मेचीनगर, २ साउन । मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदना व्यक्त भएको सबैले देखेका छन् । मरेका जनावरप्रति यदाकदा शोकका भावहरु प्रकट भएको सुनिन्छ । तर पहिलोपल्ट नै होला, मेचीनगरका बासिन्दाले बाढीले बगाउन ठिक्क पारेको पालिया खोलाको एउटा जीर्ण पुललाई श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् ।
श्रद्धाञ्जलि पाउने पुल काठबाट बनेको छ । मेचीगर–७ को सतिघट्टामा रहेको यो पुल यति जीर्ण भइसकेको छ कि यसको आधा शरीर पालिया खोलाको पानीतिर घोप्टिएको छ । कुन बेला बाढीले बगाउने हो अनुमान गर्न कठिन छ ।
पुलको आयु सकिएको भन्दै पुलकै छेउमा घर भएका मेचीनगर–७ का हरि सङ्ग्रौलाले फेसबुकमा पाँच दिन अघि पहिलोपल्ट श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । उनले जीर्ण र खोलामा आएको बाढीको ७ वटा फोटो पोस्ट गरेका थिए । त्यसपछि दर्जनौं कमेन्ट आए र भाइरल भयो यो पोस्ट ।
फेसबुकमा सङ्ग्रौलाले लेखेका छन् –‘पालिया पुलको कन्तबिजोग । मेचीनगर–७ अर्थात साविक ज्यामिरगढी–८ र ९ का बासिन्दाको दैनिक जीवन अत्यन्त कष्टकर । पालिया पुलप्रति हार्दिक श्रद्धाञ्जलि ।’
त्यसपछिका केही कमेन्टहरु यस्ता छन् । कमल बुढाथोकीले ‘हरे शिव’ भन्दै लेख्छन् –‘सबैतिर अवस्था दयनीय छ ।’
मेचीनगरका चर्चित युवा नेता रुपसागर अधिकारी लेख्छन् –‘अस्ति उद्घाटन भयो हैन नयाँ पुलको ।’
स्थानीय विष्णु बराल लेख्छन् –‘बिगतदेखिकै समस्या हो, कहिले पूरा हुन्छ हेर्न बाँकी छ । उद्घाटन पनि भएकै हो ।’
पुष्प गौतमले ‘रिप’ लेखेका छन् भने गीता अधिकारी ओझाले ‘अझै यस्तै छ यो पुल ?’ भनेकी छन् ।
ज्यामिरगढीका युवा नेता हेम राईले लेखेका छन् –‘पुलको बिजोग होइन, आवतजावत गर्नेको पो बिजोग भयो ।’ हरि दाहालले पुलको आत्माको चिर शान्तिको कामना गर्दै ‘रिप’ लेखेका छन् ।
बिक्रम राउतले ‘अब त खोलामा खस्न मात्र बाँकी रहेछ’ भनी कमेन्ट गरेका छन् भने तारा ओलीले ‘…श्रद्धाञ्जलि पालिया पुललाई कि कसलाई बुझ्न सकिएन भनेका छन् ।’
पवन राजबंशीले ‘पुल हिस्टोरिकल भएकोले संरक्षण गर्न जरुरी’ रहेको भन्दै व्यङ्ग्य ठोकेका छन् । सोमवहादुर कटुवालले ‘बुढो पुलले चोला फेरोस्’ भनी कामना गरेका छन् ।