुन् । यससँगै फेरि एक पटक नै इरोम शर्मिलाले विश्वलाई नै आश्चर्य चकित बनाएकी छिन् । अबको उनको रणनीति के हुन्छ ? १६ वर्षसम्मको भोकहड्ताल र अस्पतालकै कोठामा बनाइएको जेलमा बसेर गरेको तप्बाट प्राप्त शक्तिलाई इरोम चानु शर्मिलाले कसरी प्रयोग गर्छिन्, उनको अबको बाटो त्यही आधारमा तय हुने छ ।

मगङ्लबार अनसन तोडेपछि इरोम शर्मिलाले भनिन् – ‘अबको मेरो बाटो राजनीति हो । म राजनीतिमा आउन चाहन्छु । राजनीतिमार्फत वास्तविक आइरन लेडीको पहिचान बनाउन चाहन्छु । म मणिपुरकी मुख्यमन्त्री बन्न चाहन्छु ।’ इरोम शर्मिलाले राजनीतिमार्फत चुनाव नै जितेर मणिपुर राज्यको मुख्यमन्त्री बन्ने र सुरक्षा बललाई दिइएको विशेषाधिकार खारेज गर्ने उद्घोष गरेकी छिन् । इरोम शर्मिलामा आत्मबल भरिएको छ । उनमा आव्रmोश ज्वाला छ । आफ्नै आफन्त र आफू जस्तै सर्वसाधारण आँखै अगाडि गोली ठोकेर मारिएको पीडा छ । उनीहरु मारिँदा निस्किएका आवाज र व्रmन्दन अझै मथिङ्गनमा घुमिरहेको छ । तिनका टुहुरा छोराछोरी, विधुवा श्रीमती र छोराछोरीको शोकमा मलिन अनुहार लगाएर बसेका आमाबुबाको झझल्कोले अझै पिरोल्दो हो । त्यसैले इरोम शर्मिला आज कठोर सङ्कल्पका साथ राजनीतिमा अघि बढ्ने उद्घोष गर्दैछिन् ।

sharmilaइरोम शर्मिलासँग त्यति बेला पनि केही थिएन, जति बेला उनले भोकहड्ताल शुरु गरेकी थिइन् । अहिले पनि उनीसँग केही छैन । छ त केबल डेढ दशकभन्दा लामो समयसम्म गरेको भोकहड्तालबाट प्राप्त नैतिक बल र मणिपुरबासीको समर्थन, जसका लागि उनी १६ वर्षसम्म ज्यानकै बाजी लगाएर भोकहड्तालमा बसिन् । तिनै शान्तिका पक्षधर मणिपुरे नागरिक इरोम शर्मिलाका साथमा छन्, उनीहरु इरोम शर्मिलालाई आफ्नो आवाज मान्छन् । आफ्नो आइडल मान्छन् । यो नै उनको सम्पत्ति हो । यतिसम्म कि मणिपुरका नागरिक शान्तिका पक्षमा, अनि इरोम शर्मिलाका पक्षमा चट्टानी पहाडकै रुपमा उभिएका छन् । इरोम शर्मिला पनि तिनै मणिपुरे नागरिकलाई कुनै किसिमको बन्दुकको त्रासबाट मुक्ति दिलाउन जीवनको सबैभन्दा महत्वपूर्ण १६ वर्ष भोकहड्तालमै त्यागेकी छिन् ।

सन् २०१२ को अन्त्यतिर भारतीय नेपाली टेलिभिजन च्यानल नेपाल वानमा यो स्पम्भकारलाई विश्व समाचारपछि सुपर न्यूजको जिम्मेवारी आयो । अहिले पनि भारतका उत्तर–पूर्वी ८ राज्यका घटनाक्रमलाई मात्रै समेटेर सुपर न्यूज बजाइन्छ । तर, त्यति बेला मणिपुरका रिपोर्ट थिए – बोरम थोक्सम । प्रायः पौने ७ मा सुपर न्यूज शुरु हुनुभन्दा केही मिनेट मात्रै अघि फोन गरेर भन्थे – ‘इरोम शर्मिला फेरि पव्रmाउ परिन्, ब्रेकिङ न्यूज चलाउनु होला । इरोम शर्मिलामाथिको ज्यादति हामीमाथिको ज्यादती हो । हाम्रो आवाज केन्द्र सरकारले सुनोस् ।’ तत्ःक्षण अरु समाचार छोडेर इरोम शर्मिलाको खबरतर्फ लाग्नु पथ्र्यो । समाचार वा ब्रेकिङ न्यूजका लागिभन्दा पनि त्यहाँका नागरिकको भावनालाई सम्बोधन गर्न भए पनि । त्यसैले मणिपुरबासीको इरोम शर्मिलालाई साथ र समर्थन पक्कै दिने छन् ।

sharmila 1इरोम शर्मिला ५ हजार ७ सय ५७ दिनदेखि भोक हड्ताल बसिन् । उनलको जीवन रक्षाका लागि सरकारले नाकमा एउटा नली जोडेर तरल पदार्थ खुवाउने गरेका थियो । इरोम शर्मिलामाथि अनसनकै बेला आत्महत्या गर्न खोजेको आरोप लगाइयो । ४४ वर्षीया इरोम शर्मिलालाई सरकारले न्यायिक हिरासतमा पटक–पटक राख्यो ।

इरोम शर्मिला भोकहड्तालले कमजोर भएकी छिन् । आत्मविश्वास जस्ताको तस्तै छ । सुरक्षा बल विशेष अधिनियममा सुरक्षाकर्मीलाई वारेन्ट गिरफ्तार गर्ने, खोजतलास गर्ने र व्यक्तिगत सम्पत्ति पनि नियन्त्रण वा नष्ट गर्ने तथा शंकाकै भरमा गोली हान्न अधिकार छ । भारतको मणिपुर राज्यमा सन् १९८० देखि अधिनियम लागू गरिएको छ । अरु राज्यमा पनि यो अधिनियम लागू गरिएको छ । इरोम शर्मिलाले भोकहड्ताल थालेको केही समयपछि नै प्यानल कोड सेक्सन ३०९ का आधारमा आत्महत्या प्रयास मुद्धा लगाइएको थियो । उनी गिरफ्तारमा परिन् । जेलमै कयौँ दिन बिताउनु पर्यो । धरौटीमा छोडिएपनि उनले अनशन तोड्न अस्वीकार गरिन् । नयाँ दिल्लीको जन्तरमन्तरमा पनि अनशन बसिन् । सन् २००७ मा मणिपुरमा फर्किएपछि उनलाई गिरफ्तार गरियो । सन् २००७ कै अप्रिलमा १ लाख २५ हजार अमेरिकी डलर पुरस्कार राशीको जिवाङ्जु प्राइज फर ह्युमन राइट्सबाट उनलाई सम्मान गरियो । इरोम शर्मिलाले पुरस्कारको रकम मणिपुरमा मानवअधिकार उल्लंघनकर्ताबाट शिकार भएकाहरूलाई चन्दा दिएको पत्रकार थोक्सम बताउँछन् । सन् २०१० मा रवीन्द्रनाथ ठाकुर शान्ति पुरस्कार र एशियाली मानव अधिकार आयोग पुरस्कार पाइन् । एम्नेस्टी इन्टरनेशनलले उनलाई सन् २०१३ मा ‘विवेकको कैदी’को उपमा दिएको छ । उनी कबिता पनि लेख्छिन् । उनका कबितामा बन्दुकको दमनको विरोध हुन्छ । शान्ति र अमनचयनयुक्त समाजको तस्वीर हुन्छ । उनी लेख्छिन् –

जब सकिएला जीवन
कृपया मेरो जीऊलाई बोकेर
राखिदिनू तिमीले
बाबु कोउबु्रको माटोमाथि

आगोका ज्वालामा झोसेर
मेरो देहलाई खत्तम गर्न
बञ्चरोले चिरा–चिरा चिरेको सोचेर
मेरो मन भरिन्छ घृणाले

बाहिरी आवरण त आफै सुक्ला नि
बरू यो देह कुहियोस् माटोभित्रै
बरू आउने पुस्ताको निम्ति यो केही काम लागोस्
बरू फेरियोस् खनिज पदार्थमा यो

फैलाउनेछु म शान्तिको बासना
मेरो जन्मभूमि काङ्लेइबाट
आउने दिनहरूमा
जसले ढाक्नेछ संसारै ।

sharmila 3प्राध्यापक डाक्टर गोविन्द केसीले भर्खरै अनसन तोड्दै भनेका थिए – ‘अहिलेसम्म नखाई आन्दोलन गरे । अब खाएर आन्दोलन गर्छु ।’ प्रा.डा. केसीको यो चेतावनी हजारौँ शब्दभन्दा बढी छ । भ्रष्ट सत्ताधारीहरुका लागि यो एउटा ठूलो विनासको सङ्केत हो । इरोम शर्मिलाको भोकहड्तालको अन्त्य गर्ने निर्णयले पनि शान्तियात्रालाई र शान्तिपूर्ण मणिपुर निर्माण गर्न उज्यालो आभाको काम गरेको छ । सन् १९७२ मा जन्मिएकी इरोम शर्मिलाको अबको यात्रा कठिन भएपनि उनको लक्ष्य असम्भव छैन । जुन उर्जा र एजेण्डाका साथ उनी अघि बढ्दैछिन् । अवश्य पनि उनी सफल हुन्छिन् । कानुनी प्रव्रिmया अनुरुप इरोम शर्मिलालाई १५ दिनमा एक पटक अदालत लगिन्थ्यो । उनले पछिल्लो पेशीमा सशस्त्र सुरक्षा बल अधिनियम विरुद्धको लडाईमा विजयी हुन फरक बाटो अपनाउने घोषणा गरिन् । र, प्रव्रिmया फरक भएपनि इरोम शर्मिलाका संघर्ष पाइला निरन्तर अघि बढिरहने छन् । शान्तिका लागि इरोम शर्मिलाले लिएको चट्टानी अडान प्रेरक छ । आगामी आन्दोलन सफल होस्, इरोम शर्मिलालाई शुभकामना ।

(२०७३ साउन २९ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: