दुधे, १५ असार । बाढीबाट विस्थापित शिवसताक्षीका ३३ परिवारलाई नगरपालिकाले उद्धार लगत्तै राहत वितरण गरेको छ ।
कनकाई र सताक्षी खोलाको बाढीको भँगालो बस्तीमा मंगलवार पसेपछि उद्धार गरेर सुरक्षित स्थानमा राखिएका परिवारलाई राहत बाँडिएको हो ।
स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा राखिएका शिवसताक्षी नगरपालिका वडा नं. ४ का ३३ परिवारलाई तत्कालै राहत वितरण गरिएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले बताए ।
राहत पाउनेमा ३५ जना महिला, २१ जना पुरुष, २८ जना बालक र २२ जना बालिका छन् । महिला ३५ जनामध्ये ४ जना सुत्केरी र एक जना गर्भवती रहेकी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए ।
बाढीबाट विस्थापित अधिकांश परिवार सन्थाल, ताजपुरिया र राजवंशी समुदायका छन् ।
उनीहरुलाई ३३ थान झुल, २ रोल म्याट (१ सय मिटर), ३३ थान तन्ना, १५ थान सिरानी, नगरपालिकाले उपलब्ध गराएको छ ।
राहत बाँड्न नगरप्रमुख थोप्रा र उपप्रमुख नरमाया कार्की समेत गएकी थिइन् ।
त्यसैगरी, स्थानीय गोपाल गौरी दीगो विकास प्रतिष्ठानले नगरको एकद्वार प्रणालीबाट ५० केजी चामल, ५ केजी चिनी, ५ लिटर खानेतेल, १४ केजी दाल, १० केजी चिउरा, १ बोरा भुजा, र २ केजी नुन र ६० थान चाउचाउ बाढी पीडित परिवारलाई वितरण गरेको छ ।
शिवसताक्षी वडा नं. ६ का विस्थापित २६ परिवार मध्ये २२ परिवारलाई स्थानीय जनआदर्श माध्यमिक विद्यालय शिवगञ्जमा र ४ परिवारलाई गौरी शंकर प्राविमा राखिएको छ । उनीहरुलाई वडा कार्यालयले राहत प्रदान गर्ने तयारी भइरहेको जनाइएको छ ।
दुई दिनदेखिको अविरल वर्षाका कारण शिवसताक्षीका दक्षिणी क्षेत्रका अधिकांश स्थानहरु डुवानमा परेका छन् ।
शिवसताक्षीको सतासी खोलाको भङ्गालो बस्तीमा पसेपछि प्राथमिक स्वास्थ्यकेन्द्र शिवगञ्ज समेत डुवानमा परेको छ ।