शेरनी–जिन्दगानी !

  प्रकाशित मिति
३१ श्रावण २०७८, आईतवार ०९:०७


करिब दुई महिनाअघि एउटा हिन्दी सिनेमा ‘कागज’ हेरेपछि आफूलाई लागेका कुरा फेसबुकमा लेखें । त्यो पढेर एक हितैषीले मेसेन्जरमा सुझाए– ‘अलिकति थप समय लिएर एउटा लेख नै लेख्नु नि !’ कुरो मनासिब हुँदाहुँदै पनि लेठो गरिरहन मन लागेको थिएन । फेरि अर्का उस्तै हितैषीले उकेरा लगाए, लेख्नै पर्ने रहेछ भन्ने लाग्न थाल्यो ।

यसैबीच ‘शेरनी’ नामक अर्को हिन्दी सिनेमा हेर्ने प्रबन्ध मिल्यो । बलिउड बजारमा उत्पादन भएका सिनेमा हेर्न रत्तिएका आँखालाई यो बिछट्टै मन पर्ने किसिमको नहुन सक्छ । चलेका सिनेमामा देखाइने मिलन–बिछोडका भुतुक्क बनाउने कहानी, पारिवारिक उतारचढाव, प्रेम वा महत्वाकांक्षालाई साकार पार्न गरिने परिश्रम इत्यादि केही छैन ‘शेरनी’सँग । न त यसमा कुनै पुरुष भयंकर बाहुबली भएर सयौँ जनासंग लडे–भिडेको कथा नै छ । न यो शेरनीले देखाएको बहादुरीको मोहक कथा हो ।

आस्था टिकुको पटकथा र अमित मसुरकरको निर्देशनमा बनेको यो सिनेमा जंगल, जनावर र जंगलछेउ बस्ने मानिसको कथा हो । मानिस र जनावर वा मानिस र जंगलका सम्बन्धलाई, अथवा भनौं उनीहरुबीच हुने संघर्षका कथालाई अनेक तरिकाबाट भन्न सकिएला । गहिरो, निष्पट्ट जंगललाई भयकारी बनाएर प्रस्तुत गर्ने गरिएको प्रशस्त देखेका छौं हामीले । तर मानव जीवन र जंगलको घनिष्ठ सम्बन्ध र उतिकै विशिष्ट जटिलताहरुको मसिनो अध्ययन गरेर त्यसका सुक्ष्म पहलहरु प्रस्तुत गर्न ठूलो परिश्रम आवश्यक हुन्छ । सम्बन्धका यी मसिना गुजुल्टा बुझ्न अध्ययनको दायरा पनि त्यति नै फराकिलो हुनुपर्छ । यी अप्ठ्यारालाई बढो बुद्धिमतापूर्ण ढंगले छिचोलेर बनाइएको सिनेमा हो– ‘शेरनी’ ।

एउटी शेरनी (बघिनी)ले जब गाउँका मानिसहरुलाई आफ्नो सिकार बनाउन थाल्छे, बघिनीको खोजी तीव्र हुन्छ । उसलाई नियन्त्रणमा नलिँदासम्म गाउँलाई भयको बाक्लो पर्दाले ढाकिदिन्छ । बघिनीको खोजी नै सिनेमाको मुल कथ्य हो ।

बन्यजन्तु विभागकी अधिकृत बिद्या भिन्सेन्टको भूमिका निर्वाह गरेकी छन् अभिनेत्री विद्या बालनले । बन्यजन्तु बिभाग जस्तो पुरुष–प्रधान बिभागमा एउटी महिला कर्मचारीको उपस्थितिलाई हेर्ने दृष्टिकोणमा पितृसत्ताको प्रभाव कति बलियो होला, यसै अनुमान गर्न सकिन्छ । विद्याको उपस्थिति नै धेरैका लागि सकसपूर्ण हुन्छ । स–साना गतिविधिमा त्यो सकस देखिन्छ ।

सरद सक्सेना अभिनित पिन्टु भैयाको चित्रण पितृसत्तात्मक सोचको सबैभन्दा सग्लो नमुना हो । आफू भन्दा कम उमेरका र त्यसमा पनि महिला आफूभन्दा जान्ने बुझ्ने हुन सक्छन् भन्ने कुरा स्विकार गर्न पुरुष अहमले नदिएको दृश्य बारम्बार सिनेमामा देख्न सकिन्छ । पिन्टु भैयाले आफ ूअनुभवी भएको भन्दै विद्यालाई हेप्न खोजेको दृश्यले त्यो सकस राम्रोसँग देखाउँछ । त्यसो त स्वघोषित विज्ञको असली चरित्र पनि यस पात्रले उजागर गर्दछ ।

काम गर्ने थलोमा पितृसत्ताको दबदबा भए पनि विद्याले जिम्मेवारीलाई सहर्ष स्वीकारेको देखिन्छ । उनलाइ कमजोर बनाउन गरिएका प्रयासहरुलाई ठूलो चिन्ताको बिषय बनाएको जस्तो देखिन्न । उनी कम बोल्न रुचाउँछिन् तर उनीसंग बोल्नका लागि शब्द र ज्ञानको कमि भएर होइन । बरु जिम्मेवारीलाई गहिराईमा बुझ्न चाहने तर त्यसरी बुझाउन सक्ने सामथ्र्य भएको मानिस उनले नभेटेका कारण उनी कम बोलेको हाउभाउबाट प्रष्ट हुन्छ । संयोगबस उनी खटिएको ठाउँमा एक कलेजका जीवशास्त्रका प्राध्यापकसंग बिद्याको भेट हुन्छ । ती प्राध्यापकसँगको संगतले बघिनीले गाउँलेलाई घिस्याउनुका कारण, गाउँका मान्छेका समस्या र जंगलसँग उनीहरुको सम्बन्धबारे गहिरोसँग बुझ्छिन्् ।

यसरी मिहिनेतपूर्वक काम गर्ने अधिकृत विद्याको विगत ६ बर्षदेखि बढुवा रोकिएको छ । अनि एक महिलाको घर गृहस्थि र जागिर बिचको सामञ्जस्य सहज हुँदैन । यी समस्याका बीच विद्याले आफ्नो कामप्रति देखाएको लगाव र उनको दृढसंकल्प सिनेमाको सहायक तर महत्वपूर्ण विषय हो । यो पक्ष देखाउनका लागि कुनै अतिरिक्त भावुक दृश्यहरु छायांकन गरिएका छैनन् । मसिना घटनाहरु नै यति कुरा सहजै बुझाउन सक्षम छन् ।

मुख्य विषय जंगल, जनावर र बस्तीको सम्बन्धको हो तर यो सम्बन्धमा असर पार्ने राजनीति र कर्मचारीतन्त्र दुवै हुन् । त्यसैले कर्मचारीतन्त्रको जटिलता पनि उत्तिकै प्रष्ट रुपमा देख्न सकिन्छ सिनेमामा । जथाभावी सरुवा प्रकृयाले गर्दा सहि मानिस सहि ठाउँमा पुग्दैनन् । परिणाम, समस्याले थप समस्या निम्त्याउँछन्, समाधान पहिल्याउँदैनन् । कुनै कार्यालयमा त्यस क्षेत्र सम्बन्धी ज्ञान नभएका ( सिक्न पनि नचाहाने) मानिस पुग्दा कस्ता परिणाम आउन सक्छन् भन्ने कुरा बिद्या कार्यरत कार्यालय प्रमुखको अग्रसरतामा व्यापारिक प्रयोजनका लागि गरिएको वृक्षारोपण उदाहरण बन्छ ।

जंगल छेउका बस्तीका मानिसले गाइबस्तु चराउन प्रयोग गरिरहेको जमिनमा जबर्जस्त बगैंचा लगाइन्छ । चरणक्षेत्र गुमेपछि गाउँले वस्तु लिएर जंगल पस्छन् । जब मानिस जंगलतिर जान्छन्, बाघसँगको जम्काभेटमा वृद्धि हुन्छ । धेरैपटक त बाघले मान्छे भनेरै आक्रमण गरेको पनि हुँदैन । टुक्रुक्क बसेका गोठालालाई उसले सधैं सिकार गरिरहेका कुनै जनावर ठानेर आक्रमण गरेको हुन्छ ।

कर्मचारीतन्त्रको अर्को पक्ष पनि उति नै महत्वपूर्ण छ । कुनै कर्मचारी आफ्नो अध्यन–रिसर्च, ट्रेनिङ, अनुभव आदिका कारण त्यस क्षेत्रमा विशिष्ट र सम्मानित हुन्छ । त्यस्तै अब्बल कर्मचारी छानेर भ्रष्ट संयन्त्रले आफ्ना प्यादा बनाएको हुन्छ । कर्मचारीतन्त्र भित्रका भ्रष्टचार र अनियमिततालाई रोक्ने महत्वपूर्ण घडिमा खुट्टा कमाउने र यथास्थितिलाई निरन्तरता दिन तिनै अब्बल कहलिएका मान्छे अघि सर्छन् ।

कर्मचारीतन्त्रका अनेक सीमाहरु छँदैछन्, दलीय राजनीतिले आफूलाई घुसाएर लाभ हाँसिल गर्ने छिद्र खोजेर बसिरहेको हुन्छ । सोझा गाउँलेलाई सिकार बनाइरहेको बाघलाई आफूले सिध्याइदिने दलिल पेश गरेर भोटको राजनीति गर्न थाल्छन् नेता । जनताका अप्ठ्यारालाई भ¥याङ बनाएर आफ्नो बर्चस्व कायम गर्न पल्केका नेताहरु ती समस्याका जरासम्म पुगेर हल गर्न पटक्कै तयार हुँदैनन् । अप्ठ्यारालाई फू मन्तर शैलीले सजिलोमा बदल्ने भाष्य लिएर गाउँगाउँ छिर्ने प्रवृतिले आम मानिसलाई घानमा पारेको देखाउन सक्षम छ ‘शेरनी’ ।

पर्यावरणलाई नजरअन्दाज गर्दै गरिने बिकासले उस्तै असर गर्छ । विकासको ठेक्का दल र कर्मचारीका ठालुका हातमा हुन्छन्, व्यापारीको नाफा–मोह भन्नै परेन । खानी बनाउन जमिन खनिदिन्छन् । बीचमा यामानका खाडल पर्छन् । एउटा जंगलबाट अर्को जंगल जाने बाटामा ती खाडल हुन्छन् । बाघले बाटा पाउँदैनन्, अनि गाउँले सिकार हुन्छन् ।

बाघ नमर्ने तर गाउँले पनि जोगिने । जंगल नमासिने तर चरणक्षेत्र पनि रहने । उपाय यस्ता खोज्नुपथ्र्यो । यसका लागि दल, कर्मचारीतन्त्र, गाउँले, विज्ञ सबैको सहकार्य आवश्यक हुन्थ्यो । तर दलीय मठाधिश र ठालु कर्मचारीले विषयको संवेदनशीलता बुझ्दैनन् । सजिलो उपाय बाघ खोजेर मारिदिनु हुन्छ, त्यतै लाग्छन् । यसैबीच संघर्ष चुलिन्छ । यही संघर्षको मिहिन प्रस्तुती नै निर्देशकको सफलता हो ।

सिनेमा हेर्दै जाँदा मलाई हाम्रै छेउछाउका कथाव्यथाको सम्झना भयो । जंगल, जंगली हात्ती, हाम्रा बस्ती, मान्छे र हाम्रा खेतीपाती सम्झँदा यो सिनेमा त सधैं हाम्रै वरपर घटित भइरहेको अनुभूति भयो । हात्तीमा हुने दलीय राजनीति, दलका स्थानीय बाहुबलीहरुको तुजुक, अनि एउटा समस्याले निम्त्याएका दर्जनौं अरु समस्या, र कहिल्यै समाधान फेला नपर्ने नियति !

धेरै केही गर्न नसके पनि हाम्रा यस्ता समस्यालाई दिनहुँ भोग्ने हाम्रा युवाहरुले ‘शेरनी’ जसरी सुन्न र हेर्न लायक कथा बनाएर भन्न नसक्लान् ?अमित मसुरकर जस्तै हाम्रै समस्या र कथामा आधारित यथार्थबादी लेन्स प्रयोग गरी एक सरल तर शक्तिशाली पटकथा कसैले लेख्न नसक्ला ? आशा गरौं ।

अन्त्यमा,सिनेमाकै एक काव्यात्मक अभिव्यक्तिः
शेर(बाघ) छ – र त जंगल छ ।
जंगल छ– र त वर्षा छ ।
वर्षा छ– र त पानी छ ।
पानी छ – र त तिम्रो हाम्रो सबैको जिन्दगानी छ !!

(लेखक रिडर्स झापाका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: