शानदार, जबरदस्त, जिन्दाबाद

  प्रकाशित मिति
९ मंसिर २०७२, बुधबार १२:१८


10559675_821921541175614_28124346326549277_n

जीवनको अर्काे नाम सङ्घर्ष हो । मानिस बाँचुन्जेल सङ्घर्ष गर्छ । आफ्नो अस्तित्वको लागि, परिवारको लागि, समाजको लागि अनि राष्ट्रको निम्ति हरेक मान्छेले आआफ्नो स्थानबाट सङ्घर्षपूर्ण जीवन व्यतित गर्दछ । यो सङ्घर्षको गाथा अझ बढी दलित, पिछडिएका अनि निमुखा जनतामा धेरै मात्रामा लागु हुने गर्छ ।

बाहुबली, बजरङ्गी भाइजान अनि दृष्यम जस्ता ठुला फिल्मबिचमा रिलिजको तयारीमा रहेको ‘माझी द माउन्टेन मेन’ले यस्तै सङ्घर्षको गाथा गाउँछ । फरक यति मात्र हो कि न त यसका बाहुबलीको झै दिव्य शक्ति छन् न त बजरङ्गी भाइजान जस्तो कमलो हृदय जसले मध्यम वर्गीयको आँसुसँगै पैसा पनि झार्न सकोस् । यस कथामा रुनु बेकार छ । किनकि काँतरहरू रुन्छन्, आँसुले कमजोर बनाउँछ तर साहसी सङ्घर्ष गर्छ ।
केतन मेहता आफैँमा इतिहास बोकेका निर्देशक हुन् । ‘मिर्च मसाला’देखि लिएर ‘रङ रसिया’सम्मका फिल्ममा आफ्नो क्लासिक छाप छोड्न सफल निर्देशक मेहताले ‘माझी द माउन्टेन मेन’मा एउटा दलितको साहसिक यात्राको वर्णन गरेका छन् ।

भारत सन् १९४७ मा स्वतन्त्र भयो । माझीले स्वतन्त्रताको १३ वर्षपछि सन् ६० को दशकको बिहार राज्यको धन्वाक गाउँको कथा बोकेको छ । जहाँ स्वतन्त्र भारतको झल्को पाइँदैन । एउटा निर्जीव पहाड गाउँ र विकासबिच उभिएको छ । जुन पहाडले गाउँमा विकासको विम्ब रोकेको छ । जहाँ अशिक्षा छ, रुढीवादी छ, जहाँ दलितलाई जनावरभन्दा तल्लो दर्जामा राखिन्छ । बरु जनावरले छुँदा खासै फरक नपर्ने गाउँमा मुखिया (तिङ्मान्सु धुलिया)ले तल्लो दर्जाको दलितलाई जुत्ता लगाउँदा अनि उपल्लो जातलाई छुँदासमेत खुट्टामा किला ठोक्छ । उचनिचबिचको यो चरम भेदभावले मुसहर जातिका दशरथ माझी (नवाजुद्दिन सिद्दकी)लाई खासै प्रभाव पारेको छैन । बाबुले खाएको ऋण तिर्न आफू बँधुवा मजदुर बस्न अस्वीकार गरी सानै उमेरमा ऊ गाउँ छोडेर भाग्छ । धेरै समयपछि गाउँ फर्किँदा उसले गाउँमा रत्तिभर पनि परिवर्तन पाउँदैन ।
कथा अघि बढ्दै जान्छ । सानै उमेरमा बिहे भएकी श्रीमती (राधिका आप्टे)लाई माया गरेर घर फर्काउँछ अनि जतिसुकै गरिबी, उत्पीडन अनि शोषणका बाबजुद पनि ऊ गाउँमा रक्सीमा मात्तिएको बाबु र आफूलाई धेरै माया गर्ने श्रीमतीसँग खुसी नै छ ।

तर जब उसकी श्रीमतीको दोस्रो सन्तान जन्माउने अवस्थामा पहाडबाट खसेर मृृत्यु हुन्छ, तब उसमा नयाँ अभियानको सिर्जना सिर्जित हुन्छ । उसको परिवार गुमाउनुमा उसले पहाडलाई दोषी देख्छ । अनि पहाड फुटाउने अभियानमा ऊ जुट्न थाल्छ । विशालकाय पहाडलाई ऊ सराप्छ अनि युद्धको निम्ति आह्वान गर्छ । हम्मर लिएर एक एक ढुङ्गा फुटाउँछ पहाडलाई मित्र अनि शत्रु दुवै बनाउँछ ।

11866358_1679297965626144_2256286394736597063_n

कर्म नै जीवन हो । जीवन भोगाइका व्रmममा गुनासा अनेकौँ होलान् तर मानिसले कर्मलाई आत्मसात् गरी कठोर सङ्घर्षका साथ कर्म गरे उसले गुनासाहरूका सहारा लिनु पर्दैन । यही कथा माझीले बताउँछ । माझीले न त शोषक मुखियाको गुनासो गर्छ न त सरकारको । बरु मुखियालाई माओवादीले मारेको दृश्यमा ऊ दुःखी हुन्छ सरकारलाई माइबाप सम्झन्छ । दलित भएकोमा ऊ आन्दोलित हुँदैन । न त कुनै माग राख्दछ, ऊ केवल सङ्घर्ष गर्छ । उसको खुसीको सीमा नाघेपछि ऊ भन्छ, ‘शानदार, जबरदस्त, जिन्दाबाद ।’ उसको अभियान अनि उसको सङ्घर्षमा ऊ सहारा खोज्दैन । सारा गाउँ अनिकाल लागेर पानीको हाहाकारमा गाउँ छोडेर जाँदा ऊ एक्लै पहाडसँग युद्ध गर्छ । दलित भएकोमा कुटाई खाँदा ऊ विरोध गर्दैन, न त सडकमा चक्काजाम गर्छ । आफू चाहिँ सिन्को नभाँच्ने अनि उत्पीडनका सिकारीको नाममा अधिकारको खोव्रmा आन्दोलन चर्काउनेलाई राम्रो झापड हान्छ माझी । ऊ केवल सङ्घर्ष गर्छ, त्यो पहाडसँग जसले गाउँको विकासलाई सहरसँग जोड्न बाधा पु¥याएको छ । त्यो पहाडसँग जसले अडिग भएर गाउँलाई राक्षसको व्यवहार गरेको छ । स्वतन्त्रतापछिको भारतलाई विकास अनि समृद्धिले आत्मसात गर्दा पहाडले खल नायकको भूमिका निभाएको छ ।

पहाडको त्यो खलनायिकीलाई माझी तोड्न चाहन्छ अनि गाउँमा सरकारको पहुँच पु¥याउन चाहन्छ विकसित अनि समृद्ध गराउन चाहन्छ ।
सर्पले खुट्टाको बुढी औँलामा डस्दा बुढी औँलालाई आफैँ हम्मरले हानेर चुडाउँछ । पानीको अभावमा सुख्खा इनारभित्र पसेर घाँस खान्छ अनि इनारभित्र रात बिताउँछ । १३ सय किलोमिटर हिँडेर एक्लै दिल्ली पुग्छ । जतिसुकै सङ्घर्षको बेला पनि आफ्नी प्राणप्यारी श्रीमतीलाई सम्झन्छ अनि जुरुक्क उठ्छ, सङ्घर्ष गर्छ । माझी प्रेरणादायी पनि छ जसले एउटा सङ्घर्षरत पत्रकारलाई आफँै पत्रिका प्रकाशित गर्ने प्रेरणा दिन्छ । माझी प्रेममा विश्वास गर्छ अनि त्यो प्रेमले दिने ऊर्जामा आफ्नो सङ्घर्ष मिसाउँछ । ऊ भन्छ, ‘प्रेममा ठुलो बल हुन्छ ।’ माझी भाग्यमा विश्वास गर्दैन । भगवानको भरोसामा बस्नेहरूलाई ऊ याद दिलाउँछ के थाह, भगवान पो तेरो भरोसामा बसेको छ कि ?

नवाजुद्दिन सिद्दिकीले पुनः एक पटक आफ्नो खुबी देखाएका छन् । उनको करियरकै उत्कृष्ट र सफलतम अभिनय माझीमा देख्न पाइन्छ । राधिका आप्टेले भूमिका अनूरुप कुशलतापूर्वक निर्वाह गरेकी छन् । तिक्मांशु धुलियाले मुखियाको गज्जबताका साथ अभिमान देखाउन सफल भएका छन् । यसबाहेक साना चरित्रहरूको अभिनय लोभलाग्दो छ ।

ठुला बजेटका फिल्मबिच आएको माझीले निश्चित दर्शक दीर्घाको मन जित्न सफल हुनेमा कुनै शङ्का नहोला । सानो बजेट, अकल्पनीय अभिनय अनि समय सान्दर्भिक परिवेशका साथमा उत्कृट कला प्रस्तुतिकरण नै ‘माझी द माउन्टेन मेन’को विशेषता हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: