श्रमिक सङ्गठन आन्दोलित

  प्रकाशित मिति
२१ भाद्र २०७३, मंगलवार ११:३४


chiya

विर्तामोड । चिया उत्पादनका लागि कहलिएको झापाको गिरी बन्धु टी स्टेटमा कार्यरत श्रमिकले बगान मालिकको शोषणमा परेको गुनासो गरेका छन् ।

बिर्तामोड नगरपालिका–५ र शनिअर्जुन नगरपालिका–९ मा फैलिएको गिरी बन्धु टी स्टेट प्रालिमा कार्यरत श्रमिकले बगानका सञ्चालकले ४ वर्षदेखि निरन्तर सेवासुबिधा कटौती गरिरहेको बताएको हुन् । श्रमिक माथिको ज्यादती अन्त्य गर्नुपर्ने माग राखेर प्रतिष्ठान स्तरको ट्रेड युनियनले आन्दोलन थालेको छ ।

प्रतिष्ठान स्तरको ट्रेड युनियनका अध्यक्ष नारायण दर्जीले पहिलो चरणको आन्दोलन थालिएको बताएका छन् । निर्धारित नियम र विभिन्न चरणका सम्झौता अनुसार कम्पनीले तलब सुबिधा नदिएको उल्लेख गर्दै व्यवस्थापन, श्रम कार्यालय मेची र जिल्ला प्रशासन कार्यालय झापामा लिखित रुपमै समस्या समाधानका लागि अनुरोध गरिएपनि सुनुवाई नभएपछि आन्दोलन सुरु गर्नु परेको उनले जनाएको छ । ‘कुनै विकल्प नभएपछि नै हामीले आन्दोलन थालेका हौँ’, दर्जीले विज्ञप्ती मार्फत भनेका छन् – ‘आन्दोलनबाट कुनै प्रकारको हानीनोक्सानी भएका हामी जवाफदेही हुने छैनौँ ।’

सञ्चालकहरुले आफ्ना माग राख्दा कुरै सुन्न नचाहेको ट्रेड युनियनले जनाएको छ । माग पूरा गर्न सञ्चालकको चासो नदेखिएपछि श्रमिकहरुले आइतबारबाट हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । मङ्गलबारसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र २२ गतेदेखि प्रतिष्ठानको मुलद्वारमा १० दिने रिले अनशन बस्ने अध्यक्ष दर्जीले जनाएका छन् । रिले अनशनबाट पनि माग सम्बोधन नभए असोज २ गतेदेखि दोस्रो चरणको आन्दोलन शुरु गर्ने उनले बताए । ‘अब सशक्त आन्दोलन गर्छौं’, दर्जीले भने – ‘हामीले पाउने सेवासुबिधा कसैले खोस्न पाउँदैन ।’

समस्या कहाँ छ ?
मजदुरले श्रमको मूल्य पाउनु पर्छ । तर, नाफाआर्जन भइरहँदा पनि केही उद्योगले नियत नै राखेर मजदुरको पारिश्रमिक रोकिदिने गरेको पाइन्छ । गिरी बन्धु टी स्टेटमा पनि यस्तै समस्या देखिएको छ । ट्रेड युनियनका अध्यक्ष नारायण दर्जीद्वारा जारी विज्ञप्तीमा चिया बगानमा ३ सय ५ जना कामदारलाई स्थायी गर्ने, अवकाश, राजीनामा, निष्काशन तथा मृत्युपछि हुने रिक्त स्थानमा कामदारकै परिवारका सदस्यहरुलाई स्थायी गर्दै जाने व्यवस्थापकसँगको सम्झोता भएपनि अहिले १ सय ९५ जना कामदार मात्रै रहेकाले रिक्त स्थानमा स्थायी कामदार नियुक्त गर्न माग गरिएको छ ।

वि.सं. भदौ १० गते नेपाल सरकारले बृद्धि गरेको चया मजदुरको ज्यालाको फरक रकम तीन किस्तामा एक किस्ता मात्रै भुक्तानी भएको विज्ञप्तीमा जनाइएको छ । साउनदेखि बढेबापतको दैनिक ज्याला २ सय ५३ रुपैयाँ कार्यान्वयन गर्न ट्रेड युनियनको माग छ । मजदुरले पाउने प्राथमिक उपचार सुचारु गर्न, कामदार कर्मचारीहरुको पारिश्रमिकबाट कट्टा गरिएको सञ्चयकोषको रकम कोषमा दाखिला गर्न पनि सङ्गठनले माग गरेको छ ।

यसैबिच, ट्रेड युनियन महासङ्घ जिफन्टका अध्यक्ष सन्तकुमार राईले चिया मजदुरको समस्या समाधान गर्न व्यवस्थापनसँग आग्रह गरेका छन् । उनले चिया श्रमिकको माग तत्काल पूरा गर्न पनि माग गरेका छन् ।

‘गिरी बन्धु टी स्टेट जस्तो प्रतिष्ठित उद्योगले श्रमिकको सम्मान गर्न नसक्नु दुखद् छ’, राईले भने – ‘चाँडै माग सम्बोधन होस्, चिया बगान सञ्चालकले पनि यसप्रति जिम्मेवारी देखाउन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: