शीर्ष नेताहरुले शिलान्यास गरेको जीपी सभागृह अलपत्र

  प्रकाशित मिति
४ भाद्र २०७८, शुक्रबार १८:५५


।। सन्तोष शर्मा ।।
बनियानी, ४ भदौ । झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको निर्माण कार्य चार वर्षदेखि अघि बढेको छैन ।

२०७२ असारमा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी भवन निर्माण शुरु भएको थियो । तर, निर्माण सम्झौता सकिएको चार वर्ष बित्दा पनि भवन अधुरै छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) र तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार लगायतका शीर्ष नेताहरुले संयुक्त रुपमा २०७२ असार २८ गते सभागृहको शिलान्यास गरेका थिए ।

शीर्ष नेताहरुले नै शिलान्यास गरेको बहुउपयोगी सभागृह हाल अलपत्र छ । सभागृहको काम अघि नबढ्दा निर्माणाधीन भवन जीर्णसमेत बन्दै गएको छ ।
सरकारको बेवास्ताका कारण भवन निर्माणको काम राकिएको बताउनुहुन्छ, नेपाली कांगे्रस झापा सभापति उद्घव थापा ।

“कम्युनिष्ट सरकार बनेपछि यो भवनमा एउटा इटा थप्ने काम पनि भएको छैन”, उनले भने, “राजनीतिक पूर्वाग्रहका कारण सभागृहले पूर्णता पाउन सकेन ।”

जिल्ला समन्वय समिति झापाले सभागृह निर्माणका लागि बजेट निकासामा पहल नगरेर काम रोकिएको सभापति थापाको आरोप छ ।

तत्कालीन समयमा भद्रपुरको विकास र समृद्घिका लागि पहल गर्ने झापाका सबै राजनीतिक दलको सहमति अनुसार जिविस मातहतमा रहने गरी भवन निर्माणको काम शुरु भए पनि जिससले निरन्तरता नदिँदा भवनले पूर्णता नपाएको उनको भनाई छ ।

गिरिजाप्रसाद कोइरालाको नाम जोडिए पनि यो सार्वजनिक सम्पत्ति भएको बताउँदै उनले भवन निर्माणले पूर्णता पाउनुपर्नेमा जोड दिए ।

वर्तमान सरकार बनेपछि गठबन्धन दलका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भवनका विषयमा जानकारी गराएको थापाले बताए ।

“सरकारले गिरिजाप्रसाद सभागृहको अपुरो भवनको विषयलाई गम्भीरताका साथ लिएको छ”, थापाले भने, “बजेट पुनरावलोकन भए यही वर्ष, नत्र आउँदो वर्ष भवनले पूर्णता पाउने विश्वस छ ।”

नेकपा माओवादी केन्द्रका नेता शिवराज भण्डारीले बहुवर्षीय योजनालाई निरन्तरता दिनुपर्ने बताए ।

विगतमा सञ्चालन भएका आयोजना विभिन्न बहानामा बन्द गर्नु नहुने भन्दै उनले सभागृह निर्माण कार्य सुचारु गर्नुपर्नेमा जोड दिए ।

“नगरकै गौरवको योजनामा रहेको सभागृह व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण छ”, उनले भने, “सम्बद्घ निकायको उदासीनता र ठेकदारको लापरबाहीले निर्माण कार्य रोकिएको हो, सभागृहको निर्माण कार्यलाई यथाशीघ्र पूर्णता दिनुपर्छ ।”

सार्वजनिक खरिद नियमावली ऐन संसोधन भएपछि भौतिक संरचना निर्माणका म्याद थप नभएका कारण सभागृह निर्माण कार्य प्रभावित भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए ।

तत्कालीन जिल्ला विकास समितिले उपयुक्त विधिले ठेक्का नलगाएका कारण समस्या उत्पन्न भएको उनको भनाई छ ।

“सभागृह निर्माणको कागजपत्र नभएका कारण यसका विषयमा थप अध्ययन गर्न सकिएन”, सभागृह निर्माणको समयावधि सकिएपछि भौतिक योजना मन्त्रालयमा समय थपका लागि जिससले पटक–पटक पत्र पठाएको बताउँदै उनले भने, “जिससले यो भवनका लागि २ वर्षदेखि ५ करोड रुपैयाँ छुट्याएर राखेको छ । तर, निर्माण कार्यको समय थप गर्ने अधिकार नहुँदा समस्या भएको हो ।”

तत्कालीन जिल्ला विकास समिति झापामार्फत निर्माण शुरु गरिएको सभागृह २०७४ असार १० गतेभित्र सम्पन्न गर्नेगरी प्रेरा–शाह जेवीले रू १२ करोड ७२ लाख ६९ हजारमा लिएको थियो ।

लम्बाइ ५३ मिटर, चौडाइ ३४ मिटर रहेको सभागृहको पहिलो तलामा व्यावसायिक उद्देश्यका २७ वटा कोठा, दोस्रो तलामा वित्तीय संस्था तेस्रो तलामा सभाका लागि एक हजार मानिस अट्ने वातानुकूलित हल बन्नेछ । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: