शिवसताक्षीको माइधार आँपटारी सडक कालोपत्रे

  प्रकाशित मिति
९ श्रावण २०७७, शुक्रबार २२:५२


मेचीनगर, ९ साउन । माइधार आँपटारी सडक कालोपत्रे भएको छ ।

ट्रङ्क रोडको मान्यता पाएपछि शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा सडक कालोपत्रे भएको हो ।

स्थानीय उपभोक्ताको साझेदारीमा कालोपत्रे भएको सडकको शुक्रवार नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका छन् ।

४१ लाख ८९ हजार रुपैयाँको लागतमा ३६७ मिटर सडक कालोपत्रे गरिएको निर्माण उपभोक्ता समितिका संयोजक एवम् स्थानीय सामाजिक अगुवा मोहनप्रसाद सुवेदीले बताए ।

‘स्थानीय उपभोक्ताको समेत जनसहभागितामा सडक निर्माण भएको छ’, अध्यक्ष सुवेदीले भने, ‘तर उपभोक्ताले सडक निर्माणका लागि एक पैसा पनि तिर्नु परेन ।’

समितिले बैकल्पिक स्रोत व्यवस्थापन गरी सडक कालोपत्रे गरेको छ । सडक कालोपत्रे गर्न नगरपालिकाले २८ लाख ९६ हजार रुपैयाँ सहयोग गरेको थियो । नगरपालिकाको ७० र उपभोक्ताको ३० प्रतिशत लगानी रहने गरी सडक निर्माण सम्झौता भए पनि उपभोक्ताको ३० मध्ये २२ प्रतिशत रकम शान्ति निर्माण सेवाले व्यहोरेको छ । बाँकी ८ प्रतिशत रकम बैकल्पिक स्रोतमार्फत जुटाइएको थियो ।

२०७६ कात्र्तिक ८ गते शिवसताक्षी–१० का वडाध्यक्ष कर्णबहादुर थापाले सडकको शिलान्यास गरेका थिए । कोरोना भाइरसको संक्रमण बढेपछि निर्माण कार्य रोकिएको थियो । निर्माणमा देखिएका अनेकौँ कठिनाई र चुनौतिलाई पार लगाउँदै सुवेदी नेतृत्वको उपभोक्ता समितिले सडक कालोपत्रे गर्ने काम सकेको छ ।

७.५ मिटर चौडाईको सडकको दायाँवायाँ यसअघि नगरपालिकाको बजेटमार्फत ढल निकासका लागि नाली निर्माण गरिएको थियो । पूर्वपश्चिम राजमार्गसँग जोडिएको यो सडक पुराना मध्येको एक हो ।

यो सडकलाई नगरपालिकाको मेरुदण्डका रुपमा हेरिएको नगर प्रमुख शेर्माले बताए । ‘यसलाई रिङ रोडका रुपमा विकास गर्न चाहेका थियौँ’, सडक उद्घाटनपछि नगरप्रमुख शेर्माले भने, ‘तर भौतिक संरचना भत्काउनु पर्ने भएपछि बस्तीका बीचबाट रिङरोड लैजान सम्भव भएन ।’

नगर प्रमुख शेर्माले स्थानीय उपभोक्ताको सक्रियताप्रति खुशी प्रकट गर्दै विकासका लागि मन मिल्नु पर्ने बताए । ‘एउटा उदाहरणीय काम भएको छ’, उनले भने ।

उपप्रमुख भोजकुमारी नेपालले सडकको संरक्षणमा पनि उपभोक्ताको चासो र सक्रियता हुनु पर्ने बताइन् । उनले सडकमा विस्कुन सुकाउने र पशु चौपाया हिँडाउने काम बन्द गर्नुे पर्नेमा जोड दिइन् ।

गैडे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षले सडक निर्माणमा सहयोग गर्न सामुदायिक वन तयार रहेको बताउँदै उपभोक्ताको मर्म र भावना अनुसार चल्ने बताए । स्थानीय उपभोक्ता हरिनारायण बाँस्कोटाले उदाहरणीय सडक बनेको बताउँदै जनप्रतिनिधिले विकासमा पारदर्शिता र गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

उपभोक्ताले लगाए फूलमाला

सडक निर्माण भएपछि स्थानीय उपभोक्ता खुशी भएकाछन् । अझ गुणस्तरीय सडक निर्माण भएकोमा उनीहरुलाई औधीखुशी लागेको छ ।

कार्यक्रमस्थलमा स्थानीय उपभोक्ता फूलमाला र खादासहित उपस्थित भए । उनीहरुले निर्माण उपभोक्ता समितिका अध्यक्ष मोहन सुवेदी, सचिव कपिलमणि मैनाली र कोषाध्यक्ष टीका बाँस्कोटासहित पदाधिकारी र सदस्यलाई अविर र फूलमाला लगाई दिएका थिए ।

‘उपभोक्ताले माला र अविर लगाउँदै सम्मान प्रकट गरेपछि मेरा आँखा रसाएँ’, अध्यक्ष सुवेदीले भने, ‘यही समाजमा हुर्किएँ, समाजका लागि गर्छु । मैले कुनै लोभलालच राखेको छैन । यसका लागि उपभोक्ताप्रति सधैँ आभारी छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: