शोकमा डुब्यो स्कुल र गाउँ

  प्रकाशित मिति
१२ फाल्गुन २०७२, बुधबार ०४:४२


kamal bista
बाहुनडाँगी । बिहान सँगै परीक्षा लेखेर घर गएका बाहुनडाँगी–३ दोकानडाँडाका सहपाठी कमल विष्टको विजुलीको करेन्ट लागेर निधन भएको खबर पाएका सङ्गम सुब्बालाई सुरुमा विश्वास नै लागेन । लगत्तै उनले आफ्ना अन्य साथीलाई फोन लगाए । उनीहरूले पनि ‘त्यस्तै खबर आएको छ’ भनेपछि सङ्गम दौडेर कमलको घर पुगे । त्यसबेलासम्म कमललाई अस्पताल लगिसकिएको रहेछ । केही समयको अन्तरालमै उनका साथीहरू भेला भए । गाउँ छिमेक पनि खबर पाएर उनको घरमा आए । तर, उनको वीएण्डसी अस्पताल विर्तामोडमा पु¥याउन नपाउँदै बाटैमा निधन भइसकेको थियो ।

अकल्पनीय मृत्युको खबर सुनेर भावविह्वल भएका कमलका सहपाठीहरू मङ्गलवार स्थानीय निन्दा नदीमा गरिएको दाहसंस्कारमा सुक्सुकाइरहेका थिए । उनीहरू रोइरहेका थिए । घरबाट मलामी निस्कदादेखि नै रोइरहेका कमलका साथीहरू मात्र होइन, गाउँघरमा छरछिमेकीका कसैका पनि आँखा ओभाना थिएनन् । उनको निधनले सबैलाई असह्य झट्का दिएको थियो । सबै शोकाकूल थिए ।

प्रवेशिका परीक्षाको तयारी गरिरहेका कमल बालकल्याण मावि मेचीनगर–८ मा कक्षा १० मा अध्ययन गर्दै थिए । एसएलसीको पूर्व तयारीका लागि विद्यालयले आइतबारदेखि सेन्ड अप परीक्षा सुरु गरेको थियो । उनले पहिलो दिन गणित र दोस्रो दिन अङ्ग्रेजी विषयको परीक्षा लेखिसकेका थिए । तर, हुने हार दैव नटार भने झैँ सोमवार दिउँसो १२ बजे कसैले थाहा नै नपाई विजुलीको तार बोकेर घरको आडमै रहेको घैलाडुब्बा खोलामा माछा मार्न गएका थिए ।

आमा कुमारी विष्ट ठुलो बुबा खसेर इटहरी गएकी थिइन् । बुबा केदार विष्ट काम विशेषले नकलबन्दा गएका थिए । काका पूर्णबहादुर विष्टसँग घरको काम गर्न सघाएका उनी खोलामा माछा मार्न गएको कसैले पत्तै पाएनन् । विजुलीको मुख्य लाइनबाट करेन्ट सप्लाई गरेर खोलाले बनाएको गहिरो पोखरीमा माछा मार्ने व्रmममा उनलाई करेन्ट लागेको थियो । एक्लै भएका कारण उनलाई करेन्ट लागेको कसैले देखेनन् । कति बेला लाग्यो त्यो पनि कसैले पत्तो पाएनन् । बाटो हिड्ने मान्छेले उनलाई खोलामा लडिरहेको देखेपछि उनलाई खोलाबाट निकालिएको थियो । बाहिर निकाल्दा कुनै होससम्म नभएका उनलाई लगत्तै अस्पताल पु¥याइएको थियो ।

सानैदेखि बालकल्याणमा पढेका कमलको निधनले विद्यालय शोकमग्न भएको छ । उनको निधनमा चल्दै गरेको सेन्डअप परीक्षा २ दिनलाई स्थगित भएको छ भने मङ्गलबार विद्यालय विदा भयो । साथीहरू उनलाई श्रद्धाञ्जलि दिन निन्दा खोलामा पुगे । खोलामा पुगेका विद्यार्थीहरू डाको छोडेर रोए । उनका साथी नविन किसान रुँदै भन्दै थिए–‘हामीलाई एक्लो बनाएर गयौ ।’

कल्पना गर्नै नसक्ने घटना थियो सिङ्गो दोकानडाँडाबासीका लागि । ‘खाउँ–खाउँ लाउँ–लाउँ भन्ने कलिलो उमेरमा कालले चुडेर लग्यो उनलाई’–मलामीजन भन्दै थिए । वि.सं. २०५५ मङ्सिर १३ गते जन्मिएका उनी घर गाउँमा अमिर नामले चिनिन्थे । गाउँमा अति नै मिलनसार र सहयोगी भावनाका थिए । उनका हजुरबुबा जगतबहादुर, हजुरआमा रुकमाया, दिदी अस्मिता, भाई पशुपति, १ ठूलो बुबा, २ काका र ४ फुपु छन् । उनी परिवारको जेठो छोरा हुन् ।

कमलको अपत्यारिलो मृत्युको घटनाले गाउँ जति शोकमग्न र स्तब्ध बन्यो त्यति नै गाउँलाई पाठ पनि सिकाएको छ । झापामा वर्षेनी माछा मार्ने व्रmममा करेन्ट लागेर निधन भएका खबरहरू बारम्बार सुनेका दोकानडाँडाबासीले आफ्नै गाउँमा त्यस्तो घटना प्रत्यक्ष व्यहोरे । जसले गर्दा अबका दिनमा ‘यस्तो काम गर्न नहुने रहेछ’ भन्ने सबैलाई अनुभूति भएको छ ।

कमलको मङ्गलबार निन्दा खोलामा दाहसंस्कार गरिएको छ । उनको शवयात्रामा साना बालबालिकादेखि वृद्धसम्मका सयौँको सहभागिता रहेको थियो । विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, राजनीतिक दलका नेता, कार्यकर्ता तथा दोकानडाँडाबासीले उनको निधनमा अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार अघि एक मिनेट मौनधारण गरेका थिए ।
……………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: