श्राद्धमा लुकेको विभेद

  प्रकाशित मिति
१७ आश्विन २०७५, बुधबार ०८:२६


दसैँ अगाडि आउने सोह्रश्राद्धलाई पितृमोक्ष गराउने समय भनेर चिनिन्छ । आश्विन कृष्ण पक्षका १६ वटा तिथिमा आफ्ना पितृहरूको पूजा गरेपछि दसैँको विधिवत सुरु गरिन्छ । जसलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । दिवङ्गत आफन्तजनलाई पितृदेवताका रूपमा पूजा गर्ने परम्परा छ । नेपाली सनातन संस्कृतिले देवी देवताको भक्तिलाई भन्दा पितृ देवताको भक्तिलाई माथिल्लो श्रेणीमा राखेको छ ।

शरीर नाश भएपनि आत्मा नाश हुँदैन, प्रकाशको भन्दा छिटो गतिमा अर्थात शरीर नाश भएको एक वर्षमा आत्मा पितृलोकमा पुगिसक्छ भन्ने मान्यता छ । सोह्र श्राद्धको वैज्ञानिकताको तर्क गर्नेहरुले गीताको चौथो अध्यायमा भनिएको प्रसङ्गलाई आधार मान्दै भनेका छन्, ‘मृत्युपछि मान्छेको सुक्ष्म शरीरसहितको आत्मा मुक्त अवस्थामा पर्छ, जब ऊ जिउँदो छँदा आफूलाई मानव र प्रकृतिसँग उच्च व्यवहार गरेर शुद्ध र मुक्त बनेको छ ।’ मध्यम खालका अर्थात रजो गुणमा रमाएका मानिस मरेपछि कर्मयुक्त शरीर प्राप्त गर्छ । प्रकृति र मानव तथा समस्त प्राणीप्रति दुव्र्यवहार, लोभ, लालच, मद, मात्सर्यमा भुलेको छ, अर्थात तामसी व्यवहार गरेको छ भने त्यस्तो व्यक्ति मरेपछि आत्मा भड्किरहन्छ । त्यस्तो आत्मिक अशुद्ध शक्ति जिउँदो छँदा लामो समय माया र भरोसा गरेका आफ्ना सन्तानको नजिक आइरहन्छ । यो नै विज्ञानसम्मत हो भन्ने गरिन्छ ।

मरिसकेका मान्छे श्राद्ध खान आउलान् ?

अहिलेको नयाँ पुस्ताले हरेक चाडपर्व मनाउनु पछाडिका वैज्ञानिक कारण खोज्न थालेको छ । वैज्ञानिक युगमा हुर्केको नयाँ पुस्ताले कारण खोज्नु स्वाभाविकै हो । कारणविना कर्म हुँदैन भनेर हाम्रो धर्मशास्त्रले पनि भनेको छ । तर, चाडपर्व मनाउनुका चित्त बुझ्दा कारणहरू हाम्रा पौराणिक ग्रन्थमा नभएका हुन् या भएर पनि अहिलेका पण्डितहरूले व्याख्या गर्न नसकेका हुन् ? नयाँ पुस्ता अन्योलमा छ । मरिसकेका मान्छे श्राद्ध खान कसरी आउँछन् ? नयाँ पुस्ताले प्रश्न गर्नु स्वभाविकै हो । आफ्ना सन्तानले गरेको श्राद्ध पितृ कहाँ पुग्छ वा पुग्दैन ? यी यावत प्रश्नको जवाफ श्राद्धको कर्मभित्र पाउन सकिएला कि नसकिएला । जे होस् पितृदेवताको भक्ति तथा पूजा हाम्रो सनातन धर्म संस्कृतिमा अनिवार्य छ । हरेक देवी देवताको भक्ति तथा पूजा गर्नुभन्दा पहिला पितृ देवताको पूजा गर्न अनिवार्य छ भन्ने मान्यतामा हामी अडेका छौँ । पितृ देवता प्रसन्न भए मात्रै देवी देवताले फल दिन सक्छन् भन्ने हाम्रो मान्यता छ । यो कृषिसँग पनि जोडिएको संस्कृति हो । हरेक कृषि उपज पितृ देवता तथा देवी देवतालाई अर्पण गरेर मात्रै आफूले ग्रहण गर्नुपर्ने धार्मिक मान्यता छ । यही मान्यताअन्तर्गत हाम्रा तमाम चाडपर्वहरू छन् । हामीले सम्झनु पर्ने पाटो के हो भने वैज्ञानिक कारण देखिएन भन्दै संस्कारहरू त्याग्नुको सट्टा यी संस्कारहरूका वैज्ञानिक कारण खोज्नतर्फ लाग्नुपर्छ ।

हामीले खोज्न नसके भविष्यको पुस्ताले खोज्ला भनेर भएका अवशेषहरुलाई संरक्षण र सङ्ग्रहित गरिदिने जिम्मेवारी हाम्रो हो । सनातनीहरूको मूल ग्रन्थ हजारौँ बर्ष लगाएर अनुसन्धान गरी लेखिएको मान्यता छ । वेदका कतिपय कुराहरू पुराणले प्रमाणित गर्न नसके पनि विज्ञानले प्रमाणित गरिसकेको छ । उदाहरणका लागि पानीबाट आगो निस्कन्छ भन्ने वेदको वाक्यलाई पुराणले घोक्न मात्रै लगायो तर विज्ञानले पानीबाट बिजुली निकालेर प्रमाणित गरिदियो । विज्ञानले पनि सौर्यमण्डलहरूमा रहेका ग्रहहरूको गतिका कारण दूरी पनि कहिले नजिक र कहिले टाढा हुने कुरा प्रमाणित गरिसकेको छ ।

विभेदको टर्रो पन

कुनै पनि बावुआमाका छोरा र छोरी समान सन्तती हुन् । छोरा समान छोरीले पनि जिम्मेवारी बोध गर्न सक्छन् । तर, छोरीले श्राद्ध गर्न नमिल्ने परिपाटी कसले बसाल्यो यो गलत छ । छोराले दिएको पितृले पाउँछन् भने छोरीले दिएको किन नपाउने ? यो प्रश्न आजको वैज्ञानिक तथ्यका आधारमा अघि बढ्ने युगका युवा पुस्ताले अवश्य पनि गर्न सक्नुपर्छ । त्यस कारण श्राद्ध भनेको अन्धविश्वासको एउटा जीवन्त निरन्तरता हो भने यस्तो किसिमको विभेदपूर्ण अर्थात् समाजलाई नै टर्रो बनाउने र अन्तरविरोधमा फसाइदिने कोणबाट गरिने श्राद्धको अन्त्य हुनुपर्छ । यसको मतलब श्राद्ध नै नगर्नु या गर्न छोड्नु भनेको होइन, तर लिङ्गीय रुपले विभेद गर्ने र छोरा र छोरीबिच अन्तरविरोध श्रृजना गरेर एकताको समाजलाई भड्काउने तरिकाले गरिने पितृश्राद्ध भने स्वच्छ पितृ स्मरणीय नभएर उल्टै बाँचेकाहरुको पनि मन कुँड्याउने र जीवनभर टर्रो बनाउने हुन्छन् भनिएको हो ।

श्राद्धभित्र लुकेको विज्ञान

अहिले वैज्ञानिकहरू पनि अर्काे सौर्यमण्डलमा पुग्नका लागि प्रकाशको गतिभन्दा छिटो पुग्नसक्ने यन्त्रको आविष्कारमा जुटिरहेका छन् । त्यसैले, हाम्रा संस्कृति तथा परम्पराका सुरुआतका पछाडि निश्चित कारण छन् । कारणविना कर्म हुँदैन । तर, हामीले हाम्रा संस्कारका वैज्ञानिक पक्ष भुल्दै जाँदैछौँ । हाम्रो कर्मकाण्डले विज्ञानसँग कति सम्बन्ध राख्छन् भन्ने कुरा हामीले अध्ययन गर्नुपर्ने विषय हो । पृथ्वी रहेको सौर्यमण्डल बाहेक पनि अनेक सौर्यमण्डल छन् भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाइसकेको कुरा हो । मात्र कर्म विज्ञान, लोक विज्ञान र खगोल विज्ञानको ब्याख्या फरक ढङ्गले गरिएको हो । वेदले लोक भन्यो विज्ञानले सौर्यमण्डल भनेको छ । फरक यही हो । वेदलाई आधार मानेर रचना गरिएका पुराणमा पृथ्वीलोकमा एक वर्षको समय पितृलोकमा एक दिनको समय हुन्छ, भनिएको छ । पृथ्वीको एक वर्ष पृथ्वीबाट सबैभन्दा नजिक रहेको अर्काे सौर्यमण्डलमा एक दिन हुन्छ भनेर विज्ञानले पुष्टि गरेको छ । अनुसन्धानद्वारा नयाँ आविष्कार गर्नसक्ने क्षमता भएकालाई हामी ऋषि भन्छौँ, पश्चिमाहरू रिसर्चर भन्छन् । ऋषि शब्दबाट रिसर्चर भएको हो भन्ने बुझ्न सकिन्छ ।

श्राद्धको सवल पक्ष

श्राद्ध भनेको एक प्रकारको आत्मानुशासन पनि हो । यसैगरी, श्राद्धमा आफ्ना बाबुतर्फका तीन पुस्तासम्म माथिकालाई र आमातर्फका चार पुस्तासम्म माथिका पितृलाई पिण्डदान गर्ने प्रचलन छ । यो प्रचलनले अरू केही नभए पनि माथिल्लो पुस्ताका व्यक्तिहरूको नाम अभिलेखीकरण गर्न मद्दत पु¥याएको छ । यही अभिलेखका आधारमा यतिवेला हरेक थर गोत्रीय र आफ्नो वंशावली निकालिरहेका छन् । बुबातर्फका तीन पुस्तासम्मकालाई स्मरण गरे पुग्ने आमातर्फका भने चार पुस्ता माथिकालाई स्मरण गर्नुपर्ने परम्पराका कारण पनि हाम्रो संस्कारले मातृशक्तिलाई महत्व दिएको देखिन्छ । जसले आफूलाई सृष्टि गरेको छ, जसको सम्पत्ति आफूले उपभोग गरिएको छ त्यसलाई सम्झनु सन्तानको कर्तव्य हो ।

वर्षको एकपटक अर्थात आश्विन कृष्ण पक्षका १६ दिन पितृलोक पृथ्वीको सबैभन्दा नजिक आउँछ र त्यसबेला पितृहरूले आफ्ना सन्ततिका गतिविधि नियाली रहेका हुन्छन् भन्ने हाम्रो धार्मिक मान्यता र बुझाइ हो । गलत परम्परालाई त्याग्ने नाममा असल संस्कृति धरापमा नपरोस् भन्नेतर्फ सोच्नु जरुरी छ । बिपी कोइरालाको एउटा भनाइ छ, ‘एउटा इनारको फोहोर पानीमा बालक नुहाइरहेको छ, हामीले फोहर पानी फाल्नु छ तर त्यो बालकलाई पनि जोगाउनु छ । फोहोर पानी फाल्ने नाममा बालकसमेत नफालियोस् ।’ हाम्रा संस्कृतिमाथि प्रश्न उठ्नुमा जो रक्षक उही भक्षक भने झैँ भएको छ, यो विषयमा समीक्षा गर्नु जरुरी छ ।

निष्कर्ष

हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौँ । कानुनतः मुलुक धर्म निरपेक्ष राज्य भइसकेको छ । यो परिवेशमा कसैको धार्मिक इच्छाप्रति अंकुश लाग्नेवाला छैन । आप्mनो इच्छा अनुसारको धर्म, कर्म गर्न सबैलाई छुट छ । हामी सबैले आप्mना तरिकाले पितृ र पूर्खाको स्मरण गर्न कसैले रोकछेप गर्ने छैन । हामीले आफ्नो सत्कर्म गर्न पाउँछौँ । पितृ र पूर्खालाई स्मरण गर्नु हाम्रो कर्तब्य पनि हो । आफ्नो जन्मदाता, सृष्टिदाता तथा अन्न दातालाई सम्झने चेष्टा जसले गर्दैन, उसले आफ्नो अन्य दायित्व तथा जिम्मेवारी पनि पूरा गर्न सक्दैन । तर, सम्झने विधि र तरिका भने फरक हुन सक्छन् । सम्झने नाममा गेरु वस्त्र धारण गरेर कमण्डलु बोकेर मुण्डित हुँदामात्र पितृ खुशी हुन्छन् भन्नेचाँहि छैन । आत्मा र शरीर दुवै सफा हुन भने जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: