शासकको अग्नीपरीक्षा र कोरोना कहर

  प्रकाशित मिति
२३ चैत्र २०७६, आईतवार १०:३५


सतहमा भ्रष्टाचारका घृणित कृत्यहरु देखिइसकेका छन् । अहिलेसम्म प्रकाशमा नआएका त्यस्ता अरु धेरै नकामहरु हुन सक्छन् । नीतिगत रुपमा गरिएका फट्याईँहरु विस्तारै खुल्दै जान सक्छन् । आफ्ना आँखा र कान खुल्ला राखेर चनाखो पनि बनौँ ।

।। सन्दिप ओली ।।

कोरोना–महामारीले विश्व आक्रान्त छ र हामी सबै भयभित छौँ । महामारीको यस क्षणमा, कोरोना बिषाणुबाट आफु बाँच्दै आफ्ना परिवारलगायत वरिपरिका मानिसहरु बचाउन सहयोग गर्नु हाम्रो पाहिलो प्राथमिकता हो । महामारीले ल्याउन सक्ने सामाजिक र आर्थिक क्षतिको आँकलन विभिन्न क्षेत्रबाट भैइरहेको छ । तर, आँकलनहरु भविष्यको यथार्थसँग मेल नखाने सम्भावना पनि उतिकै छ । अहिलेलाई कामना गरौँ, उप्रान्त धेरै क्षति नगरी विषाणु फैलावटको साँङ्लो चुँडिनेछ । संसार बदलिए पनि मानव जीवनको निरन्तरता हुनेछ, आशा गरौँ ।

कोरोनाको कहरसँग जुधिरहँदा सारा शक्ति र ध्यान त्यसतर्फ केन्द्रीत हुनु स्वाभाविक हो । तर सङ्कटको घडी लोकतन्त्रको मर्म भुलेका शासकलाई, नाफा मात्रलाई जीवनको समूल ध्येय ठान्ने द्रव्यमोहीलाई र मौकामा कुत्सित लाभ उठाउन चाहने साना ठूला समूहलाई अवसर समेत हुने गरेको छ । भूकम्प भनौँ वा महामारी जस्ता विपत्ति, यस्ता प्रवृत्तिको शिकार भएका हजारौँ मान्छेका दुःख कति छन् कति । महाव्याधीको यो सङ्कटमा नाओमिक्लिनको ‘शक डक्ट्रीन’नामक महत्वपूर्ण अवधारणा सान्दर्भिक हुनसक्छ ।

क्लिनको अवधारणाबारे स्पष्ट हुन उनैले अघि सारेका केही उदाहरण हेरौँ । सन् १९८९मा चीनको तियानमेन स्क्वाएरमा कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी)को शासकीय पद्दतिप्रति असहमति जनाउँदैै हजारौँ युवाहरुले गरेको प्रदर्शनलाई चिनिया सरकारले कैयौँ युवाहरुको निर्मम हत्या गरेर दबाएको थियो । चीन सरकारले रचेको त्यस नरसंहारको कारण त्यहाँ एक किसिमको बिषम परिस्थितिको निर्माण भयो । सर्वसाधारण ‘शक’ अर्थात आघातको अवस्थामा थिए । यहि बिषमताको आडमा सीपीसीले सामान्य मजदुरमाथि चरम शोषणको शिलशिला सुरु ग¥यो । मजदुरहरु तियानमेन स्क्वाएरमा भएको घटनाको कारण अत्यन्त भयभीत थिए । फलस्वरुप, आवाज उठाउन असमर्थ भए । यसरी सस्ता मजदुरको ढाडमा चढेर सीपीसीले चीनलाई उत्पादन र निर्यातको स्वर्ग बनायो ।

सन् २००५ को सेप्टेम्बरमा अमेरिकाको न्यु आर्लीयन्स रलुजियानामा भीषण बाढी आयो । हरिक्यान कट्रिना नामक आँधीले ल्याएको त्यस बाढीमा कैयौँ घर बढे, सयौँ मानिस हताहत भए, हजारौ बिस्थापित भए । न्यु ओर्लीयन्सवासीलाई परेको आघातको त्यस क्षणमा राज्यका तत्कालीन कँग्रेसम्यान रिचार्ड बेकरले भने, ‘अन्तत ः न्यु ओर्लीयन्सका सम्पूर्ण सार्वजनिक आवासहरु बगे । जुन काम हामीले गर्न सकिरहेका थिएनांैै, दैवले गरिदिए ।’ न्यु ओर्लीयन्सका कँग्रेसम्यान बेकरलगायत त्यहाँका बिल्डरहरु लामो समयदेखि अमेरिकी सरकारले दिई आएको सार्वजनिक आवास सुबिधालाई बन्द गरेर निजी क्षेत्रको स्वामित्वमा ल्याउन चहान्थे । आघातको क्षणमा स्थानीय सबै तनाव र अलमलमा थिए, प्रतिक्रिया जनाउन सकेनन् ।

न्यु ओर्लीयन्स राज्यको त्यो बिपत्तिलाई आफ्नो अभिष्ट हासिल गर्ने ठूलो मौैकाको रुपमा देख्ने अर्का व्यक्ति थिए मिल्टन फ्राइडम्यान । उनलाई सरकारी ब्यवधानबिहिन बेलगाम नवउदारवादको प्रबर्तकमध्ये एक र खुल्ला बजार अर्थनीतिको पितातुल्य मानिन्छ । फ्रीडम्यान लामो समयदेखि न्यु ओर्लीयन्सका सार्बजनिक बिद्यालयहरु निजी क्षेत्रलाई सुम्पन चाहन्थे । कट्रिना–आघातका कारण नागरिकहरु बाह्य घटनाप्रति चासो दिने अवस्थामा थिएनन् । विद्यालयको नियमन वा व्यवस्थापन उनीहरुको प्राथमिकतामा परेन । फलस्वरुप, त्यहाँका सबै सार्बजनिक विद्यालयहरु निजी क्षेत्रलाई सुम्पिने प्रक्रिया सुरु गरियो ।

माथि उल्लिखित दुई घटनाको आलोचना गर्दै क्लिनले भनिन्, ‘यस किसिमका नियोजित अतिक्रमण जो सार्बजनिक वृत्तमा भइरहन्छ, ती प्रपञ्चहरु सधैैँ बजारबाट निर्देशित हुन्छन् ।’ क्लिनको दाबी मान्ने हो भने यी घटनामा ‘शक डक्ट्रिन’को प्रयोग गरेर, शक–थेरापी अर्थात् आघात–उपचारमार्फत बजार निर्देशित अभिष्टलाई मुर्तरुप दिइएको थियो ।

शक डक्ट्रिनको प्रयोग गर्दै आघात उपचार पद्दतिमार्फत नागरिक माथि नीतिगत अत्याचार गरिएको अर्को उदाहरण हो २००४ को बिनाशकारी सुनामी पश्चातको श्रीलङ्का । सुनामीले ल्याएको बिनासको कारण मानिसहरु आघातको अवस्थामा थिए, यहि मौका छोपेर श्रीलङ्काका सुन्दर समुन्द्र किनारमा बैदेशिक लगानीकर्तालाई ठुला–ठुला रिसोर्टहरु बनाउने अनुमति दिइयो । यसको कारण, समुद्रमा माछा मारेर जीविकोपार्जन गर्ने हजारौँ मछ्वाराहरु बिस्थापित भए ।

यहाँ उल्लेख गरिएका घटनाहरुमा सामान्य अवस्थामा गर्न नसकिने कामहरु आघातको क्षणलाई प्रयोग गरेर गरिएको दाबी नाओमिक्लिनले आफ्नो पुस्तक ‘शक–डक्ट्रिन ः राइज अफ डिजास्टर क्यापिटलिज्म’मा गरेकी छन् । क्लिनको आघातको सिद्धान्तले भन्छ, प्रतिबादको श्रोतलाई पुर्णरुपमा परास्त गर्न सकिने सर्बोत्तम उपाय भनेको प्रतिबादी र उसको संसारबिच एउटा भयानक दरारको सृजना गरिदिनु । ठूला प्राकृतिक बिपद तथा महामारीले यस्ता मनोबैैज्ञानिक दरार सृजना गरिदिने हुनाले गलत निर्णय तथा अलोकप्रिय नीतिहरु लागु गर्न सहज हुन्छ । संसारभरिका शासकका मनोवृत्ति राम्रोसँग नियाल्न सक्नेले देख्नेछ, अहिले कोरोना महाव्याधीको मौका छोपेर त्यस्ता धेरै काम भइरहेका छन् ।

क्लीनका अवधारणालाई पृष्ठभूमिमा राखेर नेपालको अवस्थामा चिन्तन गरौँ । हाम्रो सामुन्नेको जर्जर एवम् दर्दनाक यथार्थ के हो भने हामीले लोकतान्त्रिक व्यवस्था सञ्चालनका लागि आवश्यक गतिला संस्था, ती संस्था सञ्चालनका निम्ति आवश्यक नागरिक–अनुकूलका विधि र नीति एवम् समयमा जरुरी प्रश्न उठाउन सक्ने सचेत नागरिक समाजको निर्माण गरिसकेका छैनौ । मूलतः एक व्यक्ति र उसका आसेपासेका भरमा मुलुक सञ्चालन गर्ने हाम्रो चलन छ । यस्तो अवस्थामा चतुर एवं लोभी शासक र उसका वरपरका द्रव्यमोही झुण्डले चाहे भने आघातको अवस्थालाई नराम्ररी दुरुपयोग गर्न सक्छन् ।

सतहमा भ्रष्टाचारका घृणित कृत्यहरु देखिइसकेका छन् । अहिलेसम्म प्रकाशमा नआएका त्यस्ता अरु धेरै नकामहरु हुन सक्छन् । नीतिगत रुपमा गरिएका फट्याईँहरु विस्तारै खुल्दै जान सक्छन् । महाव्याधीको सामना गरौँ, भयभित नहोऔँ र साथै आफ्ना आँखा र कान खुल्ला राखेर चनाखो पनि बनौँ ।

(सन्दिप ओली  रिडर्स झापाका सदस्य हुन्।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: