श्रीस्वास्थानी व्रतकथा कति ठिक कति बेठिक ?

  प्रकाशित मिति
१८ माघ २०७६, शनिबार १२:१७


                  मायामितु 

यतिखेर हिन्दु धर्म सम्प्रदायमा श्रीस्वस्थानी व्रतकथा चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिन सुरु भएर माघ शुक्ल पूर्णिमाका दिन सकिने एक महिने व्रत पूजामा ३१ अध्यायको स्कन्ध पुराणको केदारखण्डको माघ महात्मे पुराण दिनहुँ वाचन गरिन्छ । कथाका श्रोताहरु महिला पुरुष, बृद्धबृद्धा, जवान र बालक पनि हुने भएता पनि व्रत बस्ने र दिनहुँ पूजा गर्ने कर्ता चैं प्रायः महिला नै हुने गरेका छन् । श्रीस्वस्थानी पर्व, यसको पौराणिक मान्यता, कथाबस्तु र यसको प्रभावको बारेमा अचेल हरेक वर्ष चर्चा परिचर्चा बढ्ने गरेको छ ।

आलोचकहरुले यसलाई समाजमा महिला हिंसा र विभेदकारी ग्रन्थको रुपमा व्याख्या गरेका छन् भने समर्थकहरुले यो पुस्तक तत्कालिन हिन्दु समाजको ऐनाको रुपमा बुझ्दै यसमा उल्लेख भएका सकारात्मक धार्मिक व्याख्यालाई परिमार्जन सहित अनुसरण गर्न सके भत्किंदै गएको नेपाली सामाजिक र धार्मिक व्यवस्थालाई जोड्न सकिने तर्क दिने गरेका छन् । श्रीस्वस्थानी व्रतकथा र यसको सारलाई समाजशास्त्रीय दृस्टिकोणले पनि हेर्नु उत्तिकै जरुरी छ । सनातन हिन्दु धार्मिक परम्परामा मानिंदै आएका अष्टमातृका अर्थात आठ नारी शक्ति मध्य श्रीस्वस्थानी देवी पनि एक हुन् भन्ने शास्त्रीय मान्यता रहि आएको छ । हिन्दु धर्मका १८ पुराण मध्य अधिकाँश पुराण एक पात्रले अर्को पात्रलाई सुनाएको श्रुतीको अभिलेख ग्रन्थ हुन् । यसमध्यमा कृष्ण र अर्जुनविचमा भएको वार्तालाप(श्रीमद् भागवत् गीताको रुपमा प्रख्यात छ भने भगवान् महादेवका पुत्रका रुपमा मानिंदै आएका कुमारजी र अगस्त्य मुनिका विचको संवाद ं श्रीस्वस्थानी व्रतकथाको रुपमा व्याख्या गरिएको छ ।

श्रीस्वस्थानी व्रतकथाका अनुसार, सत्यकालमा महादेब भगवान स्वामि पाम् भनेर पार्वतीले गरेको पूजा अनुष्ठान अनेकौं दुःखबाट मुक्ति पाउन विधवा गोमा ब्राह्मणीले गरेको श्रीस्वस्थानी व्रतकथा नै श्रृति परम्पराको रुपमा समाजमा स्थापित भएको हो । यद्यपि यसको कुनै ठोस् प्रमाण भने कतै उल्लेख छैन ।

स्वस्थानी व्र्रतको सकारात्मक पक्ष के हो भने कमसेकम एक महिना सम्म व्रतालुको घरमा शुद्द शाकाहारी भोजन पाक्छ । यो समयमा घरमा माँश र मध्यपान निषेध हुन्छ । महिना दिनभरी पूुजा आराधनामा तल्लीन हुनाले मनमा कुविचार पनि आउँदैन । मन शान्त हुन्छ ।

नेपाली समाजमा स्वास्थानी पूजा कहिलेदेखि गर्न थालियो भन्ने ठोस प्रमाण नभएकाले पनि यसको पौराणिकता र आधिकारिकताका बारेमा किटान गर्न गार्हो छ । स्वस्थानीमा यो कथा स्कन्ध पुराणबाट लिइएको भनिए पनि स्कन्ध पुराणमा यसको चर्चा गरिएको छ कि छैन भनेर कहिं कतै विद्वानहरुले चर्चा गरेका छैनन् । नेपालमा मन्दिर बनाउने, धार्मिक संस्कृतिको विकास र प्रवर्धन गर्ने संस्कृति र परम्पराको थालनी मल्ल शासनकालमा सुरु भएको र यो समय नै नेपालको धार्मिक र वास्तुकलाको स्वर्ण काल भएकाले त्यही समयदेखि नै स्वस्थानी पूजा गर्न थालियो कि भन्ने कसैकसैको तर्क छ । यसैलाई आधार मान्दा स्वस्थानी व्रतकथाको पुस्तक सबै भन्दा पहिले संस्कृतमा लेखिएको थियो र मल्ल कालमा मुख्य भाषा पनि संस्कृत नै थियो । स्वस्थानीको कथा काठमाडौं खाल्डो र हालको साँखु बजार र त्यहाँको शाली नदि वरिपरि नै घुमेको छ । अहिले पनि विशेषत काठमाडौंको नेवार परिवारमा स्वस्थानी पुजा गरिन्छ । उपत्यका र उपत्यका बाहेक देशका अन्य भागमा हिन्दु ब्राह्मण, क्षेत्री, ठकुरी, दसनामी र मधेसी समाजमा श्रीस्वस्थानी पूजा गरिने प्रचलन छ । आधुनिकताका साथसाथै यसको व्रत पूजा परम्परामा केही कमि आएको भएता पनि हरेक गाउँमा वर्षेनी पालै पालो घरहरुमा स्वस्थानी व्रत लिने र गाउँ भरका मानिसहरु जम्मा भएर व्रतकथा सुन्ने सुनाउने परम्परा यद्यपी छँदैछ ।

श्रीस्वस्थानी व्रतकथामा उल्लेख भएका शक्ति पिठमा अहिले पनि धुमधामका साथ पूजाआजा हुने हुनाले यो पुस्तक एक दुई सय वर्ष अगाडी लेखिएको सामान्य पुस्तक मात्र हो कि भन्ने अनुमान गलत हुन्छ । कथामा उल्लेख भए अनुसार आफ्ना बाबुले आफ्ना पतिलाई गरेको अपमान सहन नसकी आत्मदाह गरेकी सति देवीको शरीर बोकेर हिंड्ने क्रममा उनको अंग जहाँ जहाँ खस्यो त्यहाँ देवीको शक्तीपीठ उत्पन्न भयो । त्यहाँ उल्लेखित शक्तिपीठहरुमा सदियौं पुराना मन्दिर छन् र अहिले पनि त्यहाँ आस्थावानहरुले पूजा अर्चना गर्दछन् । काठमाडौंको गुह्यश्वेरी, स्याङ्जाको छाङ्छाङ्दी यी मध्यका केही शक्तिपीठ हुन् । नेपाल बाहेक भारत बंगलादेश र श्रीलंकामा पनि स्वस्थानीमा उल्लेख भएका शक्तिपीठमा धुमधामले पूजाआजा हुने गरेको पनि बताइन्छ ।

सबैभन्दा पहिलो स्वस्थानी व्रत कथाको पुस्तक बि.सं. १६३० मा संस्कृतमा लेखिएको पाइन्छ । संस्कृतबाट बि.सं. १६५९ मा नेवारीमा अनुवाद गरिएको व्रतकथालाई काठमाडौं उपत्यकाका नेवारी समाजमा घर घरमा यसको वाचन र श्रवण गरिन्थ्यो । पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसके पछि उपत्यकाको धर्म तथा संस्कृतिलाई अंगाल्दै जाने क्रममा स्वस्थानी व्रतकथालाई बि.सं. १८६६ मा नेपालीमा अनुवाद गर्न लगाइ अन्यलाई पनि स्वस्थानीको व्रत बस्न तथा पुस्तक पढ्न लगाएका भनी इतिहासकार एवम संस्कृतिविद्हरुले उल्लेख गरेका छन् । यसरी काठमाडौंमा गैर नेवारहरुको आवागमन पश्चात् नेवारी बाहेकका समुदायमा पनि स्वस्थानी व्रत बस्ने परम्पराको थालनी भयो भन्ने मानिएको छ । अचेल नेवार भन्दा पनि गैर नेवारहरु वढी स्वस्थानीको व्रत बसेको पाउँछौ ।

स्वस्थानी व्र्रतको सकारात्मक पक्ष के हो भने कमसेकम एक महिना सम्म व्रतालुको घरमा शुद्द शाकाहारी भोजन पाक्छ । यो समयमा घरमा माँश र मध्यपान निषेध हुन्छ । महिना दिनभरी पूुजा आराधनामा तल्लीन हुनाले मनमा कुविचार पनि आउँदैन । मन शान्त हुन्छ । व्रत समाप्ति अर्थात साँगे पूजाको दिन गाउँभरिका जम्मा भएर भोज भतेर गरिने हुँदा एक प्रकारले पर्वको माहोल बन्छ र सामाजिक एकता कायम गर्न मद्दत पु¥याउँछ । स्वस्थानीका शक्तिपीठहरुमा पूजा र दर्शन गर्न आउने आन्तरिक पर्यटकले त्यो ठाउँको विकास गर्न थोरै भएपनि योगदान दिन सक्छ । आधुनिकताको नाममा भ्रष्टिकरण हुँदै गइरहेको समाजमा स्वस्थानी कथाले थोरै भए पनि भक्तिभाव जगाउने र धार्मिक आस्था बढाउन सक्छ । स्वस्थानीका शक्तिपीठहरुमा पूजा र दर्शन गर्न आउने आन्तरिक पर्यटकले त्यो ठाउँको विकास गर्न थोरै भएपनी योगदान दिन सक्छ । स्वास्थानीका श्लोक पढेको सुनेको आधारमा धेरैलाई साहित्यतर्फ रुचि बढ्न सक्छ । संस्कृतका मिठा श्लोकले पनि धेरैलाई संस्कृतको अध्ययनमा रुचि बढाउन सक्छ ।
यो कथा नारीको हितमा छैन भनेर चर्चा चलिरहँदा नारी शक्तिको रुपमा हेर्न सकिन्छ कि सकिदैन होला । कथाकी मुल पात्र गोमा ब्राह्मणी सुरुमा अत्यन्तै निरीह नारी पात्र भए पनि कालान्तरमा उनलाई राजमाताको रुपमा व्याख्या गरिएको छ भने स्वस्थानी देवीलाई पनि शक्तिशाली देखाईएको छ । यौनको चर्चा बर्जीत जस्तै नेपाली परम्परावादी समाजमा यो व्रतकथामा सविस्तार चर्चा गरिएका विभिन्न यौन कथाले यौन सम्बन्धी थोरै भए पनि ज्ञान दिन सक्ने र यौन पढ्नै नहुने, सुन्नै नहुने विषय होइन बरु समूहमै बसेर सुन्न पढ्न र छलफल गर्न सकिने र गर्नु पर्ने विषय हो भनेर जानकारी दिएको छ । धार्मिक ग्रन्थको मूल सार भनेको अधर्म माथि धर्मको विजय र धार्मिक राज्यको स्थापना नै हो ।

पुस्तकका कथालाई पूर्ण काल्पनिक नै मान्ने हो भने पनि अन्तमा यसले धार्मिक समाज निर्माण गर्न सत्कर्ममा लाग्नमा र सत्यको मार्गमा हिड्न युवाहरुलाई प्रेरित गरेको तथ्य चाहिँ भुल्नु हुन्न । त्यसो त समाजशास्त्रीहरुले यो पुस्तकको आलोचना पनि उत्तिकै गरेका छन् । पुस्तक धार्मिक ग्रन्थ हो या धर्मको नाममा लेखिएको एकदम काल्पनिक ग्रन्थ हो भन्नेमा विवाद पनि उत्तिकै छ । ग्रन्थका कथामा नारीहरु माथि अत्याचारका घटना अत्याधिक भएका छन् । धर्म बचाउने कार्य केबल महिलाको हो भन्ने खालको भ्रमपूर्ण कथाले पुरुष स्वतन्त्र र महिला धार्मिक कानूनमा बाँधिनु पर्ने एक प्रकारको सन्देश दिएको उनीहरुको मत छ । पुस्तकमा महिलाले मात्र व्रत बस्नु भनेर किटान नगरेको भए पनि यो व्रत अशिकाँश महिला नै बस्ने गर्दछन् । व्रतमा फल नैवैद्य केवल घरका पुरुष सदस्यलाई मात्र खुवाउनु भनिएको छ यद्यपी यो नियम भने समाजमा पालन भएको पाइदैन । सात वर्षिया बालिकाको सत्तरी बर्षे बुढासंग बिहा गरेको प्रसंगलाई आलोचकले सबै भन्दा प्रमुख मुद्दा बनाएका छन् तर यो घटना त्यो समाजको प्रतिबिम्ब पनि हो जस्तो लाग्छ । हाम्रै हजुरआमाको पालासम्म पनि बहु विवाह र बाल विवाह अनि अमेल विवाह प्रचलित भएको अवस्थामा यो ग्रन्थका लेखकले त्यो समाजको वास्तविक चरित्र उतारेका हुन् कि भन्न सकिन्छ । त्यसैले एउटा घटना प्रसंगलाई लिएर समग्र ग्रन्थकार र कथाको मर्म माथि नै प्रहार गर्नु न्याय संगत नहुने तर्क गर्नेहरु पनि छन् । ग्रन्थमा परस्त्री गमन गरिएका थुप्रै प्रसंग छन् तथापी त्यसको गलत परिणामको बारेमा पनि ग्रन्थले बोलेको छ ।

स्वस्थानी ग्रन्थले दिएको सकारत्मक पक्षलाई आत्मसात गर्न सके धार्मिक प्रवृत्तिमा मन जाने र एउटा नैतिकवान व्यक्तिव समाजले पाउने कुरा कल्पना गर्न सकिन्छ । नकारात्मक कुरालाई त्यो समाजको त्यो समयको चित्रणको रुपमा लिंदा राम्रो हुन्छ । व्रत बस्दा स्वस्थ्य राम्रो हुनेले बस्ने हो । भोको बसेर गर्ने व्रत होइन यो केबल शुद्धाशुद्धिमा ध्यान दिए पुग्छ भनिएको छ त्यसैले शाकाहारी भोजन र आत्मा, मन र शरीर शुद्द गर्नु आफ्नो र समाजको लागि हितकर नै हुन्छ । स्वस्थानी पूजा गर्ने पर्ने अनिवार्य कहिं कतै नभएको हुनाले यसलाई आलोचनात्मक बनाइरहनु भन्दा पनि केवल धार्मिक आस्था र परम्पराको निरन्तरताको रुपमा लिंदा राम्रो हुन्छ । पूजाआजामा दान दक्षिणा दिंदा दिने र लिने दुबै खुसी र सन्तुष्ट हुने हुँदा यो पनि समाजसेवाको एउटा पाटो बन्न सक्तछ ।
स्वास्थानीमा पुस्तान्तरले धेरै असर पारेको छ । स्वस्थानीमा मात्र होइन । हरेक कुरामा पुस्तान्तरको महत्वपूर्ण भूमिका हुन्छ । चेतनको विकाससगै भएको परिवर्तनले यस्तो भएको हुनु पर्छ । हजुरआमाको पुस्ताले व्रतकथामा उल्लेख भएको हरेक कुरा सत्य भन्छ । आमाको पुस्ताले हामीभन्दा पाको हजुरआमा हुनुहन्छ । उहा“ले भनेपछि पक्कै हो भन्छ, छोरी बुहारीको पुस्ता यस्ता कुरामा अल्झिएर बस्छ भन्ला । चेतना र बुझाइले पनि फरक पार्छ धेरैहदसम्म ।

व्रतका हिमालय पुत्री पार्वतीको जसरी हामी चर्चा गर्छाै तर व्रतकथामा भने त्यति महत्व र स्थान दिइएको पाइदैन । खाली उनले पतिको लागि गरेको त्याग मात्र देखाइएकोछ । जसरी उनले महादेव पाउन कठोर व्रत बसिन र व्रत समापन पछिको प्रसाद ग्रहण छ त्यो प्रसाद एक सय रोटी आफूले खानु, आठ रोटी पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मितछोरा पनि नभए मनको इच्छा पूरा होस भनेर खोलामा बगाइदिनु भन्ने उल्लेख छ तर छोरीलाई दिनु भन्ने कहीकतै उल्लेख गरिएको छैन । आखिर खोलाभन्दा पनि टाढाको रहेछ नि त शास्त्रमा स्त्री अर्थात महिला । फेरि कुनै शास्त्रले त्यही स्त्रीलाई दर्गा, देवी, सरस्वती, महाकाली भनेको छ । कस्तो विडम्बना, महिलाले एक महिनासम्म कठोर व्रत बस्ने उनै महिलाले व्रतको प्रसादी महिलालाई दिन नहुने सा“चिच्कै अन्याय नै भएको होइन र ? महिलाको क्षमता, बुद्धि र साहसलाई भन्दा पनि उनीहरुको सौन्दर्यलाई हेरेर वर्णन गरिएको छ । कहि पनि महिलाको साहसलाई बयान गरेको पाइदैन बरु मध्याह्नकालका सूर्यको जस्तो तेज भएकी, पूर्ण चन्द्रजस्तो मुख, हात्तीका सु“डजस्ता हातपाउ, बाघको जस्तो कम्मर, सावित्रीका जस्ता पैताला भएको भनेर रुपको बर्णन गरिएको छ । यसबाट के यस्तो शरीर नभएकी महिलाले पढे भने के होला ? के सोच्दा हुन् ? उनीहरुमा नराम्रो हुनुको हिनताबोध हुन्छ कि हुदैन । कथामा अघि मैले पुरुषले बाध्य पार्दैनन भन्दै भन्दै पनि कतिपय अवस्थामा यस्ता कुराहरुले महिलामाथि हदै सम्म अन्याय भएको लाग्छ । कथामा पुरुष पनि राम्रो हुनुपर्छ भनेर कहिकतै उल्लेख छैन तर महिला राम्री हुनु पर्छ भन्नेमा जोड दिइएको पाइन्छ । आखिर स्त्री मात्र होइन पुरुषले पनि त्यस्तका कार्य गर्नु हुन्न भनेर किन उल्लेख गर्न सकेन शास्त्रले ।

धार्मिक आस्था र मान्यता एकातिर होला । धर्म हो भन्दैमा अन्याय र अत्याचारलाई शिरोपण गर्नुपर्छ भन्ने पनि छैन । कथामा उल्लेख भएअनुसार दक्ष प्रजापतिकी पत्नी विपणीले तेत्तीस करोड छोरीहरू जन्माएको थिइन भनेको सुन्दा आङै सिरिङ हुन्छ । एकजना महिलाको प्रजनन क्षमता कति भन्नेमा पनि उक्त वाक्यले शंका थपिदिएको छ । परम्परा, संंस्कार हटाउन मुस्किल छ । तर समय सापेक्ष परिमार्जन गर्न आवश्यक छ । त्यसैले कति सत्य थिए कति थिएनन त्यो ऊ बेलाको कुरा हो तर आधुनिक स्वस्थानी व्रतकथा कस्तो बनाउने भन्नेमा आधुनिक महिलाहरुले सोच्नु पर्ने समय आएको छ ।
बाँकी, स्वास्थानी व्रत लिने नलिने, कथा सुन्ने नसुन्ने, आलोचना या समर्थन गर्ने पाठकको खुशी, किनकी हिन्दु धर्ममा हरेक धार्मिक अनुष्ठान, परम्परा र नियम मान्न नमान्न हरेक व्यक्ति स्वतन्त्र छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: