भद्रपुर । जिल्ला शिक्षा कार्यालय झापाको ६ करोड ६६ लाख २६ हजार ७ सय ९१ रुपैयाँ फ्रिज भएको छ ।
आव २०७३÷०७४ का लागि विनियोजित बजेटमध्ये सो रकम खर्च हुन नसक्दा फ्रिज भएको हो ।
कार्यालय स्रोतका अनुसार सबैभन्दा बढी ‘सबैका लागि शिक्षा आधारभूत तह’ शीर्षकमा रहेको बजेटमध्ये ३ करोड ८२ लाख ३८ हजार रुपैयाँ फ्रिज भएको छ ।
त्यसैगरी, ‘विद्यालय क्षेत्र विकास कार्यक्रम केन्द्र स्तर’मा छुट्याइएको बजेटमध्ये १ करोड ९८ लाख ५५ हजार ६ सय ८० रुपैयाँ समेत फ्रिज भएको छ ।
माध्यमिक तहतर्फ शिक्षकको तलवमध्ये ८२ लाख ७७ हजार रुपैयाँ, शिक्षक सेवा निवृत सुविधातर्फको १ लाख ९२ हजार ८ सय ६२ रुपैयाँ र जिशिकातर्फको ६२ हजार ९ सय ९६ रुपैयाँ बजेट फ्रिज भएको छ ।
आवश्यकताको तुलनामा केन्द्रबाट बढी बजेट आएको कारण खर्च हुन नसक्दा बजेट फ्रिज भएको जिल्ला शिक्षा कार्यालयकी लेखा अधिकृत विमिता पोखरेलले बताइन् ।