शिक्षण सीप र साहित्यमा सफलः कृष्णा क्षेत्री

  प्रकाशित मिति
२३ मंसिर २०७२, बुधबार १०:३७


4
कृष्णा क्षेत्रीका ५ जना दिदीहरु भारत मणिपुरको इम्फालमा जन्मिसकेका थिए । “मिति यकिन छैन तर ९० सालको भुकम्प आइसकेको अबस्था थियो रे” कृष्णा क्षेत्री आमा बुबाले भनेका कुरा सम्झिन्छिन् । आफ्नो पुख्र्याैली थलो र नेपाली माटोको मायाले फोर आसाम राइफलका जागिरे बाबु बौद्धमान क्षेत्री,जागिरे जीवनबाट रिटायर भएपछि, आफ्ना ५ छोरी, श्रीमती र आफु सहित ७ जनाको परिवार लिएर मातृभुमी नेपाल प्रवेश गरेका थिए । त्यसपछि नेपाली माटोमा वि.सं.२००२ सालमा झापाको बाहुण्डागीमा जन्मिएकी थिईन कृष्णा क्षेत्री । उनको जीवनी सुन्दा यस्तो लाग्छ, योजनाले त हैन संयोगमै भएपनि उनका बाबुआमा उनलाई नेपाली माटोमा जन्माउनका लागि मात्र नेपाल आएका थिए । त्यसैले त उनको जन्मपछिको ५÷६ वर्षहरु मात्र नेपाल बसेर काखमा नेपाली माटोमा जन्मिएकी छोरी कृष्णा क्षेत्री लिएर फेरि मणिपुर नै फर्किए । नेपालबाट पुनः मणिपुरनै फर्कने योजना त थिएन तर ठुलो परिवार धान्न गाह्रो परिरहेको बेला पुनः पहिला काम गरिरहेकै ठाउँ, पल्टनबाट जागिरका लागि बोलाइए पछि यताको माटो यतै छोडेर मणिपुर तिरै फिर्नुभएका कृष्णा क्षेत्रीका पिताको त्यसपछिको जीवन त्यति लामो नभएपनि श्रीमती शिव लक्ष्मी र कृष्णा क्षेत्री सहित ६ जना  दिदीहरुका जीवनका थुप्रै लामा लामा कथाहरु छोडेर जानुभयो ।

नेपाल आएर फर्किएपछि काङ्ला तोन्वी भन्ने ठाउँमा भारत सरकारले दिएको कोलोनीमा घरबनाएर बसेपछि त्यहींबाट शिक्षा दिक्षा प्राप्त गर्दै अगाडि बढेकी थिइन् कृष्णा क्षेत्री । सुरुमा घरमै पिताबाट कखरा सिकेर स्थानीय प्राइमरी स्कुलमा भर्नाभएपछि कक्षा ६ सम्मको अध्ययानका लागि अन्त जानु परेन । त्यसपछि स्नातक सम्मको अध्ययनका लागि भने न्यू गर्लस एडल हाइस्कुलमा भर्ना भएर अध्ययन गरेको सम्झनु हुन्छ कृष्णा दिदी । तर ती दुईवटै स्कुलमा उनले नेपाली भने पढ्न पाइनन्, हिन्दीमा आधारित प्राथमिक र अंग्रेजीमा आधारित माध्यमिक अनि उच्च शिक्षा पाएकी थिइन उनले ।

पालीका लागि उनको घर र परिवार नै पर्याप्त थियो । विद्यालयमा नेपाली पढाई नभएपनि कहिले काहीं विद्यालयभन्दा बाहिरका नेपाली साहित्यिक कार्यक्रमहरुमा सहभागी हुने गर्थिन् । तर उनी सम्झिन्छिन् “नेपाली कार्यक्रम गर्न पनि मुश्किलपथ्र्यो त्यसवेला ।” कक्षा ८ मा पढ्दै गर्दा भानु जयन्तीको अबसरमा पिकनिकको कविगोष्ठीमा सहभागी भएकी थिइन् । भानु सम्बन्धी कविता लेखेर सुनाएकी कृष्णा क्षेत्रीको जीवनको पहिलो कविता पनि त्यही नै थियो । तर मणिपुरे स्थानीय युवाहरुले नेपाली भाषाको श्रीबृद्धी सहेनन् । युवाहरुको हुलले सबै कविताहरु खोसेर लगिदए, कार्यक्रम नै तहसनहस पारिदिए । पिकनिक नै तहसनहस पारिदिएको स्मृति कृष्णा दिदीभित्र अझपनि ताजै रहेको छ ।

पढाईको क्रम चलीरहकै थियो । कृष्णा क्षेत्रीका ५ दिदी बहिनी मध्येकी साहिंँली र माहिली दिदीको पहिला नै मृत्यु भैसकेको थियो । कृष्णा क्षेत्रीको स्मृतिपटलमा ती दिदीहरुको अनुहार छैन, तर पनि दार्जिलिङमा कक्षा ८ मा पढ्दै गर्दा मृत्यु भएकी माइली दिदीको फोटो भने कहाँ कहाँबाट खोजेर भएपनि आफ्नो एल्वममा सजाएर राखेकी रहिछन् । बाबुको पनि मृत्यु भएपछि अब तिनै बाँचेका दिदीहरुको आश्रयमा पढाईको साथ साथै जीवनलाई अगाडि बढाइरहेकी कृष्णा क्षेत्रीको जीवनको पहिलो उद्देश्य भनेको नर्स बन्नु थियो । तर दिदीको आश्रयमा दिदीकै सहयोगी बनेरे पढ्दै जाँदा उहाँको त्यो सपना पुरा हुन बाँकी नै हुँदा  दाम्पत्य जीवनमा बाँधिनु प¥यो । त्यसैले कहिल्यै साकार हुन सकेन कृष्णा क्षेत्रीको नर्स बन्ने सपना ।

नेपालको पोखरा घर भएका कार्की थरका कृष्णा क्षेत्रीका श्रीमानलाई सानैं हुँदा सिलोङ घर भएकी आफ्नी फुपुले लगेकी थिइन् । उतै पढी बढी पल्टने भएका कृष्णा क्षेत्रीका श्रीमानसँग कृष्णा क्षेत्रीको सन् १९६८ अर्थात वि.सं.२०२४ सालमा मागी विहे भयो । विवाह पछि उहाँका श्रीमान २०२५ सालतिर नेपालको पोखरामा भएकी आमा र एकमात्र भाइलाई भेट्न नेपाल आउनुभयो । भेट्नु पनि भयो तर फर्केर आउने क्रममा झापातिरै अलमलिनु भयो। फेरि मणिपुर फर्कनु भएन, बरु कृष्णा क्षेत्री पनि नेपाल नै आउनु भयो । नेपाल आएपनि उहाँ आफ्नो श्रीमानको घर पोखरा भने पुग्न सक्नु भएन । आफ्नो श्रीमानको परिवारसँग भेट गर्न सक्नु भएन । ससुरा त पहिला नै वित्नु भएको रे तर बाँचेकी सासुको अनुहार पनि देख्नु भएन उहाँले । अब त सासु पनि दिवंगत भई सक्नुभएको छ, परिवारमा बाँकी रहेका एकमात्र भाइ, दाजु(कृष्णा क्षेत्रीका श्रीमान)लाई खोज्न भनेर मणिपुर गएछन्, तर दाइ मणिपुर नफर्किएको उनलाई पत्तै भएनछ, दाइलाई खोज्न हिंडेका भाइ आज सम्म पनि दिल्लीमै रहेको कृष्णा क्षेत्रीको अनुमान छ ।

नेपाली माटो, नेपाली पन, नेपाली संस्कृति सबैकुराले तानेको थियो कृष्णा क्षेत्रीलाई नेपाली भूमिमा । नेपाल झापाको भद्रपुरमा आएर घर बनाएर बसेकी कृष्णा दिदीको घर फरक भएपनि आज सम्मको बसाईको परिवेश र ठेगाना फेरिएको छैन । २०२७ सालदेखि आज सम्म एउटै स्थान भद्रपुर न.पा. वार्ड नं.५ मा बसोबास गर्दै आएकी भएपनि यो ४५ वर्षको विचमा सुख र दुःखका थुप्रै ऋतुहरु फेरिएका छन् । वि.सं.२०२७ सालमा नेपाल आएपछि भद्रपुर बहुद्देश्यीय विद्यालय(हालको भद्रपुर हाइस्कुल)मा होम साइन्स टिचरका रुपमा शिक्षण गर्न थाल्नु भयो । होमसाइन्स टिचरका रुपमा मात्रै राखिए पनि उहाँ त्यस विषयमा मात्रै सिमित रहनु भएन । विद्यार्थी धेरै भएका कारण उहाँले अन्य विषयमा पनि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई पढाउन थाल्नु भयो । शिक्षिकाको रुपमा २०६७ सालसम्म रहनुभएकी कृष्णा क्षेत्रीको जीवनबाट सिक्नु पर्ने धेरै कुराहरु छन् । विद्यालयमा प्रवेश गरेपछि नै उहाँ आमा बन्नु भएको हो । उहाँका ३ छोरीहरु सुजता, निलम र पुनम अनि छोरो पनिल सहित जम्मा ४ सन्तान भए । वि.सं.२०४४सालमा श्रीमान वितेपछि एक्लै, संघर्ष गर्दै छोरा छोरीहरुको पालन पोषण गर्दै आफ्नो शिक्षण पेशालाई पनि सँगसँगै अगाडि बढाउनुहुने कृष्णा क्षेत्री को एकल जीवनका कठिनाईहरुलाई अन्दाज लगाउन सकिन्छ । स्कुलमा सिमित विषयगत ज्ञानमात्र नभएर सिलाई बुनाई, बुट्टा भर्ने, कडाई गर्ने, टाइप गर्ने जस्ता थुप्रै सिपकी ज्ञाता कृष्णा क्षेत्रीको जीवनबाट पनि थुप्रै कुरा पढ्न सकिन्छ ।

सुख जहाँत्यहीँ पाइन्छ, साना सानाकुरामा सुख भेटिन्छ खोज्न सक्नुपर्छ । तर दुःख त्यो भन्दा पनि सहजै पाउन सकिन्छ । नखोजीकनै प्राप्त गर्न सकिन्छ । तिनै दुःखहरुले जीवनलाई नै निरस बनाई दिन्छन् भने साहित्यकारहरुका लागि त्यही दुःख नै साहित्य लेख्ने खुराक बन्छ । त्यस्तै भएको छ कृष्णा क्षेत्रीको जीवनमा पनि । सानै छँदा दार्जिलिङ्गमा पढ्ने आफ्नी दिदीहरुका नेपाली विषयका कितावहरुमा नेपाली कथा कविता र साहित्यको अध्ययन गरेकी कृष्णा दिदीले कक्षा ८ मा पढ्दा पहिलो पटक भानु सम्बन्धि कविता लेखेकी थिइन । त्यसपछिको पहिलो सिर्जना लेखाईको प्रसङ्ग भने अलि फरक छ ।
कक्षा ८ पछि स्नातक सम्मको अध्ययन गरिन्, बिहे गरिन्, नेपाल आइन, छोराछोरी भए, श्रीमान विते, २ बहिनी छोरीहरुको बिहे भएर कान्छीको विहेगर्न बाँकी थियो । कक्षा १०मा पढ्ने कान्छी छोरी स्कुलको कार्यक्रममा सहभागी हुन गएकी छोरी फर्केर आइनन् । भागी विहे गरिछन् ।  फर्केर नआएपछि रातभरी निद्रा लागेन कृष्णा क्षेत्रीलाई । त्यसको भोलिपल्ट उनले

छोरीको सम्झनामा नयाँ कविता जन्माइन् ।
साँझपख आशाको दियो लिएर
आफ्नो रित्तो हृदय थापेर पर्खिरहें
तिम्लाई देख्न नपाउँदा,
तिम्रो प्रतिक्षामा म डुब्न पुगें
तिमीलाई पाउन नसक्दा
तिमीलाई सम्झिरहें
सबतिर घरढोका बन्द भैसके तिमी फेरी आएकी होइनौ
गहभरी चोट बोकी,
म मुर्ति बनी पर्खिरहें…………………………..

यही कविताबाट सुरु भएको थियो उनको साहित्यिक यात्रा । त्यसपछि उनका धेरैवटा कविताहरु लेखिए । विभिन्न कवितामा प्रथम भएर पुरस्कार पनि पाइन । विभिन्न संघसंस्थाहरले सम्मान पनि गरे । आज कविताले उनका डायरीहरु भरिएका छन् । छिमेकमा रहेकी राधिका रायाको संगत उनलाई साहित्यिक माहोलमा, साहित्यकारहरुसँग घुलमिल गर्ने माध्यम बनेको पाइन्छ । राधिका दिदीकै संगतबाट नेपालका झापा, इलाम, विराटनगर देखि भैरहवा सम्मका साहित्यिक यात्रामा सामेल भएकी कृष्णा क्षेत्रीको जीवनमा राधिका रायाको संगत महत्वपूर्ण रहेको पाइन्छ । आज उहाँका कृति पुग्ने कविताहरु डायरीका पानामा सिमित भएर रहेका छन् । ति कविताहरुलाई कृतिको रुप दिन बाँकी नै छ । अरुका राम्रा राम्रा कविता पढेर आफ्ना सिर्जनालाई सुन्दर नभएको महशूष गर्ने कृष्णा क्षेत्रीका प्राय सबै कविता सुन्दर छन्–

आशा हीन सन्ताप देखी
भन्छिन् श्रावण महिनाको भेल सँगै
सुस्केरा पिएर उदासिँदै
निराश गती त्यो,
रोदनमा रुमलिँदै
यसरी कौतुहलतामा निसास्सिँदै
पोख्छिन् आफ्नो दुर्भाग्य भावना, जताततै ।

‘मेची नदी’ शीर्षकको एक अंश कविता थियो यो । यस्तै प्रकृति, देश र मातृप्रेमका भावहरुले भरिएका उहाँका कविताहरु पढ्न योग्य छन्, सुन्दर छन् । तर ति रचनाहरुले कृतिको रुप प्राप्त गर्न सके अझ सुन्दर हुने थियो । उहाँका कविताहरुले कृतिको रुप नपाउने अर्को कारण आर्थिक अबस्था पनि हो भन्ने कृष्णा दिदीको आर्थिक अबस्थाले साथ दियोस, आफ्ना सुन्दर प्रतिभालाई चिन्न सक्नुहोस स्रष्टा कृष्णा क्षेत्रीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै यस लेखबाट बिदा हुन्छु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: