घरेलु हिंसाका कारण यौन पेशा

  प्रकाशित मिति
११ माघ २०७४, बिहीबार ११:१४


विर्तामोड । रक्षा नेपालले बुधबार विर्तामोडमा मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिक महिलाका सवालमाथि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

झापामा पहिलोपटक आयोजना गरिएको कार्यक्रममा नेपालकी अध्यक्ष मेनुका थापाले हालसम्म गरेको गतिविधि र संस्थाका बारेमा जानकारी गराएकी थिइन् ।

उनले पछिल्लो समय झापामा बढेको यौनहिंसाका घटनाले संस्थाको ध्यान केन्द्रित गरेको हुँदा यसलाई न्यूनीकरण गर्नका लागि सरोकारवाला संघसंस्था तथा व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताइन् ।

‘रक्षा नेपालको अभियान यौन शोषणमुक्त नेपालको पहिचान’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले घरेलु हिंसा र आर्थिक विपन्नताका कारण युवतीहरुले यौन धन्दा अपनाउन बाध्य भएको बताएका थिए । कार्यक्रममा विर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले होटलमा प्रहरीको निगरानी बढेपछि व्यवसायीले खाजाघर खोलेर खुलम् खुल्लारुपमा यौनधन्दा चलाउनेहरु भेटिएको बताए ।

उनले त्यस्ता खाजाघरको खोजी गरी दैनिक छापा मार्ने र यौन धन्दामा लगाउने र लाग्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको बताए ।

उपरिक्षक कोइरालाले अनुसन्धानका क्रममा कतिपय बाध्यताले र कतिपय स्वेच्छाले यौन व्यवसायमा महिलाहरु लाग्ने भेटिएको अनुभव सुनाए ।

उनले स्थानीय जनप्रतिनिधिहरुको सक्रिय साथ पाएमा विर्तामोड क्षेत्रमा चलाइने यौन धन्दालाई निमिट्यान्न पार्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

अधिकारकर्मी विष्णु खरेलले यौन व्यवसायमा रहेका महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र प्रहरीले गर्ने व्यवहार पनि सम्मानजनक नरहेको बताए । उनले यस्तो व्यवसायमा लाग्नेमा ७० प्रतिशतभन्दा बढी दलित र जनजाति रहेको जानकारी दिँदै भने, ‘घरेलु हिंसा नै यौन व्यवसायमा लाग्ने जड हो ।’

महिला तथा बालबालिका कार्यालय झापाकी अधिकृत उमा अधिकारीले हिंसा पीडित महिलाको अवस्था र कार्यालयले गरेको गतिविधिका बारेमा जानकारी गराएकी थिइन् ।

विर्तामोड उद्योग बाणिज्य संघका पूर्व महासचिव सुवास भट्टराईले पछिल्लो समय यौन व्यवसायीले घरभाडामा लिएर पनि व्यवसाय सञ्चालन गरिरहेको बताए । उनले सुरुमा आउने प्रहरी उपरीक्षकले निगरानीमा सक्रियता बढाए पनि दुई चार महिना बितेपछि बेवास्ता गर्दा यी समस्या न्यूनीकरण हुन नसकेको बताए ।

मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य नेरु परियारले यौन हिंसामा परेका महिलालाई मनोपरामर्शको खाँचो रहेको बताइन् ।

स्पिक कर्नर डिजिटल मिडियाको संयोजनमा भएको कार्यक्रमको सञ्चालन सोही मिडियाका सम्पादक सुब्रत न्यौपानेले गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्था तथा पत्रकारको उपस्थिति रहेको थियो ।

रक्षा नेपाल विभिन्न पेशा व्यवसायका नामबाट महिला श्रमिकमाथि हुने गरेका विभेद तथा अन्यायको अन्त्य एवम् कामदार महिलाको अधिकार सुरक्षित गर्नका लागि अनौपचारिक ÷मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुद्वारा २०६० सालमा स्थापना गरिएको पहिलो ट्रेड युनियन रहेको अध्यक्ष थापाले जानकारी दिइन् ।

उनले बाध्यात्मक देहव्यापार अन्त्यका लागि विभिन्न चेतनामूलक, कार्यक्रमहरु सञ्चालन गर्नुका साथै बैकल्पिक रोजगारीका लागि विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरी सीप अनुसारको लघु उद्यम सञ्चालनमा आर्थिक सहयोगका लागि आवश्यक पहल समेत गर्दै आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: