‘शहिद पार्क’ बाह्र वर्षदेखि घोषणामै सीमित

  प्रकाशित मिति
११ चैत्र २०७५, सोमबार १०:५१


  भद्रपुर । झापा सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’लाई जनान्दोलनका बेला नाम फेरेर ‘शहिद पार्क’ घोषणा भएको बाह्र वर्ष बिते पनि उचित व्यवस्थापनको अभावमा नयाँ नामाकरण सार्थक बन्न सकेको छैन ।

भद्रपुर नगरपालिका वडा नं. ८ चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको पूर्व, मेची रङ्गशालाको उत्तर, जिल्ला प्रहरी कार्यालयको पश्चिम र जिल्ला अदालतको दक्षिण मोहोडामा एक विगाहा दुई कठ्ठा दश धुर जग्गामा फैलिएको महेन्द्र पार्क वि.सं. २०४६ साल अघिसम्म झापाकै सबैभन्दा बढी पर्यटक आकर्षण गर्ने पार्कको रुपमा चिनिन्थ्यो ।

तर, २०४६ सालको जनान्दोलन सफल भए पश्चात राजाको नाममा रहेको कारण जनाउँदै यो पार्कलाई बन्द गरियो । प्रवेशद्वारमा लगाइएको ताला बर्षौसम्म खुलेन । रङरोगन उड्यो, कलाकृतिहरु बेस्याहार भए र फुलहरुको बगैचा मालीविहीन भयो ।

खुलाउने कि नखुलाउने द्विविधाकै विचमा २०६२ सालको दोस्रो जनान्दोलनमा पार्क भौतिक रुपमै राजनीतिक द्वन्द्वको निसाना बन्यो । आन्दोलनकारीहरुले पार्कको मध्यभागमा ठडिएको राजा महेन्द्रको मूर्ति तोडफोड गरे । मूर्ति मात्र होइन, त्यहाँ राखिएका सबै शिलालेख भत्काइए ।

२०४६ सालमा पञ्चायतको अन्त्य भए पछि यो पार्कलाई शहिद पार्क बनाउनु पर्ने आवाज उठेको थियो । त्यसबेला झापाका शहिद राम थापाको शालिक राखेर सहिद पार्क बनाइने विषयमा चर्चा चलेको थियो । तर नामाकरण गर्नेतर्फ कसैले कदम चालेन भने पार्कको ताला समेत कसैले खोलेन ।

वि.सं. २०६२÷०६३ को जनान्दोलन क्रममा झापाबाट सुरज विश्वास र राजन गिरीले शहादत प्राप्त गरेका थिए । उहाँहरुकै शालिक राखेर शहिद पार्क नामाकरण गरिनु पर्ने फेरि आवाज उठ्यो ।

वि.सं. २०६३ सालमा संयुक्त जनान्दोलन समिति झापाले शहिद पार्क नामाकरण गरी विश्वास र गिरीको शालिक राख्ने सहमति गरेको थियो ।
तर १२ वर्ष बितिसक्दा पार्कले नयाँ नाम पाउन सकेको छैन । पार्कको प्रवेशद्वारमा कुनै नाम छैन । महेन्द्रको मूर्ति र शिलालेखका सबै अक्षर नष्ट गरिएकाले अब यो महेन्द्र पार्क जस्तो पनि रहेन भने शहिदको स्मृति जनाउने कुनै निसानी नराखिएका कारण शहिद पार्क जस्तो पनि छैन ।

पार्कमा के के छन् ः

वि.सं. २०२८ सालमा महेन्द्र पार्कको निर्माण भएको थियो । तत्कालीन अञ्चलाधीश छिरिङ तेञ्जिङ लामाको पहलमा सदरमुकामको केन्द्र भागमा पार्क निर्माण भएको थियो ।

विच भागमा करीव ३० फिट अग्लो कलात्मक स्मारक बनाएर सबैभन्दा माथि पूर्ण कदको महेन्द्र राजाको मूर्ति राखिएको थियो ।
दक्षिणतर्फ विभिन्न कलाकृति अङ्कित गरेर मूल प्रवेशद्वार बनाइएको थियो । मूलढोकाको व्यानर भागमा ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने राजा महेन्द्रको भनाई ठूलो अक्षरमा राखिएको छ ।

चारै दिशामा ढोका रहे पनि उत्तरतर्फ पार्कसँगै जोडेर सानो भवन छ । जसलाई भण्डार कोठाको रुपमा प्रयोग गरिदै आएको छ । पूर्वतर्फ जिल्ला प्रहरी कार्यालय पर्ने भएकाले त्यहाँबाट सर्वसाधारणले आउजाउ गर्न पाउँदैनन् ।

पार्कको मुख्य स्तम्भमा रहेको महेन्द्रको शालिक भत्काइएपछि अहिले भग्नावशेष मात्र बाँकी छ । भग्नावशेषको फेदीमा सिंह, हात्ती, घोडा, माछा, मयुर आदिको कलात्मक मूर्ति कुँदिएको छ ।

पार्कमा ५० भन्दा बढी प्रजातिका फुल ढकमक्क फुलेका छन् । जसमा दुर्लभ मानिने क्यामेलिया र डल्ले सल्लोको बोन्साई पनि रहेको छ । अनेकौं रङ्गीविरङ्गी फुलका कारण पार्कले पर्यटकलाई मोहित बनाउने गर्दछ ।

बीच भागको स्तम्भलाई जोड्ने गरी चारैतिर पानीको फोहोरा बनाउन सकिने पक्की नालीको पूर्वाधार समेत पार्कभित्र रहेको छ । तर यहाँ २०४६ सालयता पानीको फोहोरा सञ्चालनमा ल्याइएको छैन ।

नगरपालिकाको झिनो पहल ः
पार्क सञ्चालनको जिम्मेवारी पाएको भद्रपुर नगरपालिकाले नयाँ नामाकरण र जीर्णोद्धार गर्ने विषयमा नयाँ सोच बनाइरहेको जनाएको छ ।
भद्रपुर नगरका प्रमुख जीवनकुमार श्रेष्ठले झापाकै सबैभन्दा पुरानो पार्क भएको हुँदा यसलाई नयाँ ढङ्गले जिर्णोद्धार गरी सञ्चालनमा ल्याउन योजना अघि सारिएको बताए ।

फुलको बगैंचा हुर्काउन, हेरचाह गर्न र वाल उद्यानको रुपमा विकसित गर्न नगरपालिकाले डेढ वर्षमा रु. १० लाख बजेट खर्च गरेको श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले अमृत थापा र मोहनप्रसाद तिवारीलाई मालीको रुपमा मासिक पारिश्रमिक दिएर पार्कको हेरचाहमा खटाएको छ । नयाँ माली खटिए पछि पार्कमा फुलको बगैंचा र सरसफाईको अवस्था सुध्रिएको छ ।

पाँच बर्ष मलेशियामा फुलवारी हेरचाहमा काम गरेका थापा नगरपालिकाले पर्याप्त स्रोत र साधन उपलब्ध गराए पार्कलाई नमुनाको रुपमा आकर्षक बनाउन समय नलाग्ने बताउँछन् ।

दैनिक औसत डेढ सय अवलोकनकर्ता पार्क घुम्न आउने गरेको र शनिवार यो सङ्ख्या बढेर हजार नाघ्ने गरेको पार्कका माली थापा बताउँछन् ।
हरेक विहान ६ः३० बजे खुल्ने यो पार्क १० बजे बन्द हुन्छ र दिउँसो २ बजे फेरि खुलेर साँझ ७ः३० बजे मात्र बन्द हुने गरेको छ । विहान र साँझमा धेरै मानिसहरु घुम्न आउने गरेको उनी बताउँछन् ।

किन बन्न सकेन शहिद पार्क ः
२०६२ सालमा गठित संयुक्त जनान्दोलन संयोजन समिति झापाका सदस्य एवम् तत्कालीन नेकपा एमालेका अध्यक्ष रविन कोइरालाका अनुसार पार्कको नयाँ नाम ‘शहिद पार्क’ राख्ने निर्णय भएको बताउँछन् ।

‘त्यसबेला बैठकमा माइन्युट समेत भएको थियो’, कोइराला भन्छन्, ‘समितिका धेरै पार्टीका प्रतिनिधि थियौं, पछि सबै आआफ्नो सङ्गठनको काममा अलमलिएर पार्कको विषय ओझेलमा पर्यो ।’

तर संयुक्त जनान्दोलन संयोजन समितिका संयोजक एवम् तत्कालीन नेपाली काङ्ग्रेसका जिल्ला सभापति सुधिर शिवाकोटी पार्कमा धेरै विवाद गर्नुभन्दा ज्येष्ठ नागरिक र वालवालिकाका लागि रमणीय पार्कको रुपमा यसलाई विकसित गरिनु पर्ने धारणा व्यक्त व्यक्त गरे ।

जनान्दोलन समितिको निर्णयले पार्क तोडफोड नगरिएको र त्यसबेला माओबादीहरुले तोडफोड गरेको उनको भनाई थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन महेन्द्र पार्क राष्ट्रिय धरोहर भएको र त्यसको स्वामित्व भद्रपुर नगरपालिकासँग भएको हुँदा उसैले संरक्षणर पूर्वाधार निर्माणको जिम्मा लिनु पर्ने बताउँछन् ।

‘नगरपालिकाले के गरौं भनेर कहिले सोधेको छैन’, सांसद् लिङ्देन भन्छन्, ‘व्यवस्थापन गर्न सहयोग चाहियो भनेर नगरपालिकाले भनोस्, हामी केन्द्रबाट बजेट जुटाएर संरक्षणमा सहयोग गराउँछौं ।’

शहिदको शालिक राख्नु पर्ने सुझाव ः
संविधानसभाका सदस्य रविन कोइरालाले महेन्द्र पार्कलाई शहिद पार्कको रुपमा रुपान्तरण गर्न र राजाको भत्काइएको शालिकलाई प्रतिष्थापन गरी शहिदको शालिक राख्नु पर्ने सुझाव दिएका छन् ।

‘जनान्दोन संयोजन समितिले १२ वर्ष अघि नै निर्णय गरिसकेको विषय हो यो’, उनी भन्छन्, ‘निर्णय कार्यान्वयन नहुँदा अहिलेसम्म अन्योल भइरहेको छ, सबै झापालीको यही नै चाहना देखिन्छ ।’

भद्रपुर क्षेत्रबाटै १ नं. प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित ओम सरावगीले पनि पार्कमा जनान्दोलनका शहिद सुरज विश्वास र राजन गिरीको शालिक राख्नु पर्ने धारणा राखेका छन् ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले सबैको भावनालाई समेटेर नगरपालिकाले छिट्टै नमूना पार्क बनाउन औपचारिकता दिने र त्यसका लागि कानूनी आधारहरु तयार पारिरहेको बताइन् ।

‘पार्क सञ्चालन कार्यविधि बनाइरहेका छौं’, उपप्रमुख श्रेष्ठले भनिन्, ‘पार्कमा जनताले फ्यालिसकेको पुरानै राजाको मूर्ति राख्न अब उचित हुँदैन, नगरपालिकाले परिवर्तनको अनुभूति हुने गरी पार्कको संरक्षण गर्नेछ ।’ उनले शहिदको स्मृति बनाउने नबनाउने बारे बर्तमान अवस्थामा छलफल नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: