भद्रपुर, ३ जेठ । संयुक्त युवा परिवारले भद्रपुर –९ का स्थानीय संघसंस्था तथा क्लवहरुलाई हातधुनका लागि राखिने पानीका ट्याङ्की वितरण गरेको छ ।
तीन सय लिटरका एक एक थान ट्याङ्की पारिजात मंगलबारे बजार व्यवस्थापन समिति, प्रगतिचोकको दुर्गा भजन मण्डली, देवकोटा चोकेको देवकोटा ज्येष्ठ नागरिक चौतारी, प्रकाशपुर चोकको लगनशील महिला समूह र प्रगति टोलको लाली गुराँस सिर्जनशील भजन समूहलाई वितरण गरिएको हो ।
परिवारका अध्यक्ष खगेन्द्र पराजुलीले कोरोना महामारीको रुपमा फैलिरहेको बेला चोक तथा बाटाहरुमा पानी ट्याङ्की राखेर सर्वसाधारणलाई हात धुन सजिलो होस् भन्ने उद्देश्यले वितरण गरिएको बताए । परिवारका सचिव खगेन्द्र ढुंगाना, सहसचिव खेमराज दाहाललगायतले समितिका अध्यक्ष तथा प्रतिनिधिहरुलाई ट्याङ्की हस्तान्तरण गरेका थिए ।
स्थापनादेखि नै सामाजिक रुपमा क्रियाशील रहँदै आएको संस्थाले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने उनको भनाई छ ।