संस्कारले मृत्यु शैयामा पुर्याउँछ

  प्रकाशित मिति
२७ श्रावण २०७३, बिहीबार १०:४८


naresh-khati1-225x300
कुनै राज्यमा एउटा पुरानो जीर्ण दरबार थियो । दरबार यति जीर्ण थियो कि, अलि ठूलो हावा चल्दा त्यसका पर्खाल ढल्ला–ढल्ला हुन्थ्यो । आकाश गड्गडाउँदा दरबार थर्थराउँथ्यो । मानिसहरू त्यहाँभित्र पस्न डराउँथ्ये । एक दिन दरबार संरक्षण कमिटीले ठूलो भेला बोलायो । दरबार पुनर्निर्माणका लागि प्रस्ताव राख्यो । जुन भेलाले चार ओटा प्रस्ताव सर्वसम्मतिले पास गर्यो । पहिलो पुरानो दरबारलाई भत्काउने, किन कि यो ज्यादै पुरानो भयो । त्यसपछि तत्काल दोस्रो प्रस्ताव पास गर्यो, उक्त स्थानमा नयाँ दरबार बनाउने ता कि पुनः उक्त दरबारमा बस्न सकियोस् । तेस्रो, प्रस्ताव नयाँ दरबार पुरानो जस्तै ढाँचामा निमार्ण गर्ने, पुरानै दिवालको अधारमा नयाँ दिवाल, पुरानै झ्याल, ढोका भर्याङ्ग लगाउने बिल्कुल पुरानै जस्तो, यो प्रस्ताव पनि सर्वसम्मतिले पास गरियो । सँगसँगै चौथो प्रस्ताव स्वीकार गरियो । जबसम्म नयाँ दरबार बन्दैन, तबसम्म पुरानो नभत्काउने । यो प्रस्ताव पनि सर्वसम्मतीले पास गरियो । अब पुरानो दरबारको ठाउँमा नयाँ दरबार नबन्ने भयो । पुरानो दरबार पुरानै रहिरह्यो । यो दरबार अब कसरी भत्किन्छ, पुरानो नभत्काउने बहानामा नयाँ बनाउँन अड्चन ल्याउने काम भयो ।

हिन्दूधर्ममा रहेको संस्कारमध्येको मृत्यु संस्कार अनुपयुक्त भयो भन्दै व्यापक आलोचना हुँदै आएको छ । किरिया संस्कार १३ दिनसम्मको लामो भयो भनेर कर्मकाण्ड महासङ्घले पनि ३ दिन वा ५ दिन किरिया बसे पुग्ने प्रस्ताव गर्यो । जुन कार्य व्यवहारमा लागू हुन सकेको छैन । अरूबेला कुसंस्कारको खरो विरोध गर्ने कम्युष्टिदेखि शिक्षितहरू आफूले लागू गर्ने बेलामा, लुरुक्क परेर कुकुरले पुछार टाङमुनि हाले झैं कथित ‘समाज र लोकका लागि गर्नै पर्यो नि’ भन्दै तालु खुइल्याएर सेतो लुगा लगाएर, गरूड पुराणको दन्तेकथा सुन्दै त्यसै अनुरूप व्रिmयाकलाप गर्छन् ।
राज्य धर्मनिरपेक्ष भए पनि हाम्रो सामाजमा शासन हिन्दूधर्मका कुसंस्कारले गर्दै आएको छ । मृत्यु संस्कारबारे गरूड पुराणले गरेको व्यवस्थाबारे केही चर्चा गरौँ ।

दान दक्षिणा
आफन्तको मृत्युले शोकाकुल अवस्थामा रहेको छोरा, छोरी परिवारजनको भावना संवेदनशील हुन्छ । त्यही समयमा पुरोहितले गरूड पुराण सुनाएर मृतकका छोरा, छोरीलाई त्रसित पार्दै, लटीपटी पार्न पछि पर्दैनन् । जुन–जुन दान मानिसले पृथ्वीमा गर्छ, त्यस–त्यस फल यमलोकको बाटोमा उसको अगाडि उपस्थित हुन्छ । सुनदान गर्ने दाता यमलोक होइन, स्वर्गलोक जान्छ । सत्पात्रलाई जति भूमि खण्डमा एक सय साढे सहित गाईहरू आरामसँग बस्न सक्दछन् त्यति भूमि विधिपूर्वक दान गर्नाले ब्रह्म हत्याबाट पवित्र हुन्छ । बाबुले कमाएको सम्पत्ति सबै दान गर्यो भने सन्तानले समेत मोक्ष पाउँछन् । (गरूड पुराण आठौँ अध्याय)
भूमिदान, सुनदान, चौपायादान, द्रव्यदान, भाँडावर्तन, वस्त्रादि दान गरेपछि मात्र कथित धर्मराजको ढोका स्वर्ग जान खुला हुन्छ भनी, यसरी दानका नाममा ठगिइन्छन मृतकका आफन्तहरू ।

लैङ्गिक विभेद
अरू ग्रन्थ जस्तै गरूड पुरानमा पनि पुरूष र महिला बिच निकै ठुलो विभेद छ । त्यहाँ छोरालाई महत्व दिएको छ । छोरा छैनन् भने पत्नीले, पत्नी छैनन् भने, सहोदर दाजु भाइले, यदि कुनै ब्राह्मणको चेलो वा दशदिने दाजुभाइले किरिया गरून । (एघारौँ अध्याय)

पुत्रवान धार्मिक पुरूषहरूको दुर्गति कहिल्यै हुँदैन् यदि खराब कर्मले पुत्र जन्मको अवरोध भयो भने कोही पनि मनुष्य कुनै उपायले पुत्रोत्पति गरोस् । पुत्रको मुख देखेर पितृव्रmणबाट मुक्त हुन्छ । एउटै धर्मात्मा पुत्र भयो भने सबै कुलको उद्धार हुन्ज्छ किनभने, मनुष्य पुत्रद्वारा स्वर्ग आदिलोक जित्छ । पुत्र पुं–नामक नरकबाट पिताको रक्षा गर्दछ एवम् वैतरणी आदि नरकहरूबाट पिता नरकमा जाँदैनन् । जुन दुर्गति पुत्रहीन पापी मनुष्यहरूको हो । जो पुत्रवान धर्मात्मा पुरूष छन् ती कहिले यस्तो दुर्गतिहरूमा पर्दैनन् । (गरूड पुराण सातौँ अध्याय)
जुन पुराणले पुरूष र महिला बिचमा विभेद कायम गराएको छ ।

वर्ण व्यवस्थाः
गरूड पुराणले वर्णाश्रम व्यवस्थालाई टिकाउन त्यसमा भएका विभेदलाई कायम राख्न पर्याप्त सहयोग मात्र होइन ठूलै भूमिका खेलेको छ । पुराण भन्छ ‘रत्नहरू चोर्ने निचकुलमा जन्म लिन्छ । वर्णाश्रमको निन्दा गर्ने वनमा परेवा हुन्छ । हिनजातिको कन्याबाट उत्पन्न पुत्रलाई पितृ–कार्यमा त्यागिदिनु । शुद्रणीबाट सन्तान उत्पन्न गरेपछि त्यो ब्राह्मणको गुण–कर्म हीन हुन्छ । (गरूड पुराण सातौँ अध्याय)
ब्राहमण दश दिनमा, क्षत्रीय बाह्र दिनमा, वैश्य पन्ध्र दिनमा र शुद्र एक महिनामा शुद्ध हुन्छ । (बाह्रौँ अध्याय)
यस गरूड पुराण सुन्ने ब्राहमणले विद्या प्राप्त गर्दछ, क्षत्रीयले पृथ्वी पाउँछ, वैश्यले धन पाउँछ, शुद्र पातकदेखि शुद्ध हुन्छ । (सोह्रौँ अध्याय)

सती प्रथा
विसं. १९७७ मा चन्द्र शमशेरले यो कुप्रथालाई कानुनतः अन्त्य गरे पनि मृत्य संस्कार गर्ने बेलामा गरूढ पुराण सुनाएर सती प्रथाको महिमा गाइरहिएको छ । हामी कम्युनिष्ट, शिक्षित भनाउँदा पनि जुम्ल्याहा हात गरेर, गरूड पुराण लट्ठिएर सुन्न पछि पर्दैनौँ । श्री स्वास्थानीका अनुसार, दक्षप्रजापतिले आफ्नो महायज्ञमा ज्वाइँ महादेवलाई (सतीदेवीका पति) नबोलाएको भन्दै, लोग्नेलाई गरेको अपमान सहन नसकी, पतिभक्तको नमूना बनेर सतीदेवीले उक्त यज्ञकुण्डमा हामफालेर आत्माहत्या गरिन् । पतिको नाममा सतीले मृत्युवरण गरेकी हुँदा जोकोही पतिभक्त स्त्री मृत पतिको साथमा जिउँदै जलाइने प्रथा सुरू भएको मान्ने गरिएको छ ।

जो पतिव्रता नारी मृतक पतिसँग आफ्नो शरीर जलाउँदछे, अग्नि उसको शरीर जलाउँदछ आत्मालाई कुनै प्रकारको पीडा हँुदैन । जुन नारी पति मरेपछि उसैसँग चिताको अग्निमा प्रवेश गर्छे, त्यो अरून्धती समान स्वर्गलोकमा पूज्य हुन्छे । जुन पतिव्रता पतिसँगै सती हुन्छे त्यो आफ्ना माता–पिता एवम् आफ्नो पतिको तीन कुललाई पवित्र पार्दछे । पतिलाई शिवस्वरूप जानेर उसैसँग शरीरलाई जलाओस् । (गरूड पुराण नवौँ अध्याय)

मृत्यु संस्कारमा सुनाइने गरूड पुराणले आज पनि मृतककी पत्निलाई मृतक पतिसँगै जलेर मर्न, मनाउने कोसिस गरिरहेको छ । उक्साइरहेको छ । विधवा अवस्थामा रहेका महिलालाई समाजमा हेर्ने दृष्टिकोण राम्रो छैन । सेतो वस्त्र धारण गरेर लोग्नेको सतमा बसेको प्रमाण गाउँ समाजमा पेश गर्नु पर्छ ।

नेपालको इतिहासमा हिन्दू धर्मभित्रका धेरै कुसंस्कार खिलाफमा कदम नचालिएको होइन । प्रचण्डले, माधवकुमार नेपालले, लेखक खगेन्द्र सङ्ग्रौलाले, हिन्दू संस्कार अनुसार किरिया बसेनन् । वीपी कोइरालाले आफ्नो किरिया नगर्नु भनेका थिए । तर, पनि हाम्रो समाजमा रहेका पुरातनवादीहरू यस्ता पुराना कुसंस्कारलाई जगेर्ना गर्नुलाई गौरव ठान्छन् । नेपाली समाजको अधिकांश पढे–लेखका, कम्युनिष्टहरू पछाडि फर्कनुलाई वैज्ञानिक हो भनी प्रमाणित गर्ने होडमा छन् । विकसित राष्ट्रका बच्चाहरू चन्द्रमामा बत्ती बाल्ने बारेमा सोचिरहेको बेला नेपालका बच्चा भोटो जात्रा हेरिहरेका छन् । हाम्रो बुद्धि कतै पछडि त फर्कंदै छैन ? पुरानो दरबार बन्न नसके जस्तो कतै नवनिर्माणको बाधक हामी आफैँ त होइनौँ ? एक पटक राम्रोसँग सोचेर कदम अगाडि बढाउने बेला ढिला भएको छ, अब ढिला नगरौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: