शैक्षिक गुणस्तर बढाउने उपाय

  प्रकाशित मिति
२१ बैशाख २०७५, शुक्रबार ११:४२


मानव विकासको आधारशीला शिक्षा हो भन्ने कुरामा कसैको दुईमत छैन । शिक्षाले जङ्गल र गुफामा बस्ने मानव समुदायलाई वर्तमान समयको विकसित मानव समूहमा विकसित गराएको छ । वर्तमान समयमा विश्वमा विभिन्न विषय र प्रविधिहरुका शिक्षा र सीपको विकास भइरहेको छ । यो विकास सगँसगै विश्व विकासको व्रmममा अघि बढिरहेको छ । शिक्षाका माध्यमद्वारा अघि बढेका देशहरुको शिक्षा नीति र प्रविधिहरु भित्र्याएर विकसित हुने प्रतिस्पर्धामा अल्पविकसित र विकासोन्मुख देशहरु विकासको बाटोमा अघि बढ्ने प्रयास गरिरहेका छन् ।

नेपालमा शिक्षाको विकास गुरुकुल परम्पराबाट भएको हो । संस्कृत शिक्षाबाट सुरु भएको नेपाली शैक्षिक परम्परा विसं १९१० सालदेखि अङ्ग्रेजी विद्यालयीय शिक्षा प्रणाली अन्तर्गत सुरु भएको पाइन्छ । राणा शासनको अन्त्यपछि देशमा अङ्ग्रेजी प्रणालीका शिक्षालय धमाधम खुलेता पनि देशभर एकरुपको शिक्षा प्रणाली भने विसं २०२८ सालको राष्ट्रिय शिक्षा योजनाको पद्धतिबाट सुरु भएको पाइन्छ । त्यसपछि विभिन्न संशोधन र विभिन्न कार्यक्रमहरुबाट नेपालको शैक्षिक क्रियाकलाप अगाडि बढ्दै गइरहेको छ । यही प्रणाली भित्र नेपालमा दुई प्रकारका शिक्षा प्रणालीको विकास भइरहेको पाइन्छ ।

वर्तमान अवस्थामा करिब चालीस वर्ष अघिदेखि निजी आवासीय विद्यालयको स्थापना भएको पाइन्छ । त्यही समयदेखि नेपालमा दुई प्रकार शैक्षिक नागरिकहरुको उत्पादन भएको पाइन्छ । तत्कालीन समयमा उपत्यकामा सरकारी अनुदान पाएको पूर्ण अङ्ग्रेजी माध्यमको बूढानीलकण्ठ स्कुलमा काठमाडौँमा कहलिएका धनाढ्य व्यक्तिहरुका र दबारिया पहुँच भएका व्यक्तिहरुका छोराछोरीहरु अध्ययन गर्दथे भने उपत्यका बाहिरका सर्वसाधारणका छोराछोरीहरु सरकारी विद्यालयमा अध्ययन गर्दथे । यसै समयदेखि नै देशमा दुई श्रेणीका शैक्षिक नागरिकहरु उत्पादन भएका हुन् । त्यसपछि जब सरकारले नै नीजि विद्यालय खोल्ने अनुमति दियो, त्यस समयदेखि अङ्ग्रेजी माध्यमका बोर्डिङ स्कुलहरु धमाधम खुल्न थाले । यस कामको सकारात्मक र नकारात्मक दुबै पक्षहरु देखिन थाले ।
सकारात्मक पक्ष
१. देशभित्र नै अङ्ग्रेजी माध्यमको
शिक्षा लिन पाइने ।
२. प्राविधिक शिक्षाको विकास ।
३. सरकारलाई राजस्व प्राप्ति ।
४. रोजगारी समस्या हल ।
५. बालबालिकाको व्यक्तित्व
विकासमा सहयोग ।

नकारात्मक पक्ष
१. नेपाली भाषाप्रति उपेक्षा ।
२. वैदेशिक शिक्षा र वैदेशिक
रोजगारीप्रति आकर्षण ।
३. दुई किसिमका शैक्षिक
नागरिक उत्पादन ।
४. बालबालिकामा मनोवैज्ञानिक
दबाव ।
५. श्रमको अपमान तथा श्रम शोषण ।
यी माथिका कुराहरुलाई अध्ययन गर्दा के देखिन्छ भने नेपालमा विद्यमान अवस्थामा चलिरहेको नीजि बोर्डिङ स्कुलहरुले राम्रा तथा नराम्रा प्रभाव र असर पारेको पाइन्छ । नेपाली समाजको एउटा ठूलो शैक्षिक हिस्सा नीजि विद्यालयहरुले ओगटेको छ । वर्तमान समयमा नेपालको शैक्षिक जगतमा एउटा मुद्दा प्रबल रुपमा उठेको छ, त्यो हो सामुदायिक (सरकारी) विद्यालय पलायन हुनु र संस्थागत निजी विद्यालयहरु पन्छिदै जानु । यस अवस्थाले समाजमा रहेका शिक्षक, अभिभावक, विद्यार्थी र राजनीतिक दलहरुबीच एउटा नजानिँदो किसिमको ठूलो दरार सिर्जना भएको छ । किन यस्तो किसिमको अवस्था सिर्जना भयो भनेर अध्ययन र विश्लेषण गर्दा मेरो विचारमा निम्न कुराहरु रहेका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ह्रास आउनु र ठाउँठाउँमा विद्यालय चल्न नसक्ने अवस्थामा पुग्नुमा निम्न पक्षहरु जिम्मेवार रहेका पाइन्छन् ।

सरकार
सामुदायिक विद्यालयलाई पलायन गराउने कार्यमा सरकारको प्रत्यक्ष नभए पनि परोक्षरुपमा संलग्नता पाइन्छ । हुन त सरकारले शिक्षकहरुको तलब भत्ता, भवन, पुस्तकालय, दरबन्दी दिइरहेको छ, कसरी सरकारले यस्तो काम गरेको छ भन्ने तर्क आउँदा तर सरकारले पहिलो गल्ती के गरेको छ भने विना अध्ययन, अवलोकन नै नगरी निजी बोर्डिङ स्कुलहरुलाई स्वीकृति दिएको छ, जसले गर्दा सामान्य भन्दा सामान्य अभिभावकले दुईचार कक्षासम्म अङ्ग्रेजी स्कुल पढाएर त्यसपछि सरकारी स्कुल लाने धारणाले गर्दा सामुदायिक सरकारी स्कुलहरु मर्च हुने वा बन्द हुने अवस्थामा पुगेका हुन् ।
अर्को कुरा, सरकारकले कतिपय विद्यालयहरुमा विषय अनुसारको दरबन्दीको व्यवस्था गर्न नसक्नु, विद्यार्थी अनुपात दरबन्दी मिलान गर्न नसक्नुले सामुदायिक विद्यालयको पठनपाठनमा असर परेको पाइन्छ । अर्को गम्भीर कुरा के छ भने सामुदायिक विद्यालय राजनीतिक दलको खेल मैदान बन्ने गरेको छ । कतिपय ठाउँमा कतिपय सामुदायिक विद्यालयका शिक्षकहरु शिक्षक कम र राजनीतिक कार्यकर्ताका रुपमा बढी चिनिन्छन् । सामाजिक राजनीतिक द्वन्द्वका कारण पनि कयौँ सामुदायिक विद्यालयले शैक्षिकस्तरलाई माथि उठाउन सकेका छैनन् । यी सबै कुराको जिम्मेवार पक्ष भनेको सरकार हो र सरकारले यी कुराहरुलाई नियन्त्रण गरेर सामुदायिक विद्यालयमा स्वस्थ शैक्षिक वातावरणको सिर्जना गर्नुपर्दछ ।

शिक्षक
शैक्षिक गुणस्तर वृद्धि विकासका निमित्त शिक्षक मेरुदण्डका रुपमा रहेको हुन्छ । गुरुकुलीय शिक्षा पद्धतिदेखि नै शिक्षकको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । विद्यालय संरचनाका निमित्त शिक्षक र विद्यार्थी नै महत्वपूर्ण पक्ष हुन् । किनभने पहिला–पहिला विद्यालय भवन नहुँदा पनि रुखका फेदमा, चौतारामा, गाईगोठमा विद्यार्थीहरु भेला पारेर गुरुहरुले शिक्षा प्रदान गरेका यथार्थ इतिहास हाम्रासामु छिपेको छैन । यसकारण शिक्षक नै शिक्षा विस्तार र विकासको प्रमुख आधार हो । शिक्षक आदर्श, गुणवान र विषय विज्ञ हुनुपर्दछ, साथै कर्तव्य परायण पनि । तर, वर्तमान अवस्थामा केही प्रतिशत शिक्षकहरु नैतिक आचरण ह्रास भएका पाइन्छन् । यसले गर्दा सम्पूर्ण शिक्षक वर्ग नै दोषका शिकार बन्न बाध्य भएको छ । कतिपय शिक्षकहरु दक्षता बिना नै राजनीतिक समर्थनका आधारमा भर्ना भएका छन् । यसबाट शिक्षा क्षेत्रभित्र विकृति बढेको छ । यसकारण शिक्षक नियुक्ति गर्दा हाम्रो मान्छेको धारणा भन्दा राम्रो मान्छेको छनोट गर्नु पर्ने देखिन्छ । यसबाट पनि सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुग्ने देखिन्छ ।

वर्तमान समयमा शिक्षक वर्गभित्र पनि प्राविधिक पक्ष र अप्राविधिक पक्ष रहेको पाइन्छ । आजको विज्ञान र प्रविधिको युगमा शिक्षालाई प्रविधिकीकरण गर्न जरुरी छ । पाठ्यक्रम र पाठ्यपुस्तकलाई प्रविधिसँग जोड्ने किसिमका विषयहरुसँग सम्बन्धित गराउनु जरुरी छ । यस कुरालाई अध्ययन गर्दा शिक्षकहरुलाई प्रविधिमैत्री बनाएर शिक्षाको गुणात्मक सुधार गर्नुपर्ने देखिन्छ । बुढा र पुराना शिक्षकहरु जो प्रविधिमैत्री बन्न सक्दैनन् र चाँहदैनन्, उनीहरुलाई विशेष सेवा र सुविधा प्रदान गरी रिक्त दरबन्दीमा आवश्यकता अनुसार प्राविधिक शिक्षकको पूर्ति गर्नु समयको माग हो । युगको आवश्यकता हो र राष्ट्र उन्नतिको आधार हो ।
यसकारण शिक्षक नियुक्ति गर्दा राजनीतिक अवस्थाको आधारमा नभई योग्यता र क्षमताको आधारमा गरिनुपर्छ । अर्को कुरा, शिक्षकवर्ग जस्तो सचेत वर्ग राजनीतिक विभाजनको घेराभित्र रहेको छ । साधारण राजनीतिक सोच राख्नु र समर्थन गर्नु नैसर्गिक अधिकार र व्यक्तिगत स्वतन्त्रता हो । तर, शिक्षक नै राजनीतिक पार्टीका प्रवक्ता भएर प्रचारप्रसार गर्दै र नेताका पछि लागेर कुद्नुले पनि शैक्षिक गुणस्तर वृद्धि गर्न बाधा पुर्याउँछ । राज्यले यस कुराको नियन्त्रण गर्नु पर्दछ । शिक्षकलाई सक्रिय राजनीतिक भागिदार बनाउनु हुँदैन । यदि शिक्षक सक्रिय राजनीति गर्न चाहन्छन् भने उसले शिक्षा कार्य छोड्नु पर्दछ । यसो भएमा शिक्षक राजनीतिक विवाद र द्वन्द्वको चपेटामा पर्दैन र ऊ स्वस्थ रुपले शिक्षण गर्ने मानसिकतामा रहन्छ । विज्ञ, दक्ष र प्राविधिक शिक्षकले अनुशासित र मर्यादित रुपमा शिक्षण गरेमा समाज र राष्ट्रले अपेक्षा गरे अनुसारको शैक्षिक जनशक्ति उत्पादन हुन सक्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।

अभिभावक
विद्यालयसँग सम्बन्धित अर्को महत्वपूर्ण पक्ष अभिभावक हो । अभिभावकको प्रत्यक्ष सम्बन्धमा विद्यार्थीहरु सोह्र घन्टा रहन्छन् । यहाँ आवासीय विद्यालयलाई छोडेर विशेष गरेर सामुदायिक विद्यालयहरुका बारेमा कुरा उठाइएको छ । विद्यार्थीहरु छ घन्टा विद्यालयमा र सोह्र घन्टा घरमा र दुईघन्टा (मोटामोटी रुपमा) बाटामा हुन्छन् (विद्यालय आउँदा र विद्यालयबाट घर जाँदा) । यसकारण अभिभावकले पनि आफ्ना विद्यार्थीहरुका त्रियाकलापहरु नियाल्ने गर्नुपर्दछ । अनुशासनमा राख्नका निमित्त प्रयत्न गर्नुपर्दछ । आफना छोराछोरीहरु के गर्दैछन् र उनीहरुको क्रियाकलाप कस्तो बन्दैछ भन्ने कुराको छनक अभिभावकलाई केही न केही रुपमा थाहा हुन्छ । नराम्रो गतिविधि भएका विद्यार्थीलाई सुधार्न अभिभावकले विद्यालय प्रशासनसँग सम्पर्क गरी परामर्श गर्नुपर्दछ । अभिभावकले यति मात्र पनि भूमिका निर्वाह गरिदिए, विद्यालयको शैक्षिक गुणस्तर सुधार्न धेरै सहयोग पुग्नेछ ।

विद्यार्थी
शैक्षिक क्षेत्रसँग अत्यन्त निकट रुपमा जोडिएको वर्ग विद्यार्थी हो । यही वर्गका सफलता र असफलतासँग शैक्षिक उपलब्धिको मापन, समाजको गुणस्तर निर्धारण, राष्ट्रिय दक्ष जनशक्ति तथा राष्ट्र विकासको आधार जोडिएको हुन्छ । विद्यार्थीहरु काँचो माटो जस्तै हुन्छन् । उनीहरु वंशाणु गुण र सामाजिक वातावरणबाट शिक्षा आर्जन गर्ने कार्यमा प्रभावित हुन्छन् । त्यसपछि विद्यालयको वातावरण र शिक्षकहरुको निर्देशन र विज्ञताबाट बालकको ज्ञान र सीप वृद्धि हुँदै जान्छ । तर, यो वर्गमा किशोर अवस्थाको समयदेखि शारीरिक र मानसिक परिवर्तन देखापर्छ र शैक्षिक क्षेत्रमा पनि कतिपय विद्यार्थीहरुमा परिवर्तन देखापर्दछ । यसले गर्दा अभिभावकको आशा, लगानी र शिक्षकको मेहनत सबै खेर जाने अवस्थामा देखिन्छ । यस्ता अवस्थामा रहेका केही प्रतिशत विद्यार्थीलाई शिक्षक तथा अभिभावकको संयुक्त परामर्शको जरुरत पर्दछ । यसो भएमा विद्यार्थीहरु किशोर अवस्थाका परिवर्तनबाट प्रभावित नभई आफ्नो शैक्षिक ज्ञान आर्जन गर्न सफल हुन्छन् ।

व्यवस्थापकीय पक्ष
व्यवस्थापकीय पक्ष भन्नाले अभिभावकहरुबाट छानिएका प्रतिनिधिहरु प्रधानाध्यापक र शिक्षकहरुका प्रतिनिधि रहेको व्यवस्थापना समिति रहेको हुन्छ । जुन समितिले विद्यालयको भौतिक व्यवस्थापन र शैक्षिक उन्नतिका निमित्त कार्य गर्नुपर्दछ । यसैगरी अभिभावक शिक्षक सङ्घ पनि अर्को शैक्षिक विकासको लागि महत्वपूर्ण भूमिका खेल्न समितिका रुपमा रहेको छ । यी समितिहरुले शिक्षक, विद्यार्थी र अभिभावकसँग समन्वय गरी भूमिका निर्वाह गरेर विद्यालयको शैक्षिक वातावरणलाई कसिलो र सङ्लो बनाउने प्रयत्न गर्नुपर्दछ । तर, कतिपय विद्यालयका विव्यस र अशि सङ्घका पदाधिकारीहरु शिक्षक तह लाउने निकायका रुपमा प्रस्तुत हुन्छन् । जसले गर्दा विद्यालयको शैक्षिक वातावरण खल्बली विद्यालयमा अस्वस्थ वातावरण पैदा हुन्छ । यसले गर्दा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा अवरोध पुर्याउँछ ।

निष्कर्ष
यहाँ धेरे कुराहरु आए । प्रायः भएका, देखेका र भोगेका कुरा नै छन् । विशेष गरेर वर्तमान अवस्थामा सामुदायिक विद्यालयमा घट्दै गएको शैक्षिक गुणस्तरको बाटोमा अहिले सर्वत्र चिन्ता र चासो छ । हाम्रो देशमा चलिआएको र चल्दै गरेको दलीय पद्धतिको दोषारोपण शिक्षा क्षेत्रमा पनि व्यापक छ, त्यसमा पनि सामुदायिक विद्यालयहरुलाई । अभिभावकले शिक्षकलाई दोष दिने, शिक्षकले विद्यार्थी र अभिभावकलाई दोष दिने प्रवृत्तिले सामुदायिक शिक्षा स्वच्छ र स्वस्थ छैन । दोष एकपक्षको मात्र छैन । दोष तीनवटै पक्षको छ । दोषारोपण मात्र गरिरह्यो भने समस्या जहाँको तही र ज्यूँका त्यूँ रुपमा रहिरहन्छ । तर, हरेक पक्षका दोष र कमी कमजोरी आँैल्याउँदै समाधानको पक्षमा अघि बढे स्वच्छ शैक्षिक वातावरणको सिर्जना हुन्छ भन्ने कुरामा दुईमत नहोला । त्यसकारण शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापकीय पक्षबीच समन्वयकारी भूमिका निर्वाह गर्दै अघि बढ्नु नै आजको आवश्यकता र समस्या समाधानको मुख्य विन्दु हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: