धुलाबारी । झापाका मन्टेश्वरी संस्थाका सञ्चालकहरुले राज्यले आफूहरुलाई सौतेनी व्यवहार गरेको आरोप लगाएका छन् ।
नेपाल मन्टेश्वरी एशोसिएसन झापाको शनिबार धुलाबारीस्थित रोयल निर्मान होटलमा सम्पन्न पत्रकार सम्मेलनमा सहभागी सञ्चालकहरुले मन्टेश्वरीलाई शैक्षिक संस्थाको रुपमा मान्यता दिन सरकारसँग माग पनि गरे ।
‘हामीले ठूलो जोखिम मोलेर नानीहरुलाई असल शिक्षा दिइरहेका छौं,’ उनीहरुले भने, ‘तर सरकार भने हामीले गरेको असल कर्म नदेखेझै गरिरहेको छ ।’
नेपाल मन्टेश्वरी एशोसिएसन झापाका संस्थापक अध्यक्ष भीमबहादुर श्रेष्ठले नानीहरुलाई असल व्यवहार सिकाएर राज्यलाई सघाइरहेको बताए ।
उनले मन्टेश्वरी शिक्षालाई शैक्षिक संस्थाको मान्यता दिने विषयमा स्थानीय सरकार र सङ्घीय सरकारसँग कुरा राखेको बताए ।
पत्रकार सम्मेलनमा धुलाबारीमा सञ्चालित इजी केयर मन्टेश्वरी सञ्चालक सपना प्रसाईंले असल समाज बनाउन आफूहरुले साना नानीहरुलाई शिक्षा प्रदान गरिरहेको बताइन् ।
यस्तै, नविन–ताराकी सञ्चालक तारा भट्टराईले मन्टेश्वरी शिक्षा नानीहरुको भविष्य बनाउने थलो भएको बताइन् ।
पत्रकार सम्मेलन अघि आयोजना गरिएको तालिममा जिल्लाभरका मन्टेश्वरीमा पढाउने ४० जना शिक्षकलाई क्षमता विकास सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।
दिल्ली पब्लिक स्कूल सिलिगुडीको संयोजनमा प्रशिक्षण सम्पन्न भएको हो ।
तालिम संयोजक सुरेश भट्टराईले दुवै देशको मन्टेश्वरी प्रणाली आदानप्रदान र अनुभव साटासाट गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
उनले मन्टेश्वरीले स्कूल जानेबेला साना नानीहरुलाई दक्ष बनाउने काम गरिरहेको बताए ।
पत्रकार सम्मेलनमा दिल्ली पब्लिक स्कूल सिलिगुडीका जनरल मेनेजर निर्मल्य आचार्जी, सारिका सुब्बा, मन्टेश्वरी एशोसिएसन झापाका सदस्य तथा इजी केयरका सञ्चालक मातृका ओडारी लगायतले मन्तव्य राखेका थिए ।
झापामा हाल ६८ वटा मन्टेश्वरी संस्था एशोसिएसनमा आबद्ध छन् ।
१७ वटा जिल्लामा एशोसिएसनको शाखा विस्तार भइसकेको जनाइएको छ । झापामा सात हजारलाई रोजगारी दिने काम गरेको पनि एशोसिएसनले जनाएको छ ।