शिक्षामन्त्रीको आग्रह–‘हेडसरहरु, ठेक्कापट्टामा नअल्मलिनुहोस्’

  प्रकाशित मिति
२७ मंसिर २०७७, शनिबार १९:२७


मेचीनगर, २७ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका प्रधानाध्यापकहरु पठनपाठनतिर भन्दा ठेक्कापट्टातिर अल्मलिने गरेको कडा टिप्पणी गरेका छन् ।

आज मेचीनगर–८ इटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले त्यस्तो बताएका हुन् ।

विद्यालय र शिक्षा सुधार्न शिक्षकले मात्रै सक्ने बताएका उनले प्रधानाध्यापकहरु नै बरालिएर ठेक्कापट्टातिर लाग्ने गरेको बताए ।

उनले विगतमा शिक्षकहरुले राजनीतिक परिवर्तनका लागि राजनीति गर्नु परेको उल्लेख गर्दै अहिले शैक्षिक क्रान्तिका लागि राजनीति छाडेर लाग्ने बेला आएको बताए ।

अचेल शिक्षकहरुसँग परिचय गर्दा राजनीतिक आडम्बर झल्किने गरी दलका भ्रातृ संगठनहरुका ट्रेड युनियनहरुको विभिन्न ओहोदामा रहेको बताउने गरेको भन्दै मन्त्री पोखरेलले भने–‘मैले यसरी स्कुल सुधारेको छु, मैले यसरी विद्यालयमा गुणस्तर सुधारेको छु भनेर कसैले भन्दैनन् ।’

देशमा राजनीतिक परिवर्तन आए तापनि शिक्षामा खासै परिवर्तन नआएको गुनासो गर्दै उनले शिक्षालाई प्रविधिमैत्री बनाउनु पर्ने खाँचो औल्याए । ‘शिक्षक दक्ष र सक्षम नभई शिक्षामा सुधार आउनै सक्दैन’–उनको भनाई थियो ।

आदर्श माविमा नवनिर्मित पुस्तकालय भवनमा संघीय सरकारबाट प्राप्त १६ लाख रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त ६ लाख ५० हजार रुपैयाँ खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेलले बताएका छन् ।

अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मेचीनगरकी कार्यवाहक मेयर मीना उप्रेतीले मन्तब्य राखेकी थिइन् ।

मन्त्री पोखरेलले विद्यालयको कक्षा कोठाहरुको अवलोकन गरेका थिए । उनले विद्यालय परिसरमा अशोकका विरुवा हुर्काइएकोमा धन्यवाद दिदै विद्यालयलाई सहयोग गर्ने बाचा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: