शिक्षा दिवसमा दर्जनौँ सम्मानित

  प्रकाशित मिति
२४ भाद्र २०७४, शनिबार १०:०१


sikxya1_1

मेचीनगर । ‘सङ्घीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने नाराका साथ ३८ औँ राष्टिूय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस झापामा भव्य मनाइएको छ ।
यसैअवसर पारेर जिल्ला शिक्षा समिति झापाले विभिन्न विधामा झापाका शैक्षिक क्षेत्रमा आवद्ध व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरेको छ ।

धुलाबारीको पासाङल्हामु स्मृति जेसीज प्रतिष्ठान टाउन हलमा आयोजित कार्यक्रमका बीच दर्जनौँ व्यक्तिलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा झापाको उत्कृष्ट स्रोत केन्द्रको रुपमा आदर्श मावि स्रोत केन्द्र मेचीनगर सम्मानित भएको छ । उत्कृष्ट माध्यमिक विद्यालय सामुदायिक तर्फ हिमालयन मावि. दमक र कनकाई मावि सुरुङ्गा, संस्थागततर्फ सिद्धार्थ बोर्डिङ स्कुल दमक, उत्कृष्ट प्राथमिक विद्यालयतर्फ जनता प्रावि कचनकवल, उत्कृष्ट आधारभुत विद्यालयतर्फ कृष्ण आधारभुत विद्यालय मेचीनगर सम्मानित भएका छन् ।

उत्कृष्ट गुरुकुलमा श्रीकृष्ण द्वेपायन गुरुकुल वेद विद्याश्रम भद्रप्ुर र उत्कृष्ट मदरसामा मदरसा इस्लामिया फिजुल उलुम सम्मानित भएका छन् । त्यसैगरी, उत्कृष्ट सामुदायिक सिकाई केन्द्रतर्फ राजगढ सामुदायिक सिकाइ केन्द्र र उत्कृष्ट बाल क्लवको रुपमा बाल सुवोधिनी आधारभुत विद्यालयको बाल क्लव सम्मानित भएको छ ।

सम्मानित सबैलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा २०७३ सालको एसईई परीक्षामा झापामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थी सिमरा सुवेदी, सविना भण्डारी, प्रमिला उप्रेती र पूर्णिमा तामाङलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, २०७३ सालकै कक्षा ८ को जिल्लास्तरीय परीक्षाबाट झापामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थी इसा साउदेन, सुरेश शर्मा, प्रवेश मिश्र, पदमकुमारी राजवंशी, पुष्कर दाहाल र नगेन बोहोरालाई नगद २ हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख तथा जिल्ला शिक्षा समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाई लगायतले बोलका थिए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुखले शैक्षिक क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष रुपले सम्बन्ध राख्ने व्यक्तिहरुसँग छलफल गरेर गुरुयोजना बनाएर मेचीनगर नगरपालिकालाई शिक्षाको क्षेत्रमा उत्कृष्ट नगरपालिका बनाउने बताए ।

समग्र विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको हितका लागि नगरपालिकाले उचित कदम चाल्न कुनै कञ्जुस्याइँ नगर्ने उनीहरुले बताए ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा मेचीनगरका विभिन्न विद्यालयहरुले साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्डेले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपजिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: