संस्कृति जोगाउन सङ्गिनी

  प्रकाशित मिति
१७ माघ २०७३, सोमबार १५:५९


16386915_1790437101208078_5316487144971891679_n

सङ्गिनी गाउने र नाँच्ने परम्परा पूर्वी पाहाडमा अन्यत्रभन्दा बढी प्रभावशाली रुपमा मध्ययुगीन समयमा विवाहोत्सव, पूराण, तीज आदि शुभकार्यमा प्रस्तुति गर्दै आइएको पाइए तापनि आइतबार झापाको गौरादहमा शहिद दिवसको अवसर पारेर सङ्गिनी गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भयो । कार्यक्रममा ११ वटा समुहले भाग लिएका थिए ।

सङ्गिनीमा व्यक्तिगत पीडा दुःखका कथाहरु प्रस्तुत गर्ने चलन चलिआएको पाइन्छ । हाम्रा गाउँघरमा महिलाहरु सार्वजनिक लोक नृत्य गायनमा जान बर्जित रहेको कुनै बेला उनीहरुभित्र रहेको साङ्गीतिक कला सृजनालाई सौम्य र उत्ताउलोपनारहित प्रस्तुति गर्न सङ्गिनीको उपयोग गरिएको यथार्थ छ । यसै यथार्थमा रहेर प्रगतिशील महिला समूह गौरादहकी वर्ष ६७ की चेतमाया सुवेदीले मञ्च उक्लिएर हात कमाउँदै माक्रोफोनमा
सधैँमा भएको हातमा छाता
खोइ आज देख्दिन
जेठा र दाजुको जेठो चैँ छोरो
पच्छ्याउँदै आयो त्यसैलाई दिहालेँ
शिरको टोपी खै आज देख्दिन
साखेँजुङ्ग पारी त्यो काँडा घारी
त्यसैले तानी लगो बा आमा कस्ता छन्
भनेर सङ्गिनी गाइरहँदा ७१ वर्षे तिलमाया फूयलका आँखा रसाएर आए । कार्यक्रम स्थल सुनसान भएको थियो । कार्यक्रममा तिलमाया भन्दै थिइन् सानो छँदा भाइलाई आमाले आफ्ना बुवा आमाको खबर सोध्दै सुनाएको गीतको याद आयो ।

यति मात्र होइन अझ विहानी महिला समुहकी उमा सुवेदी र साथीहरुको कलामा गला मिलाउँदै
साँझैका बेला बलेका ती जोरै बत्ति
जोरेर बत्ती है झलल
जेठा र दाजु नी डोलीमा चढ्दा
श्री माउर फरर
जेठिनी भाउजु नुहाउन जाँदा
हातैमा झारी काँदैमा सारी
दुधकोशी हरर
भनेर सङ्गिनी गाउँदा यसोदा राय भने उमेरले चाउरी परेको निधारमा हात राख्दै घाम छेल्ने निउँ पारेर नतमस्तक भइन् ।

त्यसो त चेतमाया, तिलमाया र यसोदा मात्र होइन सुरज शिक्षा प्रतिष्ठानको प्राङ्गडमा भेला भएका गौरादह नगरपालिकाभित्रका धेरै महिलाहरुले उहिलेको याद आएको बताए । दैलेखका राजा हरिमल्लको मृत्युमा उनकी रानी सती गएको व्यहोरा नै सङ्गिनी गायनको आरम्भ मान्न सकिने गौरादह बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख खगेन्द्र न्यौपाने बताउँछन् । सङ्गिनीको भाकामा मङ्गलाचरण, स्थानीय देवी देउताको स्तुति आदिबाट सङ्गिनीको भाका आरम्भ गरिन्छ । न्यौपानेका अनुसार सङ्गिनीमा व्यक्तिगत पीडाका कथाहरु पनि प्रस्तुति गर्ने चलन चलिआएको पाइन्छ ।
चौवन्दी चोली नि छिटको सारी
पहेँलो पटुकी नि छपकै पारी
खेलौँ है सङ्गिनी
पुरानो संस्कृति बिर्सँदै गाछौँ
डिस्को र डान्समा रमाउने भाछौँ
सोचौँ है एक फेर
पश्चिमा संस्कृति भाषा र भेषमा
विकृति आयो यो हाम्रो देशमा
जोगाउँ है संस्कृति
भन्दै छलमाया बजगाईंको नेतृत्वमा रहेको पञ्चकन्या महिला समूहले समसामयिक विषयलाई लिएर सङ्गिनी प्रस्तुत गरेको थियो । कार्यक्रम त्रैलोक्य स्मृति पुरस्कार तथा सम्मान कार्यक्रम अन्तरगत लोप हुँदै गरेको संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले सङ्गिनी गीत तथा नृत्य प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठानका निर्देशक भोजराज दाहालले बताए ।

सहीद दिवसको अवसर पारेर आइतबार सुरज शिक्षा प्रतिष्ठानले अन्तर समूह सङ्गिनी गीत तथा नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । कार्यक्रम एकल महिला समूहकी गौरादह नगरकी अध्यक्ष भीमामाया उप्रेतीको सभापतित्व र गौरादह नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्रप्रसाद वस्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा प्रथम, द्वितीय र तृतीय क्रमशः पञ्चकन्या महिला समूह, राधाकृष्ण महिला समूह र पारिजात महिला समूह भएका थिए ।

कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय सचिव नगेन्द्र भण्डारी, नेपाली काङ्ग्रेसका नगर अध्यक्ष यादवराज सेडाईं, गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेशबहादुर पौडेल, माहारानीझोडा महिला सहकारी संस्थाकी अध्यक्ष मिना ढकाल, चामुन्डा दाहाल, इन्दिरा पोख्रेल लगायतले बोलेका थिए । प्रतिष्ठानकी सहायक प्रिन्सिपल निमा डोमा शेर्पाको स्वागत र प्रिन्सिपल अनिता न्यौपानेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: